ढुवानी व्यवसायीलाई निगमको चेतावनी : पेट्रोलियम पदार्थ ढुवानी नरोक, नत्र कारबाही हुन्छ – Nepal Press

ढुवानी व्यवसायीलाई निगमको चेतावनी : पेट्रोलियम पदार्थ ढुवानी नरोक, नत्र कारबाही हुन्छ

काठमाडौं । नेपाल आयाल निगमले नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघलाई पेट्रोलियम पदार्थ ढुवानीमा कुनै अवरोध नगर्न निर्देशन दिएको छ । निरन्तर पेट्रोलियम पदार्थ ढुवानी बन्द गरे निगमले कानुन अनुसार व्यवसायीलाई कारबाही गर्ने बताएको हो । तर लामो समयदेखि हवाई इन्धन ढुवानी व्यवसायीले बन्द गरेको कारण विमानले काठमाडौंभन्दा बाहिरहेको विमानस्थानमा इन्धन भर्न पाएका छैनन् ।

नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघ भदौ २९ गतेदेखि अमलेखगञ्ज डिपोबाट अन्य डिपोमा नलाने तथा असोज १ गतेबाट राज्यभरका सबै डिपोमा लोड तथा अनलोड नगर्ने भनेर विज्ञप्ति निकालेको केही बेरमा नै निगमले कारबाही गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ ।

ढुवानी व्यवसायीले २० प्रतिशत ढुवानी भाडा वृद्धि गर्ने पर्ने इन्धन ढुवानी बन्द गरेका हन् । पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई पूर्णरुपले ठप्प पार्ने गरी सार्वजनिक गरिएको अवरोधका कार्यक्रमहरू प्रति निगमको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

‘बन्द हड्तालका सम्बन्धमा मुलुकको विद्यमान कानूनी व्यवस्था समेतलाई ख्याल गर्दै त्यहाँबाट सार्वजनिक भई जारी रहेका आन्दोलन एवं अवरोधका सम्पूर्ण कार्यक्रमहरू आजैका मितिबाट फिर्ता लिनु भई पेट्रोलियम पदार्थ जस्तो अत्यावश्यक वस्तुको आयात, ढुवानी एवं बिक्री वितरण कार्यमा सदाझै सहयोग गर्नुहुन निगम हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

निगमका एक कर्मचारीले ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई पूर्ण रुपले ठप्प पार्ने भन्दै सूचना निकाल्नु भएछ । अब निगम पनि त्यसै नबस्ने बताए ।

उनले भने, ‘निगमको सञ्चालक समितिले ढुवानी भाडा वृद्धि गर्ने विषयमा छलफल गरिरहेको छ । निगम घाटामा गएको बेला अझै घाटामा लाने गरी भाडा वृद्धि गर्ने विषय उठिरहेको छ । यो विषयमा निन्तर छलफल भहिरहेको छ । तर छलफलमा नै रहेको विषयलाई पूर्ण रुपमा बन्द गराउने व्यवसायीहरुले बताएका छन् । आन्दोलन फिर्ता भएन भने निगमले पनि कानुनी कारवाही अगाडी बढाउने छ ।’

के कारवाही हुन्छ व्यवसायीलाई ?

गृहमन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै अत्यावश्यक सेवाको सूचीसहित हड्ताल गर्न निषेध गरेको छ ।

आवश्यक सेवा सञ्चालन ऐनअनुसार निषेध गरिएका सेवामा कुनै व्यक्तिले हड्ताल गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा उसलाई ६ महिनासम्म कैद वा २०० सय रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

ऐनकै दफा ५ मा निषेध गरिएको कुनै क्षेत्रमा हड्ताल गर्न वा त्यसमा भाग लिन भाग लिइ राख्न कुनै व्यक्तिले अरुलाई दुरुत्साहन गरेमा उसलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ । दफा ६ मा निषेध गरिएको कुनै हड्तालको निमित्त कुनै व्यक्तिले जानीजानी कुनै नगदी सहायता दिएमा उसलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

गृहमन्त्रालयको हड्ताल गर्न नपाइनेमध्येको एक सूचीमा पेट्रोलियम पदार्थ (एलपी ग्याँससमेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा रोक्न नपाइने छ ।


प्रतिक्रिया

One thought on “ढुवानी व्यवसायीलाई निगमको चेतावनी : पेट्रोलियम पदार्थ ढुवानी नरोक, नत्र कारबाही हुन्छ

  1. सबै ढुवानी व्यवसायीका पम्प छन् । अलि अलि ल्याउँछन र कालोबजारी गरेर बेच्छन । उनीहरूले पाउने नाफा झन बढछ । जनता मारमा । अनि यो काम गठबन्धन कै निर्देशन अनुसार गर्दैछन ढुवानीकर्ता, चुनाव खर्चको लागि । गठबन्धन होईन ठगबन्धन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर