संस्कृतविद्हरु भन्छन्: तीज गीतलाई रत्यौलीले आक्रमण गर्‍यो, विकृति रोकाैं – Nepal Press

संस्कृतविद्हरु भन्छन्: तीज गीतलाई रत्यौलीले आक्रमण गर्‍यो, विकृति रोकाैं

रुपन्देही । तीजको सांस्कृतिक महत्व घटाउन यसमा आएका विकृति हटाउनुपर्ने विषयमा संस्कृतविद्हरुले सचेत गराएका छन् ।

भाद्र शुक्ल तृतीयाका दिन तीज पर्व मनाइने र त्यसको अघिल्लो रात दर खाने संस्कृति सनातनदेखि नै चल्दै आएको हो । तर यो परम्परामा केही वर्षदेखि विकृति भित्रिएको छ । संस्कृतिविद् राजेन्द्रकुमार आचार्यले तीजमा भित्रिएको विकृतिलाई रोक्न नसके यसको महत्व नै घट्ने बताए ।

आमा, दिदी, बहिनी घरपरिवारमा बसेर तीजको एक दिनअघि खाने खानालाई दर भनिने भए पनि अहिले त्यसलाई तडकभडकका रूपमा मनाउने विकृतिले फजुल खर्च बढाएको उनको भनाइ छ ।

‘हाम्रो संस्कृतिभन्दा फरक तरिकाले तीज मनाउन थालियो । यसले एकातिर नहुनेलाई तनाव अर्कोतिर नकारात्मक सोच बढाएर सामाजिक संरचनामै दरार ल्याएको छ’, उनले भने ।

तीज भोजले होटल र पार्टी प्यालेस व्यवसायीलाई फाइदा भए पनि संस्कृतिलाई भने विकृत बनाएको छ । होटल र पार्टी प्यालेसमा साथीभाइसँग दर खाने परम्परा नै गलत रहेको संस्कृतिविद् आचार्यको भनाइ छ । टाढाटाढाबाट माइत आएका चेलीबेटीले घरपरिवारमा बसेर खाने मौलिक परम्परालाई अहिले विकृत बनाइएको छ । तीजमा प्रस्तुत हुने अधिकांश गीतले यसको मौलिकतालाई छोएकै छैन ।

तीजको दुई महिनाअघिदेखि दर खान थाल्दा विपन्न वर्गमाथि कस्तो असर पर्ला ? समाजमा दर एक महिना अघिदेखि नै खानुपर्ने रहेछ भन्ने सन्देश गएको छ । सहरमा तीजको एक महिनाअघि देखि धेरै पार्टी प्यालेस दर खानकै लागि रिजर्भ हुने गरेका छन् । यसरी रिजर्भ भएका पार्टी प्यालेसमा दरका नाममा मांस, मदिराको सेवन हुन्छ । व्रत बस्ने अघिल्लो दिन खाने विशेष परिकारलाई दर भन्ने शब्दकोशको अर्थअनुसार अहिले अधिकांशको व्यवहारमा चलेको दर खाने प्रक्रिया मिल्दैन ।

व्रतको अघिल्लो दिन घाम अस्ताएपछि व्रतालुले शुद्ध खानेकुरामात्र खानुपर्ने शास्त्रीय नियम रहेको बताउँछन् संस्कृतविद् झपेन्द्र जीसी । यस्तो प्रवृत्तिका कारण अहिले तीज, व्रत जस्ता शब्द देखाउने कुरामात्र हुन थालेको र मर्मविनाका पर्व मनाउन थालिएकाले हुनेखानेले रवाफ देखाउने माध्यमका रुपमा चाडपर्व बन्न थालेका छन् ।

तीजको सांस्कृतिक पक्षमा अनुसन्धानसमेत गर्दै आएका जीसीले परिवेश र परिस्थितिको परिवर्तनसँगै संस्कृतिमा धेरथोर परिवर्तन आउनु स्वाभाविकै भए पनि पछिल्लो समय तीज संस्कृतिको मर्ममाथि बज्र प्रहार भइरहेको बताए ।

उनी भन्छन्, ‘पुराना लय भाका जान्नेसँग सिक्नुपर्छ, तीजका गीत जनभाषामा हुनुपर्छ । शब्द लयालो मयालो हुनुपर्छ, तीजको लयभाका नजान्ने झिल्केझिल्किनीहरूले तीज साहित्यमा हात हाल्नुहुँदैन ।’

उनका अनुसार तीज गीत भनेको झाम्रे गीत होइन । तीज नाच भनेको झाम्रे नाच होइन । तीज गीत जुराउन सकिन्छ, नयाँ परिवेश र नयाँ विषय वस्तुमा सन्देशमूलक गीत जुराउनु पर्छ । ‘तर, अहिले गाइने अधिकांश गीत तीज गीत होइनन् । तीज गीतमा रत्यौलीले आक्रमण गरेको छ’, उनले भने, ‘तीजको दर घरमै खाने संस्कृतिलाई तोड्न हुँदैन । स्थानीय सरकारले संस्कृति संरक्षणको योजना बनाएर अघि बढ्नुपर्छ ।’

अध्यापक एवं पत्रकार इन्दिरा अर्यालले तीज चेलीका सम्बन्ध र हार्दिकता नवीकरण गराउने सांस्कृतिक र सुखदुःखको पर्व भएकाले यसलाई संरक्षण गर्न जरुरी रहेको बताउँछिन् । ‘सुन्ने र सुनाउने परिपाटीलाई जोगाऔं । अहिले तीजका गीत सुन्न र नाच्न मन नलाग्ने आउन थाले’, उनले भनिन्, ‘खाना संस्कृतिसमेत गलत भयो, यसलाई सच्याऔं ।’

उनले परिवारको चाहना पूरा गर्न गलत प्रक्रियाबाट स्रोत जुटाउने बाध्यता संस्कृतिका नाममा मौलाएको बताइन् । ‘अहिले सरकारी कार्यालयमा समेत तीजको दरका नाममा विकृति भित्रिन थालेको छ । तीजकै नाममा लाखौं खर्च हुन थालेको छ’, अर्यालले थपिन्, ‘विद्यालयमा समेत अभिभावकसँग पैसा लिएर शिक्षक, कर्मचारी र केही विद्यालयमा अभिभावकलाई पनि दर खुवाउने कार्यक्रम हुन थालेको छ । यो गलत भइरहेको छ । रोक्नुपर्छ ।’

पछिल्लो समय तीज भड्किलोमात्रै होइन यसका मौलिक संस्कृतिसमेत हराउन थालेको विश्लेषक दलबहादुर गुरुङ बताउँछन् । महिलाको स्वतन्त्रताको पर्वमा पछिल्लो समय विकृति बढेका उनको भनाइ छ । खासगरी नारीहरूले घरपरिवार, समाजबाट भोग्नुपरेका पीडा र व्यथालाई अन्य कुनै पनि समयमा बोल्दा थप यातना भोग्नुपर्ने हुन्छ । यस्ता पीडा र व्यथा तीजका भाकामा साथी र इष्टमित्रबीच गाउँदा कसैले केही नभन्ने स्वतन्त्रता भएकाले यो पर्व महिलाहरूको महान पर्व हो ।

‘तर, यसलाई नयाँ पिढीले भड्किलो बनाउन खोज्दा संस्कृति हराउने चिन्ता बढेको छ’, गुरुङले भने, ‘हरितालिका तीज पर्व महिलालाई सशक्त बनाउन, परम्परा र संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने, घरायसी र सामाजिक हिंसालाई बाहिर निकाल्ने अवसर हो । तर, हिजोआज विकृति बढेका छन् ।’


प्रतिक्रिया

One thought on “संस्कृतविद्हरु भन्छन्: तीज गीतलाई रत्यौलीले आक्रमण गर्‍यो, विकृति रोकाैं

  1. महत्त्वपूर्ण सामग्री, धेरै कुराहरू उल्लिखित छन् । केही सांस्कृतिक व्यक्तित्वका विचार सारलाई पनि समेटिएको छ । केही मौलिक गीतहरू नमुनाको रूपमा प्रस्तुत गरे झनै आकर्षक बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर