तीजकाे विद्रुपीकरण ! – Nepal Press
ब्लग

तीजकाे विद्रुपीकरण !

नारी मुक्तिको गीत गाउने दिन भने पनि, स्वतन्त्रताको चाड भने पनि, विलौना गाउने इतिहासको दिन भने पनि नेपाली हिन्दू महिलाहरुको तीज पर्व घरदैलोमा आइपुगेको छ । यो पर्व कहिले सुरू भयो भन्ने यथार्थ नभेटिए पनि पौराणिक कथाअनुसार पार्वतीले शिवलाई पतिको रूपमा पाउन अन्न-जल नखाई उपवास बसेपछि उनले शिवलाई प्राप्त गरिन् । त्यही पौराणिक कथा अनुसरण गर्दै हिन्दू महिलाहरुले आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै निराहर व्रत बस्ने चलन चलिआएको पाइन्छ ।

माइतीबाट छोरी-चेलीलाई लिन जाने, माइतीघरमा आफ्नो गच्छेअनुसारको मीठो-मसिनो खाने-खुवाउने, एक दिन भए पनि आराम गर्ने गरिन्छ । यो पर्वमा कतै व्रत बस्ने अघिल्लो दिन माइतीघर पुगेर उज्यालो हुनु अघिसम्म दरको रुपमा खीर, ढकने, चाम्रे इत्यादि खाने प्रचलन रहेको पाइन्छ । हरितालिका तीज पर्व तृतीयाको दिन व्रत बस्नुभन्दा अगाडि गरिने भेटघाट र मीठो-मसिनो खानपिन हिजोआज साउने सङ्क्रान्तिकै दिन सुरू हुन थालेको छ । हिजोआज झन्डै दुइ महिनासम्म मनाइने तीजमा सामाजिक सञ्जालका भित्ताहरु रङ्गिन थालेका छन् । गर्वका साथ धक फुकाएर मेरो चौधौं तीज भनेर तडकभडकसहित फोटोहरु प्रदर्शन गरेको पाइन्छ । यस्ता तडकभडक र उपभोक्तावादी संस्कृतिले तीजलाइ फेशन शोमा परिणत गर्दै लगेको छ । कहिले तीज आउँछ र साडी-गहना देखाऊँ जस्तो भएको छ । कसको साडी कति महङ्गो ? कसको गहना कति भनेर देखाउने प्रतिस्पर्धा भएको छ ।

हिन्दू धर्मग्रन्थमा पतिलाई परमेश्वरका रुपमा मान्नुपर्ने उल्लेख छ । अझ महिलालाई मानवको रुपमा नस्वीकार्ने मनु स्मृतिले महिलाले पतिभक्ति र जयजयकार गर्नुपर्ने, पतिलाई जवाफ फर्काउन नहुने, सधैं पतिको नियन्त्रणमा रहनुपर्ने, पतिको मृत्युपछि राम्रो हुन नहुने, मिठो पौष्टिक खाना खान नहुने उल्लेख गरेको पाइन्छ । तिनै धर्मग्रन्थलाई पक्षपोषण गर्दै आएको हाम्रो संस्कृति–रीतिरिवाज पितृसत्तात्मक सामन्ती चिन्तनले जकडिएको छ । समाज परिवर्तनको क्रममा मातृसत्तात्मक परिवारबाट पितृसत्तात्मक परिवारमा पुग्दा पुरुषले महिलामाथि शासनको सुरूआतमा महिलालाई बन्दीको रुपमा हातखुट्टा बाँध्न प्रयोग गरिएका नेलकडी र सिक्रीहरु अहिले गहनाका रुपमा प्रयोग भइरहेका छन् ।

अहिले अविवाहित युवा महिलाले असल पति प्राप्त गर्न शिवजीको पूजा–आराधना गरेर व्रत बस्छन् भने विवाहित महिलाहरुले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्छन् । तर, कुनै पुरुषले पत्नीको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर व्रत बस्ने गरेको आजसम्म कहिल्यै पनि सुनिएको छैन । बरु एउटी पत्नी घरमा हुँदाहुँदै श्रीमतीहरु बटुल्दै हिँड्ने, धेरैवटी श्रीमती राख्ने व्यभिचारी पुरुषहरु भेटिन्छन् । पत्नीले व्रत बस्दा आयु लम्बिने भए धेरैवटी पत्नीका पतिको आयु कति लामो हुँदो हो ?

त्यसो त सबै पुरुष व्यभिचारी हुन्छन् भन्ने पनि होइन । हाम्रो समाजमा अधिकांश महिला हिंसाको कुरा उठ्ने गरेको पाइन्छ । महिलाले पुरुषमाथि पनि हिंसा गर्ने गरेको पाइन्छ । हिजोआज चित्त नबुझे पतिको गालामा थप्पड बजार्ने पत्नीहरु पनि पाइन्छन्, तर तिनको चर्चा कहीँ गरिँदैन । यस्तो चर्चा गरिएमा विचरा ती पुरुषहरु जोईटिङ्ग्रेको दर्जामा पर्छन् । हाम्रो समाजको हेराइमा सधैं पोइटिङ्ग्री भएर सहनशिला सुशिला हुँदै पुरुषको हरेक यातनालाई सहँदै घर गरिखाने महिलालाई असल ठानिन्छ । समाज बर्बर युगबाट सामन्ती युगमा रुपान्तरण भइसकेपछि महिलालाई नियन्त्रणमा राख्न नितान्त दासी र बच्चा जन्माउने साधनको रुपमा प्रयोग गर्न खोजिएको छ ।

यस्तै पुरुष चिन्तनलाई सामन्तवादी पितृसत्तात्मक समाजमा वैधता प्रदान गर्ने चाड तीज हो । यो पर्व पुरुषको प्रभुत्वलाई संस्कारिक गर्ने, पतिबाहेक अरुलाई श्रेष्ठ नठान्ने, पतिलाई पूजा गर्ने, अलौकिक देवता होइन प्रत्यक्ष देवता मानिने पुरुष प्रभुत्वको पूजा गर्ने परम्परागत चाड हो यो । हाम्रो समाज अभैm पनि सामन्तवादी पितृसत्तात्मक सोचबाट ओतप्रोत छ । हामीभित्रै पितृसत्तात्मक चिन्तन हावी छ । युगौंदेखि महिलालाई दासीको रुपमा प्रयोग गर्दै आएको पुरुष चिन्तन पुरुषमा मात्र होइन, यो समाजको आधा हिस्सा महिलाभित्र पनि पाइन्छ । यो चिन्तनले सांस्कृतिक रीतिरिवाजमा मात्र नभई सामाजिक, आर्थिक, राजनैतिक हरेक पाटोमा छाएको पाइन्छ । समाज विकासको रुप आजको स्थितिमा आइपुग्दा हामीकहाँ दुई खाले पुरुष चिन्तन भेटिन्छन् ।

एकले तीजको व्रत बस्दा मेरो स्वास्थ्य राम्रो हुने होइन, तिम्रै स्वास्थ्य चाहिँ बिग्रन्छ । त्यसैले व्रत नबस । तिम्रो व्रतले मेरो आयु लम्बिने होइन, तिम्रो आयु छोट्टिन सक्छ भन्छ । अर्का थरी पुरुष भने के गर्ने ? हाम्रो संस्कृति हो, चलिआएको परम्परा हो । गोडा धोएर पानी खाऊ भनेर गोडा तेस्र्याउँछन् भने उनीहरु व्रतै नबसे पनि रातो साडी चाहिँ लाउनू है भन्छन् । व्रत बसेको दिन श्रीमान ले साँझ खाऊ नभनी खान नहुने, टाढा छ भने श्रीमान्ले फोनबाट खाऊ नभनेकाले भोकै बस्नु परेको गुनासो सुन्न पाइन्छ । हामीकहाँ सबै पुरुषहरु पितृसत्तात्मक सोचले ग्रस्त छन् भन्ने होइन । महिलावादी सोच राख्ने, महिला र पुरुष समान हुन् भन्ने धारणा राख्ने पुरुषहरु पनि पाइन्छन् । महिलाले महिलालाई हिंसा गर्ने, दुव्र्यवहार गर्ने तीतो सत्य छँदैछ । सासू–बुहारी, नन्द–भाउजूबीच न्यानोभन्दा चिसो सम्बन्ध, एउटी महिला अर्की महिलालाई विस्थापित गरेर सौता बन्ने, महिलाले नै महिलाको चियोचर्चा महिलाले नै गरेको पाइन्छ । त्यसैले यस्ता प्रवृत्तिलाई हटाउन सामन्तवादी पितृसत्तात्मक चिन्तनलाई हटाउन सामन्तवादको जरो कहाँ छ, खोजी गरिनुपर्छ र उखेल्नुपर्छ ।

हिजोआज परम्परागत रुपमा हिन्दू महिलाहरुले महान् चाडको रुपमा मनाउने गरेको तीज तडकभडकसहित महिना दिनअघि नै मनाउन थालिएको छ । कोरोना महामारीको आतंकले तीज भोज होटलका हलहरूमा केही कम भए पनि तीजको रौनक उत्साहमा कमी भएको छैन ।

तीजमा खाइने खीर, चाम्रेहरु परिवर्तन भएर अरु खाद्यपदार्थ पनि भेटिन थालेका छन् । धैरै गहना, रातो साडी र तडकभडक जहाँ छ, त्यहाँ मिडियाको पनि बाक्लो उपस्थिति पाइन्छ । प्रचारप्रसार त्यहाँ पाइन्छ । सासू, नन्द-आमाजूले दिएका दुःख र पीडा साटासाट गर्ने, गुनासा पोख्ने महान चाड मानिएको तीज आज कसको साडी कति महँगो, कसको गहना कति भनेर प्रदर्शन गर्ने पर्वको रुपमा स्थापित हुँदै गएको छ ।

यसरी हैसियत प्रदर्शनले सम्पन्न परिवारमा त रमाइलै होला । तर, विपन्न परिवारमा झैझगडा र आत्म हीनताबोध गराउन सक्छ । अझ यो सालको तीज गीत नृत्यमा कुकुर जस्तो नृत्य गरेर पशुको रुप देखाउने छाडा प्रवृत्ति पो भित्रियो । कसैले त्यस्तो कुकुरे नाच नाच्यो भनेर आलोचना हुँदाहुँदै अहिले धेरैजसो त्यस्तै नाच नाची भिडियो प्रचारप्रसार गर्न लालायित छन् । कमसेकम संस्कृति त बचाऔं । संस्कृतिमाथि नै यस्तो नांगो छाडा प्रहार त नगरौं न दिदीबहिनीहरु । अबको तीजलाई समाज रुपान्तरण गर्ने, मुलुक समृद्ध बनाउने योजनामा केन्द्रित गराउनु पर्छ ।

यो सालको तीज गीत नृत्यमा कुकुर जस्तो नृत्य गरेर पशुको रुप देखाउने छाडा प्रवृत्ति पो भित्रियो । कसैले त्यस्तो कुकुरे नाच नाच्यो भनेर आलोचना हुँदाहुँदै अहिले धेरैजसो त्यस्तै नाच नाची भिडियो प्रचारप्रसार गर्न लालायित छन् ।

तीजको अवसर पारेर एकैदिनमा ४-५ ठाउँमा आधुनिक परिकार खान छड्के तीलहरी र गहनाले झ्याप्प भएर जाने प्रवृत्ति हटाउनु अहिलेको आवश्यकता हो । विकृतिउन्मुख तडकभडकपूर्ण तीजको अन्त्य गर्दै सकारात्मक सोचको विकास गर्नुपर्छ । हुँदा खाने र हुने खानेबीचको खाडललाई पुर्नुपर्छ । परिवर्तन हुँदै आएको तीज पर्वलाई विश्वास, भरोसा र प्रेमको पर्व बनाउनु पर्छ ।

सधैं पुरुषले महिलामाथि हिंसा गरेको समाचार सुनिने हाम्रो समाजलाई पितृसत्तात्मक जञ्जालबाट मुक्त गराउनु पर्छ भनिरहँदा हिजोआज महिलाले पुरुषमाथि गर्दै आएका हिंसा पनि बाहिर आउन थालेका छन् । पितृसत्तात्मक समाजको सोचको अन्त्य गर्नुपर्छ भन्नुको तात्पर्य पुरुषमाथि हिंसा गरेर दुःख दिनु, नियन्त्रणमा राख्नु होइन । समतामूलक समाजको निर्माण गर्न लाग्नुपर्छ । एकले अर्कालाई हेप्ने र दमन गर्ने समाज होइन, खुला आकाश र खुला धर्तीमा रम्ने समाज निर्माण गर्नुपर्छ । अनि मात्र जीवन सार्थक हुन्छ । आफ्नो स्वास्थ्यको ख्याल गर्दै व्रत बसौं । प्रेम र आत्मीयता साटौं । तीजको सकारात्मक खुशी प्रेमिल शुभकामना बाँडौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *