एमसीसी परियोजनाको पूर्वतयारीमा साढे ६ अर्ब सकियो, काम थाल्न अझै १ वर्ष लाग्ने – Nepal Press

एमसीसी परियोजनाको पूर्वतयारीमा साढे ६ अर्ब सकियो, काम थाल्न अझै १ वर्ष लाग्ने

काठमाडौं । एमसीसीअन्तर्गतमा परियोजना निर्माणका लागि आउँदो पुसमा टेण्डर आव्हान गरिने भएको छ । टेण्डर आव्हान भएको १८० दिनसम्म बिड गर्ने समय दिइने मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले जनाएको छ । स्वदेशी तथा विदेशी जुनसुकै ठेकेदार कम्पनीले भाग लिन पाउने आयोजना सबै प्रक्रिया पूरा गरेर २०२३ अगष्टबाट कार्यान्वयनमा जानेछ ।

गत फागुनमा सदनबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन भइसकेको छ । एमसीसी अन्तर्गतका परियोजना ५ वर्षभित्र सकिसक्नुपर्ने गरी सम्झौता भएपनि अनुमोदन भएदेखि पाँच वर्ष वा कार्यान्वयनमा गएको समयदेखि पाँच वर्ष भन्ने अन्योल थियो । एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्कबहादुर विष्टले कार्यान्वयनमा गएको समयदेखि गणना सुरू हुने बताए ।

एमसीसीअन्तर्गतका परियोजना पूर्वतयारी र कार्यान्वयन गरी दुई चरणमा बाँडिएको छ । हाल पूर्वतयारीअन्तर्गत पुनर्वास कार्ययोजना, प्रसारण लाइन रेखाङकनमा आएको गुनासो सुनुवाइ, जग्गा अधिग्रहण, वन कटानीको अनुमति, निर्माण कार्यलाई ठेक्का दिन आवश्यक कागजातको तयारी भइरहेको छ ।

हालसम्म यसका लागि करिब साढे ६ अर्ब रूपैयाँ खर्च भएको एमसीए नेपालले जनाएको छ । पूर्वतयारीमा पाँच वर्ष विनाअवरोध काम हुन्छ भन्ने सुनिश्चित भएपछि कार्यान्वयनमा गएको मितिलाई आधार मानेर पाँच वर्षको समय सुरू हुनेछ ।

पुर्वतयारीको काम सक्न ८ करोड ५ लाख डलर छुट्याइएको छ । यो रकम बढी भए कार्यान्वयन चरणमा खर्च गर्न सकिने छ । तर, अनुदानमा आएको सबै रकम खर्च नभए एमसीसीले फिर्ता लैजाने छ । पूर्वतयारीका लागि कार्यान्वयन चरणको खर्च भने गर्न नपाइने विष्टले बताए ।

एमसीसीअन्तर्गतको आयोजना बनाउन अमेरीकी सरकारको ५० करोड डलर र नेपाल सरकारको १३ करोड डलर गरी ६३ करोड अमेरीकी डलर अनुदान सम्झौता भएको थियो ।

सरकारी कम्पनीले ठेक्कामा भाग लिन नपाउने

एमसीसी अन्तर्गतका परियोजना निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निजि कम्पनीले प्रतिस्पर्धा गर्न पाउनेछन् । तर, परामर्शको काम भने सरकारी कम्पनीले गर्न पाउनेछन् । इरान भेनेजुएला, नर्थकोरिया जस्ता देशका कम्पनीले पनि बिडमा भाग लिन नपाउने बताइएको छ । कुनै पनि देशको सरकारी कम्पनीले निर्माणमा भाग लिन नपाउने एमसीएले जनाएको छ ।

अहिलेसम्म के-के गरियो ?

एमसीए नेपाल अन्तर्गत विद्युत प्रसारण आयोजनाले करिब ३१५ किलोमिटर लामो ४ सय केभी प्रसारण लाइनका साथै तीनवटा नयाँ विद्युत सवस्टेशन निर्माण गर्ने भनिएको छ । विद्युत प्रसारण आयोजना निर्माणका लागि नेपाल सरकारले वातावरण प्रभाव मूल्यांकन स्वीकृति दिइसकेको छ भने रातमाटे सवस्टेशन निर्माणका लागि नुवाकोटमा जग्गा अधिग्रहणको काम पनि सकिएको छ ।

प्रसारण लाइन निर्माण गर्दा सो मार्गमा पर्ने रुख कटानको लागि अनुमतिको प्रक्रिया अघि बढेको एमसिए नेपालले जनाएको छ । प्रसारण लाइन र सवस्टेशनको डिजाइनको काम समेत सकिएको छ । प्रसरण लाइनको ३१५ किलोमिटरमध्ये करिब ३० किलोमिट र पुन सर्वेक्षण शुरु भएको छ । वातावरणीय र सामाजिक असर न्यून गर्न टावर संख्या १ हजार ३ सय १५ बाट ८ सय ५४ मा झारिएको छ । एउटा टावर करिब १ रोपनी क्षेत्रफलमा बनाइनेछ । एक किलोमिटरमा ३ देखि ४ वटम टावर हुनेछ ।

बुटवलदेखि भारतको सीमासम्म १८ किलोमिटरको ५२ वटा टावर निर्माण हुनेछ । बुटवलदेखि दमौलीसम्म २४८ वटा टावरको निर्माण हुनेछ । जसको लम्बाइ ९० किलोमिटर हुनेछ । यस्तै दमौ देखि रातामाटेसम्म १२ सय ४९ वटा टावर ( ९० किमि), रातमाटेदेखि हेटौँडा १४२ वटा टावर (५८ किमि) र रातमाटेदेखि लप्सीफेदीसम्म १६३ वटा टावर बन्नेछन् । यसको लम्बाइ ५९ किलोमिटरको हुनेछ ।

यता सडक मर्मत आयोजना अन्तर्गत दाङको धानखोलादेखि शिवखोलासम्म करिब ७० किलोमिटर सडक मर्मत गर्ने सहमति भएको छ । सडक मर्मतका लागि आवश्यक उपकरण सहितको प्रयोगशाला सडक विभागमा स्थापना भएको छ । हाल मर्मत कार्यका लागि प्रस्ताव गरिएको पूर्वपश्चिम लोकमार्ग सडक खण्डको कुल लम्बाइ ७० किलोमिटर हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर