नेपाली खेलाडीका नियति: विद्रोहदेखि पलायनसम्म – Nepal Press

नेपाली खेलाडीका नियति: विद्रोहदेखि पलायनसम्म

काठमाडौं । नेपाल ब्याडमिन्टन संघले करिब ६ वर्षअघि अमेरिकामा आयोजित प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदा गर्नुअघि खेलिसकेर स्वदेश फर्किने कसम खुवाएको थियो । त्यसअघि प्रतियोगितामा सहभागी भएका खेलाडीहरु नफर्किएपछि व्यहोरेको आलोचनाका कारणले यस्तो बुद्धि लगाइएको हो । त्यसै पनि कतिपय खेल संघलाई ‘म्यानपावर कम्पनी’ जसरी काम गरिरहेको आरोप लाग्ने गरेको छ ।

एउटा खेलाडीलाई देशको प्रतिनिधित्व गर्ने स्तरसम्म तयार गर्न राज्यको राम्रै लगानी हुन्छ । अझ अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडी भेट्टाउनु राज्यको सौभाग्य पनि हो । देशको प्रतिनिधित्व गर्न कोही न कोहीलाई उभ्याउन सकिएला । तर, अन्तर्राष्ट्रिय पदक जित्ने स्तरमा पुर्‍याउन आर्थिक लगानीसँगै वर्षौंको मेहनत लागेको हुन्छ । त्यसरी तयार पारिएका खेलाडी विदेश भासिँदा खेल विकासमा क्रमभंगतामात्र उत्पन्न हुँदैन, देशकै छविमा असर पर्छ ।

ब्याडमिन्टन संघले कसम खुवाएर अमेरिका पठाएका खेलाडीहरु प्रतियोगितापछि नेपाल त फर्किए । तर, दुर्भाग्य लामो समय नेपालमा टिकिरहन सकेनन् । उनीहरु पछि अमेरिकातिरै लागे । एउटा सिंगो पुस्ता लस्कर लागेर विदेशियो । एक दशकभन्दा लामो समय नेपालको सिनियर टोलीबाट खेलेका ती खेलाडीहरुको अभाव पूर्ति गर्न तत्काल अर्को समूह देखिएको छैन ।

‘देशको माया त लाग्छ नि ! नेपालको नम्बर १ पनि भएकै हो । अनि धेरैपटक राष्ट्रिय च्याम्पियन पनि । तर, त्यसले हाम्रो जीवनस्तरमा के परिवर्तन आयो त ? खेलाडीले खेल्न छाडेपछि सडकमै आउनुपर्ने हो भने भविष्य हेर्नुको विकल्प रहेन’, अमेरिका भासिएका एक ब्याडमिन्टन खेलाडी भन्छन् ।

नेपालमा धेरै खेल संघहरु छन् । जसले वर्षमा एकदुई वटा प्रतियोगितामात्र आयोजना गर्छन् । त्यसमा पनि नगद पुरस्कार निकै कम रकमको हुन्छ । आयस्रोत मानिने विभागीय टीमहरुले पनि मासिक १५/२० हजार रुपैयाँभन्दा बढी तलब दिँदैनन् । तर, त्यहाँसम्म पुग्न पनि राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा निकाल्नुपर्ने हुन्छ । अनि राम्रो नतिजा निकाल्ने खेलाडीहरु धेरै हुँदैनन् ।

अर्कोतर्फ दक्षिण एसियामा भारत, पाकिस्तान, श्रीलंकाजस्ता देशहरु छन् । जसले कतिपय खेलमा एसिया र विश्वस्तरमा पदक जित्नसक्ने सामथ्र्य राख्छन् । लन टेनिस, ब्याडमिन्टन, हक्की, जुडो, कुस्ती, बक्सिङ, एथलेटिक्स (कतिपय विधा), सुटिङ, आर्चरी, टेबलटेनिसजस्ता धेरै खेलमा नेपालले कास्य पदक जित्नु पनि ठूलै उपलब्धि मानिन्छ । १/२ घरेलु प्रतियोगिता र कमजोर आयस्रोतबीच खेलिरहेका यी खेलसहितका खेलाडीहरु विदेशिएका समाचारहरु बनिरहन्छन् । उनीहरु किन विदेशिए भन्नेतर्फ सरोकारवाला खेल संघदेखि राष्ट्रिय खेलकुद परिषदसम्म कसैलाई चासो छैन ।

विदेशिनेहरुको लाममा पछिल्लोपटक जोडिएका छन्, टेबलटेनिसका स्यान्टु श्रेष्ठ । सानै उमेरमा सिनियर राष्ट्रिय च्याम्पियन बनेका स्यान्टु केही दिनमा अस्ट्रेलियातर्फ लाग्दैछन् । उनी नेपाल नम्बर १ र राष्ट्रिय च्याम्पियन हुन् । श्रेष्ठसँग नेपालका लागि प्रतिनिधित्व गर्ने समय अझै लामो समय बाँकी थियो ।

स्यान्टु विदेशिने खबरबीच टेबलटेनिसका पूर्वराष्ट्रिय च्याम्पियन पुरुषोत्तम बज्राचार्यले हालसालै सामाजिक सञ्जालमा लेखेको स्टाटसले नेपालका राष्ट्रियस्तरका खेलाडीको अवस्था चित्रण गर्छ ।

बज्राचार्यले लेखेका छन्, ‘फुटबल खेलाडी विदेश गयो रे- टीटी खेलाडी जान लागेको छ । आफ्नै पैसामा राष्ट्रिय टोलीबाट खेल्नुपर्ने रे ! यो कहिलेसम्म ? मैले त मेरो करिअरमा टेबलटेनिसबाटै कमाएको पैसाले वर्ल्ड च्याम्पियनसीप/एसियन च्याम्पियनसीप खेलेको हो । सबै जनासँग पैसा हुन्छ भन्ने छैन । के सधैं अब मेरो खेलाडीले पैसा तिरेर नै खेल्नुपर्ने ? माल्दिभ्स जान जुनियर खेलाडीले ८१ हजार रुपैयाँ प्रतिव्यक्ति ति¥यो । चार जनाको लागि हामीले ३ लाख २४ हजार रुपैयाँ उठाएको हो, सबैको सहयोगमा । अब फेरि मैले कहाँ सहयोग माग्न जाने ? सधैं त सबैले सहयोग गर्न नसक्ने होला नि ! मैले नै पैसा उठाउने हो भने मैले नै एसोसिएसन (टेबलटेनिस संघ) र खेलकुद चलाउनुपर्‍यो । कि त मैले कोचिङ करिअर नै छाड्नुपर्‍यो । केका लागि खेलाडी बनाउने ? खेल रमाइलो र फिटनेसका लागि मात्र खेल्नुपर्‍यो । सम्बन्धित सबैको ध्यान जाओस् ।’

आफ्नै पैसाले देशका लागि खेल्न जानुपर्ने परिस्थितिबारे बज्राचार्यले मुख खोल्ने आँट गरे । उनी ललितपुरको एक स्कुलमा टेबलटेनिस सिकाउने गर्छन् । उनै बज्राचार्यले करिब दुई साताअघि फेसबुकमा ‘नम्बर एक वरियताभन्दा माथिको लक्ष्य के त ?’ भन्दै स्टाटस लेखेका थिए । स्वाभाविक हो, नेपालभित्र कोही न कोही त एक नम्बरको खेलाडी भइहाल्छ । तर, अन्तर्राष्ट्रिय पदक जित्न नेपालको नम्बर एक खेलाडी भनेरमात्र पुग्दैन ।

टेबलटेनिसमा मात्र होइन बुद्धिचालसहित थुप्रै खेलमा खेलाडीहरुले आफ्नै खर्चमा विदेशमा खेल्न र प्रशिक्षण गर्न जानु परिरहेकोबारे यसअघि पनि समाचार आइरहेकै थिए । तर, सरोकारवाला पक्षहरुले कान थुनेर हेरीमात्र रहे । टेबलटेनिसकै अजय सुवाल उच्च लयमै रहेका बेला अस्ट्रेलिया लागेका थिए ।

आम नेपालीले जान बढी रहर गर्ने अमेरिका र अस्ट्रेलियामा पछिल्लो समय नेपाली खेलाडीहरुको उपस्थिति बढिरहेको छ । त्यहाँ नेपालीका विभिन्न समाज, समूह, संस्था र क्लबहरु स्थापना भएका छन् । नेपालीहरुले खेलकुदका एकेडेमी र प्रशिक्षण केन्द्रहरु पनि चलाइरहेका छन् ।

एक दशकअघिसम्म जापान, कोरियामा खेल्न जाँदा नेपाली खेलाडीहरु उतै भागेका समाचारहरु नियमित रुपमा आइरहन्थे । तर, समय फेरिएको छ । नेपाली खेलाडीहरु खेल्नकै लागि अस्ट्रेलिया, अमेरिका, क्यानडालगायतका देशहरु पुगिरहेका छन् । यसले कुनै समय ती देशमा उनीहरु पलायन हुनसक्ने बाटो पनि फराकिलो बनिरहेको छ ।

अहिले पनि धेरै खेलाडी उतै सेटल हुने गरी अमेरिका र अस्ट्रेलिया गइरहेका छन् । अर्कोतर्फ पढाइका लागि भनेर जाने पनि उत्तिकै बढेका छन् । त्यसैले घरेलु खेलकुद प्रतियोगिता, व्यवसायिकता, नियमित अन्तर्राष्ट्रिय सहभागिता र प्रशिक्षण नबढाएको अवस्थामा खेलाडीहरु नेपालमा रोकिने सम्भावना घट्दो छ ।

क्रिकेटदेखि फुटबलसम्म ‘विद्रोह’

एक समय थियो, चर्चा हुन्थ्यो- नेपाली क्रिकेट खेलाडीले मात्र अगाडि बढाइरहेका छन् । खेलको मायाले मात्र उनीहरु टिकिरहेका छन् ।

कमजोर घरेलु क्रिकेट संरचना र भिजनशून्य व्यवस्थापनबीच नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय सफलताको उचाइ नाप्दै गयो । खेलाडीहरु नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीप्रति खुलेर विरोध गर्दै सामूहिक दबाब दिनसम्म तत्पर देखिन्थे । सन् २०१४ मा टी-२० विश्वकप खेलेपछि भने नेपालमा क्रिकेटको व्यवसायीकरण सुरु भयो । थुप्रै व्यवसायिक क्रिकेट प्रतियोगिताहरु भित्रिए ।

खेलाडीहरुले व्यक्तिगत प्रायोजकहरु पाउन थाले । उनीहरूलाई मासिक भत्ताको व्यवस्था हुन थाल्यो । यसले गर्दा क्रिकेट खेलाडीहरुको आयस्रोत ह्वात्तै बढ्यो । विश्व चर्चित विदेशी खेलाडीहरुसमेत नेपालमा आएर व्यावसायिक क्रिकेट खेल्न थालेपछि क्यानले आफ्नो उपस्थिति बलियो बनाउँदै गयो ।

गत पुसमा राष्ट्रिय टोलीका तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित चारजना खेलाडीलाई अनुशासनको कारबाही गरेपछि संघ-खेलाडीबीच द्वन्द्व चर्कियो । खेलाडीको सेवा-सुविधा र मूल्यांकनका विषयमा मल्लसहितका खेलाडीले सञ्चारमाध्यमहरुमा बोलेको भन्दै क्यानले उनीहरुलाई दिएको जिम्मेवारी खोसेको थियो । राष्ट्रिय टोलीका अधिकांश सदस्यहरु क्यानको निर्णयविरुद्ध उत्रिए । तर, क्यान कप्तानबाट मल्ललाई हटाउने निर्णयमा अडिग रह्यो ।

यो विषय सेलाउन नपाउँदै नेपाली फुटबल टोलीको बन्द प्रशिक्षणमा खेलाडी र प्रशिक्षकबीच द्वन्द्व देखियो । होस्टेलको सट्टा होटलमा राखिनुपर्ने रोहित चन्दको आग्रहमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले उनलाई बन्द शिविरबाट जान भनेको र त्यही विषयमा कुरा गर्दा अन्य ९ जना खेलाडीलाई पनि निकालेको असन्तुष्ट खेलाडीहरुको आरोप थियो ।

अल्मुताइरीले निकालेका १० खेलाडी र उनीहरुलाई समर्थन गर्ने नियमित कप्तान किरणकुमार चेम्जोङलाई टोलीमा नराखी एसिया कप छनोटका लागि टोली तयार गरे । खेलाडीहरुले टोलीमा फर्कन पटकपटक प्रयास गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा) अल्मुताइरीको निर्णयबाट टसमस भएन । अन्ततः खेलाडीहरु टीम बाहिर रहे ।

यी खेलाडीमा अधिकांश ती नै थिए, जसले नेपाली फुटबलमा अन्तर्राष्ट्रिय उपाधि खँडेरी टारेका थिए । उनीहरु नेपालले लगातार अन्तर्राष्ट्रिय उपाधि जित्दाका सदस्य थिए । यो यस्तो समयबीचको कारबाही थियो, जतिबेला खेलाडीहरुले नियमित प्रतियोगिताहरु खेल्न पाइरहेका थिएनन् । उनीहरुको आर्थिक स्रोत ठप्पजस्तै थियो ।

नियमित घरेलु प्रतियोगिता आयोजनाका लागि उनीहरुले दबाब दिइरहेका थिए । लकडाउनको समयमा त किरणकुमार चेम्जोङसहितका खेलाडीहरुले आफूहरुले फुटबल खेल्न बिर्सन लागेको भन्दै सामूहिक रुपमा व्यंग्य गरेका थिए । त्यसयता पनि खेलाडीहरुले विभिन्न अवसरमा एउटै स्वरमा स्टाटसहरु लेख्ने गरेको पाइएको थियो, खासगरी प्रतियोगिताहरु हुनुपर्ने माग गर्दै ।

यसपटक अल्मुताइरीले खेलाडीलाई बन्द शिविरबाट निकालेपछि हुलका हुल खेलाडीहरु अस्ट्रेलियातर्फ लागे । उतै सेटल हुने उनीहरुको उद्देश्य थियो । फुटबल खेल्ने वातावरण नभएको उनीहरुको गुनासो छ ।

यी नै विषयका समाचार बाहिर आइरहँदा विदेशमा रहेका नेपाली खेलाडीहरुको पनि आक्रोश सुनियो । अस्ट्रेलियामा बस्दै आएका जगजीत श्रेष्ठले लेखे, ‘हुन त म एन्फा एकेडेमीमा हुँदा पनि ३/४ वर्ष लिग भएन । फेरि राष्ट्रिय टीममा हुँदा पनि ३ वर्ष लिग भएन । यो कुराको भान भएर म विदेशिएँ । लिग भयो, नेपाल फर्कें । अब नेपालमै बसेर खेल्ने निधो गरें । एनएसएलको कुराले सबै खेलाडी उत्साहित थिए । तर, चैतमा हुने भनेको एनएसएल साउन सकिन लाग्दा पनि टुंगो लागेको छैन । अब दशैं-तिहार आउँछ, त्यसपछि सायद लिग होला । तीन महिना लिग हुन्छ ।’

त्यसअघि पनि उनले वर्षमा तीन महिनाको लिग खेलेर ९ महिना बेरोजगार हुँदा पनि खेलाडी, प्रशिक्षक र रेफ्रीले आवाज नउठाएको भन्दै गुनासो पोखेका थिए सामाजिक सञ्जालमा । उनले अबको केही हप्तामा पनि कुनै प्रतियोगिता हुने छाँटकाट भए पनि आफूले आवाज उठाउने बताएका थिए ।

खेलाडीहरु विदेशिइरहेको सन्दर्भमा हालसालैमात्र प्रशिक्षक अल्मुताइरी र खेलाडी रञ्जित धिमालबीच कडा विवाद भएको थियो । अल्मुताइरीले खेलाडी विदेशिनुमा उनीहरुको दोष नरहेको सामाजिक सञ्जालमा लेखेपछि धिमालले ‘तपाईंलाई त्यसो भन्न लाज लाग्दैन ?’ भन्दै प्रतिवाद गरेका थिए । एनएसएल जस्तो व्यवसायिक प्रतियोगिता आयोजना रोक्नमा अल्मुताइरीको हात रहेको उनको आसय थियो ।

खेलाडीहरु पछिल्लो समय जीत-हारका सुखदुःखमा पनि एकजुट हुने गरेको पाइएको छ । हालसालै भारतमा आयोजना भएको साफ यू–२० च्याम्पियनसीपमा नेपालले भारतसँग ८-० गोलको लज्जास्पद हार व्यहोरेपछि सम्भावित टीकाटिप्पणीविरुद्ध सिनियर खेलाडीहरु उत्रिएका थिए । अधिकांश सिनियर खेलाडीहरुले युवा खेलाडीलाई निराश नहुन आग्रह गर्दै आड भरोसा दिए ।

सुजल श्रेष्ठले सामाजिक सञ्जालमा लेखे, ‘अभावबीचको लडाइँ र असुविधासहितको संघर्ष कस्तो हुन्छ, हामी सबैमा अनुभव रहेको छ । विजय सधैं मीठो रहन्छ । तर, पराजयसँगै प्राप्त गर्ने अनुभव अझै अमूल्य रहन्छ । विषम परिस्थिति, अभाव तथा असुविधाका बाबजुद पनि तपाईंहरुले गर्नुभएको मेहनतको निम्ति धन्यवाद छ टीम नेपाल (यू-२०) । यो हार भोलिको जीतको निम्ति शिक्षाको रुपमा लिएर हामी अघि बढ्नुपर्छ, आगामी खेलहरुमा उत्कृष्ट शैली फर्किएर विजय हासिल गरी आफूलाई फेरि गौरवान्वित बनाउनु हुनेछ भन्ने विश्वास छ ।’

यस्तै आशयमा अन्य खेलाडीहरुले पनि स्टाटस लेखेका थिए ।

जिम्मेवार निकायहरु गैरजिम्मेवार

कुनै पनि खेलको विकासका लागि सम्बन्धित खेल संघ जिम्मेवार हुन्छन् । योजना र कार्यक्रमहरु बनाएर, प्रायोजकहरु खोजेर नियमित घरेलु प्रतियोगिता गर्ने, वैदेशिक सहभागिता र प्रशिक्षणमा लैजाने उनीहरुका जिम्मेवारी हुन् ।

तर, नेपालमा खेल संघका पदाधिकारीहरु विदेश भ्रमण र ओलम्पिक कमिटी छिर्नमा मात्र केन्द्रित देखिन्छन् । उनीहरु खुलेआम ‘राष्ट्रिय खेलकुद परिषदले पैसा दिए पो प्रतियोगिताहरु आयोजना गर्नु’ भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिन्छन् । संघमा पदाधिकारी बन्न हानाथाप देखिए पनि त्यहाँ पुगेपछि उनीहरु हराउँछन् ।

केही वर्ष अघिसम्म संघहरु राजनीतिक दलका कार्यकर्ता भर्तीकेन्द्र जस्तै थिए । राखेपमा राजनीतिक नियुक्ति पाएर आउने सदस्यसचिवले आफू निकट र राजनीतिक आस्था भएकालाई प्रवेश गराउन विभिन्न बहाना बनाएर संघलाई विघटन गर्ने गरेको पाइएको थियो । तर, त्यो क्रम पछिल्लो समय केही रोकिएको छ । विदेश भ्रमण, सुविधालगायत कारणले आकर्षक मानिने ओलम्पिक कमिटीमा जान संघको प्रतिनिधि बन्नु आवश्यक हुने भएकाले दाउपेचको खेल चलिरहने गर्छ ।


प्रतिक्रिया

One thought on “नेपाली खेलाडीका नियति: विद्रोहदेखि पलायनसम्म

  1. एकदम सही र सटिक लेख । संघहरुले प्रशिक्षक र खेलाडीहरु लाई बोल्यो कि कारबाहीको धम्की दियर लाचार बनायका छन ।
    लेखको लागि धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर