एमाले बागमतीले ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने – Nepal Press

एमाले बागमतीले ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने भएको छ । सोमबार प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको पदाधिकारी बैठकले प्रदेशभित्रका सबै जिल्लामा नेपालको कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्नेहरूको पहिचान गरी ‘अग्रज सम्मान कार्यक्रम’ आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले भाद्र १० गते काठमाडौँमा एक कार्यक्रम नै आयोजना गरेर बुद्धिजिवीका कुरा सुन्ने निर्णय गरेको प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्तौलाले बताए ।

उनले भने, ‘बुद्धिजीवीहरूको आँखामा नेकपा एमाले विषयमा समाजमा विभिन्न क्षेत्रका बुद्धिजीवीको सहभागितामा उनीहरूको एमालेप्रतिको आलोचना, सुझाव र टिप्पणी संकलन गरिने छ ।’

बैठकले प्रदेश लेखा समिति गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले विधान बमोजिम प्रदेशका विभागहरूलाई पूर्णता दिएको छ । त्यस्तै बैठकले प्रदेश सल्लाहकार परिषद् निर्माणको लागि तीन दिन भित्र प्रदेश अन्तर्गतका सबै जिल्लाहरूलाई सल्लाहकार परिषद्मा समेट्नु पर्ने नेताहरूको नामावली दिन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकले महँगी र भ्रष्टाचारविरुद्ध जिल्ला र पालिका तहसम्म आन्दोलन गर्ने निर्णय पनि गरेको पनि उनले बताए ।

यसै गरी प्रदेश कमिटीमा रिक्त रहेको स्थानमा तथा एकता प्रक्रियाबाट पार्टीमा प्रवेश गरेका १० जनालाई मनोनीत पनि गरिएको छ । मनोनीत हुनेहरूमा श्रीधर पोखरेल, सुमित्रा राजवंशी, अच्युत श्रेष्ठ, खेम भट्ट, गोपाल जी गुप्ता, मनरत्न शाक्य, सीता ढकाल, भुवन केसी, देवेन्द्र खत्री र सुरेश राना रहेका छन् ।

बैठकमा एमालेको बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी र सह इन्चार्जहरू कृष्ण गोपाल श्रेष्ठ, शेरबहादुर तामाङ र आनन्द पोखरेल पनि उपस्थित रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर