डिजे सन्तोषको सम्झना : रिमिक्स गीतले सारंगी र मादलको डिमाण्ड बढाइदिएको थियो – Nepal Press

डिजे सन्तोषको सम्झना : रिमिक्स गीतले सारंगी र मादलको डिमाण्ड बढाइदिएको थियो

डिजे सन्तोषलाई नसुन्ने संगीतप्रेमी कमै होलान् । चलेका हिट नेपाली गीतहरूको रिमेक उनैले गरेका थिए । कुनै समय उनी आफ्नो स्टुडियोबाट गीतहरू एरेन्ज र कम्पोज गर्थे । यही क्रममा उनलाई अचानक एक रिमेक एल्बममा काम गर्ने प्रस्ताव आयो । एड्भान्समै राम्रो पैसा दिएका थिए निर्माताले । उनले राम्रो गीत तयार गर्नुपर्ने थियो ।

प्रस्ताव आएपछि डिजे सन्तोष उत्साहित हुनु स्वाभाविक थियो । सँगै निर्माताले ३ लाख एड्भान्स दिएपछि उत्साह झनै थपियो । उनले डान्स म्युजिक सृजना गर्नुपर्ने थियो । सन्तोष त्यो प्रस्ताव सम्झिँदै भन्छन्, ‘त्यति बेला एल्बम नै निकाल्दा पनि यति पैसा थिएन । यो राम्रो प्रस्ताव थियो ।’

‘एडिक्सन’ नामक यस एल्बममार्फत पैसा कमाउने मात्र नभएर नेपाली साङ्गीतिक आकाशमा नयाँ इतिहास लेख्ने अवसर पनि उनलाई जुर्‍यो । सबै रिमिक्स गीतहरू समावेश गरेर निकालिएको यो पहिलो एल्बम थियो । एल्बमलाई दर्शकहरूले पनि खुबै रुचाइदिए ।

‘रातो र चन्द्र सूर्य’, ‘घरबेटी नानी’, ‘लेकाली हे चोयाको डोको’, ‘बाइरोडको बाटोमा’ लगायत यस एल्बमका सबै गीतहरू चले । एल्बममा त्यस्ता केही गीतहरू पनि थिए, जसलाई नयाँपन दिन निकै मुस्किल थियो । सन्तोष सुनाउँछन्, ‘पुरानो घरलाई नयाँ रेक्टोफिटिङ गरे जस्तै हो गीतलाई रिमिक्स गर्ने काम । कुनै समय त्यो निकै चलेको हुन्छ, तर नयाँ पुस्तालाई थाहा नहुन पनि सक्छ । त्यस्ता गीतलाई नयाँ फ्लेवरमा प्रस्तुत गर्दा फेरि चर्चा पाउँछ ।’ साथै रिमेक गीतमा नयाँ र पुरानो पुस्ता दुवैले अपनत्व महसुस गर्न सक्ने सन्तोषको अनुभव छ ।

त्यति बेला रिमिक्समा पाश्चात्य र नेपाली लोकबाजाको मिश्रण निकै मधुर सुनिने गर्थ्यो । जस कारण पनि सन्तोषका गीतहरू निकै चले । पश्चिमा बाजा र फेशनबाट प्रभावित त्यति बेलाका युवाहरूले हाम्रा लोक बाजाहरूलाई खासै महत्त्व नदिएजस्तो देखिएको समयमा एल्बम सार्वजनिक भएपछि सारंगी, बाँसुरी र मादल बजाउनेको डिमाण्ड नै बढेको मीठो अनुभव छ सन्तोषसँग ।

उनी भन्छन्, ‘किनकि यस गीतले सारंगीलाई ग्ल्यामरस र कलात्मक तरिकाले देखायो । मानिसहरूको ध्यान गितार नभएर सारंगीले खिचेको थियो ।’

त्यसबेला बिहे तथा पार्टीहरूमा नाच्नका लागि नेपाली गीतहरू कमै मात्र थिए । त्यसैले पनि उनले पुराना गीतहरूलाई तत्कालीन पुस्ताको फ्लेवरमा तयार गरेकाले गीतहरू निकै चले । रिमिक्स शैलीमा आएपछि नै कतिपय गीतहरूले त्यति बेला पुनः चर्चा पनि पाएका थिए । तर, ती गीतहरू फेरि हिट हुनुमा आफ्नो भूमिकालाई खास ठूलो मान्दैनन्, सन्तोष । भन्छन्, ‘मैले रिमेक गरेका गीतहरू त्यसअघि नै चलेका थिए । अग्रज स्रष्टाहरूले संकलन गर्नुभएका वा रचना गर्नुभएका लोक भाका थिए । ती गीतहरूको आफ्नै इतिहास छ । सर्जकहरूको आफ्नै इतिहास छ ।’

बरु आफूले ती गीतहरूमार्फत नै आफ्नो परिचय बनाएको उनको दाबी छ । तिनै गीतका कारण दर्शक श्रोतामाझ चिनिन सकेको बताउँछन् । कालजयी गीतहरूलाई रिमेक गर्दा थोरै भए पनि न्याय गर्न सकेकाले नै दर्शकहरूले मन पराइदिएको सन्तोषको भनाइ छ ।

यसपछि सन्तोषले ‘एडिक्सन २’ नामक अर्को एल्बम निकाले । एल्बममा ‘कति बस्छौँ माइतीकै कौसीमा’, ‘नाचिदेऊ मैच्याङ’, ‘मै छोरी सुन्दरी’, ‘चियाबारी’, ‘को हो त्यो’, ‘वनमा फूल्यो फूल’ लगायत चर्चित गीतको रिमेक छ । यस एल्बमका गीतहरू पनि निकै चले ।

‘एडिक्सन २’ पछि संगीत र साउन्ड रेकर्डिङमा थप अध्ययन गर्न थाइल्यान्ड पुगेका डिजे सन्तोष त्यसपछि लामो समय हङकङ बसे । थाइल्यान्ड गएको बेला त्यहाँ भेटिएका साथीहरूले नै बोलाएपछि सन्तोष हङकङ गएका थिए । त्यहाँ उनले लामो समय संगीत सम्बन्धी काम गरे ।

सन्तोष भन्छन्, ‘पछिल्लो समय मैले त्यहाँको चर्चित कम्पनीले साउथ एशियन म्युजिक हेर्ने जिम्मा मलाई दिएको थियो । अहिले पनि संगीत वरिपरि नै काम गरिरहेको छु ।’

लामो समयपछि सन्तोष फेरि नयाँ गीत लिएर आउँदै छन् । उनका अनुसार एक–दुई दिनभित्रै नयाँ गीत सार्वजनिक हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर