लुम्बिनीमा आगामी निर्वाचनको जोडघटाउ, सत्ता गठबन्धन र एमालेको के छ दाउ ? – Nepal Press

लुम्बिनीमा आगामी निर्वाचनको जोडघटाउ, सत्ता गठबन्धन र एमालेको के छ दाउ ?

रुपन्देही । दलहरुले प्रतिनिधिसभामा २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा आगामी निर्वाचनको जोडघटाउ गर्न सुरु गरेका छन् ।

लुम्बिनीमा नेकपा एमालेले अघिल्लो निर्वाचनमा जितेका क्षेत्रमा भागबन्डा लगाउने रणनीतिमा गठबन्धन दलहरु लागेका छन् । तर, उनीहरुबीच अहिलेसम्म कुन क्षेत्र कसले लिने भन्ने ठोस सहमति बनेको छैन ।

सत्तारुढ दलहरुले आगामी निर्वाचनमा पनि गठबन्धन गर्ने भएका छन् । तर, यसबीच माओवादी, नेकपा एस, जसपाबाट अलग हुन खोजेका बाबुराम भट्टराई मिलेर बनाउने समाजवादी केन्द्र बनाउने कसरत भएपछि सत्तारुढ गठबन्धनले सहमति टुंग्याउन सकेको छैन ।

२०७४ सालको चुनावमा लुम्बिनीका २६ मध्ये १३ क्षेत्र एमालेले जितेको थियो । जसमध्ये ३ जना सांसद नेकपा एसमा लागेका छन् । पाल्पाका सोमप्रसाद पाण्डे, दाङका मेटमणि चौधरी र हीराचन्द्र केसी एमाले छाडेर समाजवादीतर्फ लागेका हुन् ।

७ वटा क्षेत्र माओवादीले जित्दा ५ वटा क्षेत्रमा कांग्रेस खुम्चिएको थियो । संघीय समाजवादी पार्टीले १ सीट जितेको थियो ।

२०७४ सालमा एमाले र माओवादीले मिलेर चुनाव लडेका थिए । एमाले र माओवादीले पार्टी एकता गर्दै नेकपा (नेकपा) बनाएका थियो । अदालतको आदेशानुसार नेकपासँगै एमाले पनि फुटेको अवस्थामा बहुमत क्षेत्र आफ्नो पोल्टामा पार्ने योजनाका साथ नेपाली कांग्रेस लागिपरेको छ ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले लुम्बिनीका १०९ तहमध्ये ४८ वटा पालिका प्रमुख जितेको थियो । एमाले २७ वटा पालिकामा सीमित भएको थियो । माओवादीले २५ वटा पालिकाको नेतृत्व हात पार्‍यो ।

कांग्रेसले प्रदेशभरमा ३७५ वटा वडा जितेको छ । एमालेले ३१४ वटा वडा हात पारेको छ । माओवादी केन्द्रले १७० वडा जित्दा जनता समाजवादी पार्टी ४३ वडामा विजयी भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी १५, राप्रपा २१, राष्ट्रिय जनमोर्चा १६ र नेकपा एकीकृत समाजवादीले ४ वटामात्र वडा जितेका छन् ।

लुम्बिनी प्रदेशका केही ठाउँमा सत्ता गठबन्धनबीच तालमेल हुँदा कांग्रेसलाई फाइदा भएको हो । तालमेलबाट स्थानीय तह चुनावमा माओवादीले पनि एमाले हाराहारीमा प्रमुख पद जितेको छ । माओवादीले वडा भने कम जितेको छ ।

आगामी संघीय तथा प्रदेश चुनावमा पाँच दलबीच तालमेल हुँदा २०७४ को चुनावसँगै स्थानीय चुनावलाई पनि आधार मानिनेछ । तर, सत्तारुढ दलहरुबीच चुनावमा भागबन्डा गर्न भने सहज छैन ।

लुम्बिनीमा गठबन्धनमा रहेका दलहरु कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस र जनमोर्चाका नेतैनेता भएकाले पनि यहाँको भागबन्डा मिलाउन दलहरुलाई सहज छैन । यही कारण स्थानीय तह निर्वाचनमा गठबन्धन भएका पालिकामा पनि बागी उम्मेदवार खडा भएका थिए ।

लुम्बिनीमा पाँच दलको गठबन्धन सरकार रहेको छ । त्यसैले आगामी चुनावमा गठबन्धन दलहरुले कसरी सीट बाँडफाँट गर्छन् र एमालेले कसरी रणनीति बनाउँछ भन्ने चासो बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर