प्रमाण नपुगेपछि पेट्रोल पम्पका सञ्चालकको हत्याआरोपीले पाए सफाइ – Nepal Press

प्रमाण नपुगेपछि पेट्रोल पम्पका सञ्चालकको हत्याआरोपीले पाए सफाइ

जनकपुरधाम । पेट्रोल पम्पका सञ्चालकलाई हत्या गरेको अभियोग लागेका एक ठेकेदारले अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत धनुषाका न्यायाधीश डा. परशुराम भट्टराईको इजलासले सफाइ दिएको हो ।

२०७६ कात्तिक ६ मा जनकपुरधाम १४ मा लक्ष्मीनियाँ गाउँपालिका ४ का अन्दाजी ४० वर्षीय मनोज साहको गोली हानेर हत्या गरेको आरोपमा पंकज भनिने दामोदर चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पंकज मनोजको हत्या गरेको केहिबेरमै हतियारसहित पक्राउ परेका थिए । घटनाबारे थाहा पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले पंकजलाई भाग्दै गर्दा पक्राउ गरे । त्यसपछि उनको घर र गाडी तलासी गर्दा २ थान पेस्तोल र २२ राउन्ड गोली बरामद भएको थियो ।

मनोजमाथि गोली हानेको स्थान पंकजको घरको आँगन रगताम्मे बनेको थियो । पक्राउ परेका पंकजलाई प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दा उनले हत्या गरेको स्वीकार गरेका थिए । उनलाई अदालतले ७६ मंसिर ४ मा पुर्पपक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरेको थियो ।

त्यतिबेला प्रहरीले दिएको जानकारी अनुसार पंकजले मनोजको पम्पबाट पेट्रोलियम पदार्थ लिएको बापत ८ लाख रुपैयाँ तिर्न आनाकानी गरिरहेका थिए । पैसा तिर्न नचाहेको र फोन गरेपछि उल्टै गाली गरेपछि मनोज साथी अमित साहलाई लिएर बिहान करिब ९ बजे पंकजको घर पुगेका थिए ।

पंकजले अदालतबाट सफाइ पाएको पुष्टि गर्दै अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले चौधरीमाथि अभियोग दाबी अनुसार प्रमाण नपुगेकै बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर