मौद्रिक नीतिमार्फत पुनर्कर्जा सुविधालाई निरन्तरता दिन माग – Nepal Press

मौद्रिक नीतिमार्फत पुनर्कर्जा सुविधालाई निरन्तरता दिन माग

काठमाडौं । निर्यात व्यवसायी महासङ्घले निर्यात व्यवसायमा पुनर्कर्जाको सुविधालाई निरन्तरता दिन माग गरेको छ । निर्यात व्यवसायी महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर मौद्रिक नीतिमा निर्यात व्यवसायमा पुनर्कर्जाको सुविधालाई निरन्तरता दिन माग गरेका हुन्।

अध्यक्ष गुरुङले नेपालको निर्यात क्षेत्रमा कोभिड–१९ को प्रभाव नसकिँदै अर्थतन्त्रमा तरलता अभाव देखिएकाले व्यवसायी अप्ठ्यारोमा परेको बताए । महासङ्घले निर्यातमा दुई तिहाइभन्दा बढी गैरभन्सार अवरोध, प्रक्रियागत र नीतिगत जटिलताको कारण नेपालको निर्यात व्यापार अपेक्षितरुपमा बढ्न नसकेको बताएको छ ।

नेपालले चार हजारभन्दा बढी वस्तु आयात गरे पनि निर्यात भने एक हजारभन्दा कम वस्तु भएको भन्दै निर्यात क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएको छ । नेपालको निर्यात घटेको कारण व्यापार घाटा बढेको अध्यक्ष गुरुङको भनाइ छ ।

महासङ्घले अति कम विकसित मुलुकबाट फड्को मारेर एक तहमाथि उक्लने भएपछि नेपालले पाउँदै आएको ‘जिएसपी’ सुविधा सन् २०२६ देखि हट्ने भएकाले यसलाई मध्यनजर राख्दै मौद्रिक नीतिमा समेट्न आग्रह गरेको छ ।

यस्तै, हाल राष्ट्र बैंकले प्रदान गरेको निर्यात कर्जामा समस्या देखिएको भन्दै यसलाई समाधान गर्नसमेत माग गरेको छ । नेपालको निर्यात अन्य मुलुकको तुलनामा कम रहेको कारण थप प्रोत्साहित गर्न अघिल्लो भएको निर्यातको २५ प्रतिशते हुन आउने रकम बराबर चालु पुँजीसहित निर्यात कर्जा कोष स्थापना गर्नुपर्ने बताएको छ ।

नेपाल राष्ट्र बैंकले निर्यात व्यवसाय÷व्यवसायीका लागि विशेष विदेशी मुद्रा विनिमय दरको व्यवस्था गर्नुपर्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर