यतिका सेना, प्रहरी र कर्मचारी किन चाहियो, कटौती गरौं: प्रदेश सभापति बानियाँ – Nepal Press

यतिका सेना, प्रहरी र कर्मचारी किन चाहियो, कटौती गरौं: प्रदेश सभापति बानियाँ

हेटौँडा । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नेपालमा हालको जनप्रतिनिधिको संख्या आवश्यक रहेको तर सेना, प्रहरी र निजामती कर्मचारीको संख्या धेरै भएकाले कटौती गर्नुपर्ने टिप्पणी गरेका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौंडामा आयोजित एक कार्यक्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले नेपाली सेना र निजामती कर्मचारीहरुको संख्या धेरै आवश्यक नरहेको बताए ।

उनले भने, ‘अहिले मान्छेले प्रदेशलाई अनेक कुरा गरेका छन् । प्रदेश बोझ भयो, यो भयो, त्यो भयो भनेका छन् । तर, नेपालका करिब २९ हजार जनप्रतिनिधिको जम्मा खर्च ३ अर्ब छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीको संख्या कति छ ? नेपाली सेना केको लागि धेरै चाहियो ? ई–गभर्नेन्सको कुरा गर्ने अनि निजामती कर्मचारी किन धेरै चाहियो ? यी कटौती गरौं । तर, जनप्रतिनिधि कटौती आवश्यक छैन ।’

उनले हाल नेपालमा एकजना वडा सदस्य बराबर करिब २ हजार मानिस रहेको भन्दै जनप्रतिनिधि कटौती आवश्यक नभएकोमा जोड दिए । नेता बानियाँले थपे, ‘अहिले एक जना वडा सदस्य एकदेखि दुई हजार मानिस भएको ठाउँमा पुग्नुपर्दछ । तर, नेपाली सेना र सशस्त्र प्रहरीको बारेमा विचार गरिनुपर्दछ ।’

राज्य पुनर्संरचना भएर संघीयतामा गएको भन्दै उनले सेना, सशस्त्र प्रहरी र निजामती कर्मचारीको पनि पुनर्संरचना आवश्यक रहेको बताए ।


प्रतिक्रिया

One thought on “यतिका सेना, प्रहरी र कर्मचारी किन चाहियो, कटौती गरौं: प्रदेश सभापति बानियाँ

  1. लुटेर खान पल्केकाले कहाबाट लुट्न सकिन्छ भन्ने साेच राखेका हुन्छन् । नेपालकाे क्षेत्रफललाई हेरौ अनि प्रदेश हेरौ कतिकाे जायज छ ? बिगत हेरौ अनि बर्तमान अवस्था हेरौ । सानाे देश तर नेता धेर भएकाे देश बनेकाे छ नेपाल । पुर्खाले भनेकाे उखान, विरालाे बढि भयाे भने मुसा मार्दैन, कुराे सहि रहेछ अहिलेकाे परिस्थिति अनुसार मेल खाकाे छ । नेता धेरै भए बिकास हुने बजेट उनिहरुले खाए अनि कहाबाट हुन्छ त देशकाे विकास ? सुरक्षा निकायलाई दाेष दिने किन ? सुरक्षा निकायमा रहेका सुरक्षाकर्मिले बर्ष भरि खाने तलब भत्ता बराबर रकम नेपालका नेताले महिना मै स्वा बनाएकाे कस्ले देख्ने ? आफ्नाे आङमा हेरौ अनि अरुकाे आङ हेराै महासय…

Leave a Reply to दिपक गौतम Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर