२० नवीनतम व्यवसायीले प्रस्तुत गरे नयाँ योजना, मुरारका समूहको रासन टेकमा लगानी गर्ने – Nepal Press

२० नवीनतम व्यवसायीले प्रस्तुत गरे नयाँ योजना, मुरारका समूहको रासन टेकमा लगानी गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० बिजनेस/५० लगानीकर्ता कार्यक्रम अन्तरगत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नवीनतम उद्यमको बारेमा प्रस्तुति गरेका छन् ।

महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत गरेको छ ।

मुलुकभित्र नवीनतम सोच भएका नव प्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताहरूको उत्साहपूर्वक सहभागिता थियो ।

प्रस्तुत योजनामा लगानीकर्ताले रुचि देखाएमा महासंघको स्टार्ट अप मण्ड इनोभेसन समितिले दुवै पक्षबिच सहजीकरण गर्नेछ ।

महासंघ आफैले आवेदन मार्फत छनौट गरेका र महासंघको सहकार्यमा व्यावसायिक संघ/संस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसँग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपहरूले पिचिङ सेसनमा भाग लिएका थिए ।

महासंघले यस कार्यक्रममा सहभागिताका लागि विभिन्न समयमा स्टार्टअप व्यवसायीसँग आवेदन समेत माग गरेको थियो । पिचिङ सेसनमा कृषि, उत्पादनमूलक, खानपिन, सूचना प्रविधि, सेवासँग सम्बन्धित बिजनेस योजना प्रस्तुत भएका थिए ।

महासंघको स्टार्टअप मण्ड इनोभेसन समितिले गत वर्ष चैत्र ९ गते ५० बिजनेस/५० लगानीकर्ता कार्यक्रमको घोषणा गरेको थियो ।

पिचिङ सेसनमा आमा एग्रो प्रा.लि., रासन टेक प्रा.लि., नेपाल एग्रो इन्पुट्स मार्केटिङ मण्ड इन्टरप्रेनुअरशिप सर्भिस (नेम्स),अन्सु टेक्नोलोजि प्रा।लि।, लुक्ला आउटडोर,पिक मण्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपिन, स्वीट फिक्स, बिहे नेपाल, सारङ, कारखाना, ग्लोकल एकेडेमी अफ स्कील, ह्यापी माइण्डस, टेका, बोआफ्रेश,ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसीस छन् ।

महासंघले पहिलो पटक स्टार्टअप मण्ड इनोभेसन समिति नै गठन गरी यो क्षेत्रको प्रवर्द्धनमा काम गर्दै आएको छ ।

महासंघले अगाडि सारेको भिजन पेपरले पनि स्पार्टअप व्यवसायलाई मुख्य प्राथमिकतामा राखेको छ ।

युवा उद्यमशीलता विकास र नवप्रवर्तन गर्न स्टार्टअप व्यवसायलाई सहयोग गर्नुपर्ने महासंघको निरन्तर पहलमा स्टार्टअप व्यवसायलाई सहयोग गर्ने विभिन्न कार्यक्रमहरू जस्तो ठूला उद्योगसँगको अग्र तथा पृष्ठ अन्तर सम्बन्ध कायम गर्ने, च्यालेन्ज फण्डको स्थापना, इन्कुवेशन केन्द्र सञ्चालन लगायतका कार्यक्रमहरू संघीय सरकारको बजेटमा आएका छन् ।

महासंघको यस कार्यक्रममा एक वर्षभन्दा बढी समय अघिदेखि सञ्चालनमा आइरहेका र कम्तीमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनी रूपमा दर्ता भएका स्टार्टअप व्यवसाय यसका लागि योग्य मानिने छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले पिचिङ सेसनको औपचारिक शुभारम्भ गर्दै महासंघको यो कार्यक्रमले नवीनतम सोच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग पुर्‍याउने विश्वास प्रकट गरे ।

महासंघको आर्थिक रूपान्तरण २०३० (भिजन पेपर) ले पनि स्टार्टअप व्यवसायलाई जोड दिएको र अहिले सरकारले पनि हाम्रै सल्लाहमा यो क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा महासंघका पदाधिकारीहरू, पूर्व अध्यक्ष, कार्यकारिणी समितिका सदस्यहरू, स्टार्टअप मण्ड इनोभेसन समितिका पदाधिकारी, सदस्यहरू, सल्लाहकारहरू, स्टार्टअप व्यवसायीहरू लगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर