लुम्बिनी विकास बैंकद्वारा लुम्बिनी आँखा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण – Nepal Press

लुम्बिनी विकास बैंकद्वारा लुम्बिनी आँखा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण

काठमाडौं । लुम्बिनी विकास बैंकद्वारा लुम्बिनी आँखा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण गरेको छ । लुम्बिनी विकास बैंकले नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान र अम्बिका शाह आँखा अस्पताल भैरहवालाई मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई ५ लाख ३६ हजार ७५० रुपैयाँ बराबरको मेडिकल उपकरण (आँखामा प्रेसर नाप्ने मेसिन) हस्तान्तरण गरेको हो ।

सोमबार एक कार्यक्रमका बीच बैंकका बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनालले अस्पताल विकास समितिका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष राणाले बेलाबखत विभिन्न बैंकबाट हुने सहयोगले अस्पताललाई ठूलो राहत मिलेको बताए । उनले आगामी दिनमा पनि लुम्बिनी विकास बैंकबाट सहयोग हुने अपेक्षा गरे ।

अध्यक्ष राणाले आँखासम्बन्धी समस्या भए त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले आँखा जस्तो संवेदनशील
कुरालाई निदान गर्नेतर्फ अगाडि बढे निश्चित रुपमा राम्रो उपचार हुने बताए । उनले भने, ‘हामीलाई धेरै महंगो उपकरण खरिद गर्न बडो गार्‍हो छ । यो नाफा लिने नभई सेवामूलक संस्था हो, त्यसकारण हामी निजी अस्पतालको तुलनामा यो अस्पतालको आर्थिक अवस्था कमजोर छ ।’

उनले विभिन्न किसिमका उपकरणलाई आजको आधुनिक समयअनुसार परिपूर्ति गर्न आवश्यक रहेको बताए । आँखासम्बन्धी रोगको निदानका लागि नेपाल नेत्र ज्योति संघले राष्ट्रव्यापी रुपमा जिम्मेवारी पाएको र त्यो जिम्मेवारी निर्वाह गर्नका लागि निश्चित रुपमा अगाडि बढेको उनको भनाइ थियो ।

बैंकका बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनालले सेवाको भावनाले उत्प्रेरित भएको अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण गर्न पाउँदा खुसीको अनुभूति भएको बताए । उनले आगामी दिनमा पनि अस्पतालसँगको सहयात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

बैंकले नाफा कमाउने उद्देश्यमात्र नराखी संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि अगाडि बढाएको उनको भनाइ थियो । बैंकले ८६ वटा शाखामार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको खनालले जानकारी दिए ।

अस्पतालका निमित्त चिफ मेडिकल डाइरेक्टर सह-प्राध्यापक डा. कविन्द्र बज्राचार्यले अस्पताललाई सबै आवश्यक उपकरण किन्न नसक्ने अवस्थामा बैंकले सहयोग गर्नु सराहनीय रहेको बताए । उनले सेवाको लागि अगाडि बढेको अस्पताललाई बैंकले दान गरेर ठूलो सहयोगको काम गरेको बताए ।

उनले बैंकको कार्यबाट प्रेरित भएर अन्य संघ–संस्थाले पनि अस्पताललाई सहयोग गर्ने बताए ।

अस्पताल विकास समितिका अध्यक्ष सागरप्रताप राणाको अध्यक्षता निमित्त चिफ मेडिकल डाइरेक्टर सह-प्राध्यापक डा. बज्राचार्यको स्वागत तथा सूचना अधिकारी प्रतीक पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर