धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई – Nepal Press

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई

कैलाली । धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रीकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । विजेता बनेको महेन्द्रनगरले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले १ लाख पाएको छ ।

कैलालीको धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ थालेको महेन्द्रनगर क्रीकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८‍.३ ओभरमा १ सय १८ रन मात्रै बनाउन सक्यो ।

उसका लागि दीपक बोहराले सर्वाधिक ४१ रन बनाए । नरेन भट्टले १८, अभिषेक पालले टिमलाई १३ र सन्दीप खत्रीले १२ रनको योगदान दिए । बलिङ तर्फ महेन्द्रनगरका सन्तोष भट्टले महत्त्वपूर्ण ४ विकेट लिए । हेमन्त धामी र विपिन धामीले समान २/२ तथा राहुल भण्डारी र विकास आग्रीले समान १र१ विकेट लिए ।

त्यस अघि महेन्द्रनगरका लागि विशाल ऐरले ३३ र सन्तोष भट्टले २१ रन बनाए । उसका राहुल भण्डारी, हेमन्त धामी र विकास आग्रीले समान १३र१३ रन बनाए । बलिङ तर्फ लिटल फ्लावरका कृष्ण कार्कीले ३, दीपक बोहरा र कुशल रुपाखेतीले २र२ तथा प्रकाश जैसी र सन्दीप खत्रीले समान १र१ विकेट लिए । फाइनल खेलको प्लेयर अफ दी म्याच सन्तोष भट्ट घोषित भए ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी लिटल फ्लावरका दीपक बोहरा घोषित भए । उनले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान धनगढी क्रीकेट एकेडेमीका राजु रिजाल, उत्कृष्ट बलर घोषित भएका धनगढी क्रीकेट एकेडेमीका हिक्मत महरा प्रतियोगिताका उदीयमान खेलाडी समेत बन्न सफल भए । उनीहरूले जनही ७ हजार ५ सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

फागुन ६ गतेबाट सुरु भएको टी–२० क्लब क्रीकेट प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी सहभागिता जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर