सिन्धुपाल्चोकमा पाँच पालिका जितेर कांग्रेस बन्यो पहिलो पार्टी, एमाले तेस्रोमा खुम्चियो – Nepal Press

सिन्धुपाल्चोकमा पाँच पालिका जितेर कांग्रेस बन्यो पहिलो पार्टी, एमाले तेस्रोमा खुम्चियो

पहिला हारेकाहरुले जिते, जितेकाहरुले हारे !

सिन्धुपाल्चोक । दुई नगरपालिका र तीन गाउँपालिका जित्दै नेपाली कांग्रेस सिन्धुपाल्चोकमा पहिलो पार्टी भएको छ । सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये नेपाली कांग्रेस एक्लैले बाह्रविसे, मेलम्ची नगरपालिकामा जित हासिल गरेको छ । त्यसैगरी भोटेकोशी, त्रिपुरासुन्दरी र हेलम्बु गाउँपालिका पनि कांग्रेसले जितेको छ ।

सुनकोशी, बलेफी र जुगल गाउँपालिकाको उपाध्यक्ष पनि नेपाली कांग्रेसले जितेको छ । सदरमुकाम चौतारासहित जुगल, बलेफी र लिसंखुपाखर गाउँपालिकाको प्रमुख जित्दै माओवादी केन्द्र सिन्धुपाल्चोकमा दोस्रो भएको छ ।

नेकपा एमालेले भने अघिल्लो चुनावको विरासतलाई पनि जोगाउन सकेन । एमालेले पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र सुनकोशी गाउँपालिका मात्रै जितेको छ । मेलम्ची नगरपालिका र लिसंखुपाखर गाउँपालिकामा भने उपाध्यक्ष एमालेले जितेको छ ।

गाउँपालिका–नगरपालिकामा अध्यक्ष र प्रमुखलाई आएको मतमा समेत नेपाली कांग्रेस पहिलो पार्टी भएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले कुल ४१ हजार ३३२ मत ल्याएको थियो तर यो निर्वाचनमा नेपाली कांग्रेसले निकै मत बढाएको छ । कांग्रेसले यो निर्वाचनमा ६३ हजार ९५० मत ल्याएको छ । नेपाली कांग्रेसले मेलम्चीमा राप्रपा र जुगलमा माओवादी केन्द्रसँग सहकार्य गरेको थियो ।

त्यस्तै २०७४ को निर्वाचनमा नेकपा एमालेले ५१ हजार २१ मत ल्याए पनि यो निर्वाचनमा भने केही मत मात्रै बढाएको छ । उसले जम्मा ५९ हजार ७२१ मत ल्याएको छ । एमालेले सुनकोशी गाउँपालिकामा मात्रै माओवादी केन्द्रसँग सहकार्य गरेको थियो । सामग्र मत परिणाममा भने माओवादी केन्द्र तेस्रो भएको छ ।

२०७४ मा माओवादी केन्द्रले ३१ हजार ५८७ मत ल्याएको थियो अहिले भने २९ हजार ७२९ मत ल्याएको छ । माओवादी केन्द्रले सुनकोशी, चौतारा साँगाचोकगढी, बलेफी, जुगल, मेलम्ची, पाँचपोखरी थाङपाल र हेलम्बुमा फरक–फरक पार्टीसँग सहकार्य गरेको थियो ।

वडामा पनि कांग्रेसकै बर्चस्व

गाउँपालिका र नगरपालिकामा मात्रै होइन, नेपाली कांग्रेसले वडासमेत बढी जितेको छ । १०३ वडामध्ये नेपाली कांग्रेसले एक्लैले ५२ वडाध्यक्ष जितेको छ । एमालेले ३७ वडामा जित हासिल गरेको छ । स्थानीय तहको नेतृत्व बढाएको माओवादीले भने यसपटक वडा आधाले घटाएर ११ वटा मात्र जित्यो । राप्रपा, समाजवादी र स्वतन्त्र उम्मेदवारले एक–एक वडाध्यक्ष जितेका छन्।

अघिल्लो पटक एमालेले ४२, कांग्रेसले ३८, माओवादीले २१ र राप्रपाले दुईवटा वडा जितेका थिए । यसपटक कांग्रेसले १४ बढी वडा जितेको छ । एमालेले ५ र माओवादी केन्द्रले १० वटा वडा योपटक गुमाएको छ ।

अघिल्लोपटक जितेकाहरु हारे

केही स्थानीय तहमा अघिल्लोपटक स्थानीय सरकार सञ्चालन गरिसकेकाहरु पुनः उम्मेदवार भएको थिए । पाँचपोखरी थाङपाल गाउँपालिकामा नेकपा एमालेले पुरानै सेटलाई दोहोर्याएको थियो ।

एमालेले टासी लामा अध्यक्ष र सुनिता अधिकारीलाई उपाध्यक्षमा उमेदवार बनाएको थियो । यो गाउँपालिकामा दुवैले योपटक पनि जित हासिल गरेका छन् । त्यसैगरी हेलम्बु गाउँपालिकामा नेपाली कांग्रेसबाट दोहोर्याएका निमाग्याल्जेन शेर्पा पुनः निर्वाचित भएका छन् ।

बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा र उपप्रमुख सुशीला पाख्रिन योपटक हारेका छन् भने भोटेकोशी गाउँपालिकामा अघिल्लोपटक जितेका राजकुमार पौडेल यो पटक तेस्रो भएका छन् ।

सुनकोशी गाउँपालिकामा जितेका कांग्रेसका श्रवणकुमार जिसी(विनोद) पनि अहिले एमालेका टपिन्द्र प्रसाद तिमिल्सिनासँग पराजित भएका छन् ।

जो अघिल्लोपटक हारेकाहरु अहिले जिते

मेलम्ची नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर जितेका आइतामान तामाङ २०७४ मा एमालेका डम्बर अर्यालयसँग पराजित भएका थिए । तर योपटक राप्रपाको साथमा आइतमानले मेलम्चीमा बाजी मारेका छन् ।

त्यसैगरी इन्द्रावती गाउँपालिकामा पनि एमालेका झम्क नेपाल अघिल्लोपटक पनि उम्मेदवार भएर दुई सय मतान्तरमा पराजित भएको थिए । पाँच वर्षपछि नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति विकास लामालाई हराउँदै अध्यक्षमा नेपाल निर्वाचित भएका छन् ।

जुगल गाउँपालिकामा पनि अहिले निर्वाचित भएका रेशम स्याङ्बो अघिल्लोपटक एमालेका होमनारयण श्रेष्ठसँग पराजित भएका थिए । अहिले उनले एमालेका जयबहादुर लामालाई हराउँदै जित हासिल गरेका छन् । लामा भने अघिल्लोपटक पनि पराजित भएका थिए ।

त्यसैगरी बलेफी गाउँपालिकामा एमालेका केदार क्षेत्रीसँग पराजित भएका गंगाबहादुर लामा योपटक नेपाली कांग्रेसका सुवास तिमिल्सिनालाई हराउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

बाह्रविसे नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार भएकाम बालकृष्ण बस्नेत एमालेका निमफुञ्जो शेर्पासँग पराजित भएका थिए । अहिले शेर्पालाई हराउँदै बस्नेतले मेयरमा बाजी मारेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिकामा भक्तध्वज बोहरा अघिल्लोपटक एमाले उम्मेदवार भुपेन्द्र श्रेष्ठसँग पराजित भएका थिए । अहिले एमाले उम्मेदवार मेघनाथ पौडेललाई हराउँदै बोहरा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

उपप्रमुख र उपाध्यक्षमा पनि दुईजना अघिल्लो निर्वाचनमा पनि प्रत्यासी भएका थिए । अघिल्लो निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रकी जानुका पराजुलीसँग पराजित भएकी सीता थापा योपटक माओवादीसँगको गठबन्धनमा समाजवादीबाट उपमेयरमा निर्वाचित भएकी छन् ।

त्यस्तै लिसंखुपाखर गाउँपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार भएर पराजित भएकी मीठु लामा योपटक एमालेमा प्रवेश गर्दै गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

तस्बिरः प्रभात श्रेष्ठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर