लुम्बिनीमा रसियन बौद्धहरुको सहयोगमा बनेको चैत्यमा प्राण प्रतिष्ठा – Nepal Press

लुम्बिनीमा रसियन बौद्धहरुको सहयोगमा बनेको चैत्यमा प्राण प्रतिष्ठा

रुपन्देही । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार पारिएको बगैंचामा मंगलबार विश्व शान्तिको कामना गर्दै पाठ गरिएको छ ।

बगैंचा परिसरमा निर्माण गरिएको चैत्य प्राण प्रतिष्ठा तथा महायानी बौद्ध परम्पराअनुसार प्राणी जगतको कल्याणको कामनासहित पाठ गरिएको हो ।

रुस-युक्रेन युद्धबाट शान्ति खोज्दै बुद्ध जन्मस्थल लुम्बिनीमा रसियन बुद्धिष्ट ओलिग बर्तुनोभसहितका समुदायले बगैंचा तयार पारेका हुन् ।

रसियाको बौद्ध सम्प्रदाय बाहुल्य राज्य कालमिकका नागरिक बर्चुनोभलगायतका बौद्ध समुदायले लुम्बिनी प्लाजामा बगैंचालगायतका संरचना निर्माण गर्न सहयोग गरेका छन् । मंगलबार रसिन खेन्पो एवं रसियन केन्द्रीय बौद्ध आध्यात्मिक प्रशासनका अध्यक्ष गेसे योङतेनसहित नेपालका लामा गुरुहरुको उपस्थितिमा लुम्बिनी प्लाजामा रहेको चैत्यमा प्राण प्रतिष्ठा पाठ र विश्व शान्तिको कामना गरिएको थियो ।

उक्त अवसरमा लुम्बिनी विकास कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्यसचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्य राजेश शाक्य पूजा तथा पाठमा सरिक भए । लुम्बिनी गुरुयोजना क्षेत्रलाई सौन्दर्यकरण गर्दै बौद्धमय बनाउन रसियन बौद्ध सम्प्रदायको सहयोग विश्व शान्तिका लागि उदाहरणीय कार्य भएको कोषका सदस्य सचिव शाक्यले बताए ।

रसियन बुद्धिष्ट ओलिग बर्तुनोभले आफू बुद्ध जन्मस्थलमा आएर बौद्ध सम्प्रदायको आस्थामा एउटा भए पनि इँटा थप्न पाएको भन्दै खुशी व्यक्त गरे । पछिल्लो समय रुस-युक्रेन युद्ध चर्किंदा बौद्ध सम्प्रदायले बुद्ध जन्मस्थल लुम्बिनी शान्तिको खोजी गर्दै आउने क्रम बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर