चिसाङका सुकुम्बासीहरुको गुनासो– दलहरुले हरेक निर्वाचनमा हामीलाई भोटरमात्रै बनाए – Nepal Press

चिसाङका सुकुम्बासीहरुको गुनासो– दलहरुले हरेक निर्वाचनमा हामीलाई भोटरमात्रै बनाए

मोरङ । मोरङको कानेपोखरी ५ स्थित चिसाङ खोला किनारमा करिब १८० घर परिवार रहेको सानो बस्ती छ । जहाँ दलका झण्डाले पूरै बस्ति ढाकिएको छ । उनीहरुको बस्तीमा बिहान–बेलुका भोट माग्न पुग्ने दलका उम्मेदवारको लर्को नै लाग्ने गरेको छ ।

स्थानीय तह निर्वाचनमा मुख्यतः चिसाङ नदीमा तटबन्धन गरी बस्तीलाई सुरक्षित बनाउने आश्वासन नेताहरुले दिने गरेका छन् । तर, चिसाङ किनारको बस्तीमा विगत ३० वर्षदेखि बसोबास गर्दै आएकी ७२ वर्षीय गंगादेवी पोखरेललाई दलका नेता तथा उम्मेदवारहरुले दिने आश्वासनमा यो पटक पटक्कै विश्वास छैन ।

हरेक चुनावमा दलका नेताहरु तटबन्धनकै एजेण्डा बोकेर त्यो बस्ती पुग्छन् । तर, जितेपछि ती नेताहरु कहिल्यै बस्तीमा अनुहार देखाउन नआएपछि गंगादेवीलाई यसपटक नेताले दिने आश्वासनप्रति विश्वास नै लाग्न छाडेको बताउँछिन् ।

गंगादेवी भन्छिन्, ‘निर्वाचन नजिकिएसँगै हाम्रो बस्तीमा आउने नेताहरुको सधैँ एउटै एजेण्डा हुन्छ, यहाँको कटानको समस्या हल गरिदिने । तर, वर्षौं भइसक्यो कटानको समस्या ज्यूँका त्यूँ छ ।’

पाँच वर्षअघि पनि उम्मेदवारहरू यहाँको डुबान समाधान गर्छौं भन्दै भोट माग्न आएको अर्का स्थानीय रामबहादुर अधिकारी बताउँछन् । उनले भने, ‘चुनाव जितेपछि नेताले फर्केर हेरेनन् । अहिले फेरि त्यही मुद्दा दोहोर्‍याउँदै उम्मेदवार भोट माग्न आएका छन् ।’

उम्मेदवारहरूले भने स्थानीयलाई पुरानै आश्वासनमात्रै दोहोर्‍याइरहेको उनले सुनाए ।

५४ वर्षीय रामबहादुरका अनुसार चिसाङ खोलामा बस्ती मानिसको मूल पेशा भनेको चिसाङ खोलामा ढुंगागिट्टी कुटेर दैनिकी चलाउनु । त्यसका अलवा केही युवाहरु पछिल्ला समय वैदेशिक रोजगारीमा गएका छन् ।

चिसाङ किनारको बस्तीमा कटानको समस्या विकराल छ । जिल्लामा निकै विनाशकारी खोलाका रुपमा चिसाङलाई लिने गरिन्छ । पूर्व–पश्चिम राजमार्गको उत्तर दक्षिण दुवैतर्फ चिसाङ खोला किनारमा रहेको बस्तीमा रहेका उनीहरु राज्यबाट प्राप्त हुने शिक्षा, स्वास्थ्यलगायतका सेवा–सुविधाबाट समेत आफूहरु बञ्चित हुँदै आएको गुनासो गर्छन् ।

रामबहादुरका अनुसार बस्तीमा ५ कक्षासम्म पढाइ हुने आधारभूत स्कुलमात्र रहेको छ । त्यसभन्दामाथिको पढाइ गर्न करिब ९ किलोमिटर जंगलको बाटो पार गरेर आइतबारे जानु पर्छ । ‘बस्तीमा हाईस्कुल छैन’, रामबहादुरले थपे, ‘कानेपोखरीको जंगल पार गरेर छोराछोरी आइतबारे पुग्नु पर्छ । नानीहरु अलिक ढिला आउँदा सधैँ मन बेचैन हुने गर्छ ।’

स्थानीयले कटान समस्या समाधानका लागि सबै सरकारी निकाय र नेतालाई आग्रह गर्दासमेत नसुनेको गुनासो गरे । यहाँका उम्मेदवार र विजयी भएकाहरूले पनि आश्वासनमात्रै दिएको उनीहरूको गुनासो छ ।

स्थानीय ७४ वर्षीय लोकबहादुर कार्कीले उम्मेदवारहरूले खोला कटानको समस्यालाई चुनावी मुद्दामात्रै बनाएको आपत्ति जनाए । ‘यही मुद्दालाई सबैले एजेण्डामात्रै बनाउँदै आएका छन्’, उनले भने, ‘तर, जितेर गएका उम्मेदवार गाउँको स्थिति बुझ्न फर्केर आएका छैनन् ।’
कानेपोखरीको जंगलको खोला किनारमा २०५२ सालतिर मानिसहरु बसोबास गरेका हुन् । त्यहाँ बस्ने सबै सुकुम्बासी हुन् ।

स्थानीय जीवन लिम्बू भन्छन्, ‘हाम्रो बस्ती खोला किनारमा छ । हरेक निर्वाचन जितेपछि यो बस्तीलाई नेताहरुले चटक्कै माया मार्छन् । प्रत्येक निर्वाचनमा नेताहरुले हामीलाई भोट बैंकमात्र बनाएका छन् ।’ सुकुम्बासी समस्या र खोला कटान कहीकतैबाट सम्बोधन हुन नसकेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर