कुस्माको बन्जीसम्मको उबडखाबड – Nepal Press
ट्राभल ब्लग

कुस्माको बन्जीसम्मको उबडखाबड

क्लिफ नेपालका राजु कार्कीले फोनमा भन्नुभयो, ‘बहिनी अस्ति बिजी भएर तपाईको कल रेस्पोन्स गर्न पाइनँ, अब कहिले समय मिल्छ होला ?’

‘म भोलि भ्याउदिनँ, पर्सी आउछु नि है ?,’ फोन राखेँ ।

स्विंग गर्न जाने विषयमा गम्भीर थिएँ म । तर, धेरै पटक जानेबारे सोचे पनि अनेक काम परेर जान पाइरहेकी थिइनँ । राति सुत्ने बेला यसो सोचेँ,– ‘समय मिलाउन थाल्यो भने कहिल्यै मिल्दैन । बरू भोलि नै जान्छु ।’

बिहान उठेर सानो ब्यागमा एक्स्ट्रा लुगा कोचेँ । कसैलाई नभनी घरबाट निस्किएँ । कलंकीबाट पोखराको माइक्रोको टिकेट लिएँ । मेरो सोलो ट्राभलको पहिलो अनुभव भने होइन यो । सोलो ट्राभलमा गइरहने मलाई बाटामा भेटिने अपरिचत मान्छेहरु बडा गज्जबका लाग्छन्, जो पछि गएर परिचित बन्छन् । जो पछि गएर प्रिय बन्छन् । अघिल्ला सोलो ट्राभलमा कहाँ जाने र कहाँ बस्ने, अगाडि नै फिक्स भएको हुन्थ्यो । यो यात्रामा भने कहाँसम्म जान्छु र कहाँसम्म पुग्छु, थाहा थिएन । यो मेरो पहिलो गन्तव्यविहीन यात्रा थियो यो । पहिलो अनिश्चित यात्रा थियो यो । यसैले मनमा एक किसिमको रोमान्चकता र अलिकति भय पनि थियो ।

कलंकीमा माइक्रो चढ्नु अगाडि चालक दाइले सोधे, ‘बहिनी, खाना खाएर आएको हो ?’

अपरिचित मान्छेले एकैपटक यस्तो प्रस्ताव गर्दा असहज महसुस भयो । तर, मैले जिस्किँदै भनेँ, ‘दाइले बहिनीलाई खाना खुवाउन लाग्नुभयो कि क्या हो ! अहिले भोक छैन दाइ, भोक लाग्यो भने बाटोमै खाउँला ।’

एकैछिनपछि दाइले एउटा ग्लासमा मिक्स जुस ल्याए । मलाई दिँदै भने, ‘अगाडि सिटमा बस, आज बाटो बिग्रिएको छ । गाडी धेरै जाँदैन । भिड हुन्छ पछाडि ।’

चिन्नु न जान्नु केको माया देखाइरा होला ! तैपनि अगाडि सिटको झ्याल छेउमा गएर बसेँ । एकैछिनमा माइक्रो पुरै भरियो । अगाडिको सिटमा पनि ड्राइभर लगायत चारजना बस्नुपर्ने रहेछ । मलाई झ्यालको सिटबाट बोलाउँदै चालक दाइले भने, ‘बहिनी यता मेरो छेउमा आउ । केही पनि अप्ठ्यारो मान्नु पर्दैन । आफ्नै दाइ सोचेर बसे हुन्छ ।
‘ चालकको कुराले मलाई झस्कायो । थोरै सचेत र सतर्क भएँ । सिटमा तीनजना बस्न निकै सकस भइरहेको थियो । म छटपटाइरहेकी थिएँ । चालक दाइले आफ्नो सिटबाट सर्दै भने, ‘नानी बस्न अप्ठ्यारो भयो होला अलि यता सर । केही गाह्रो नमान ।’

गाह्रो त लागिरहेको थियो । तर, पनि नलागेको झैं अभिनय गरेँ । उसको सिट छेउमा बसेँ । मनमा लाग्यो, ‘आजकाल पनि सिटमा बस्न दिँदैमा, मिक्स जुस खुवाउँदैमा केटी पट्टिन्छन् होला त !’

‘ नौबिसेको ओरालोबाट झर्दै गर्दा फेरि चालकले भने, ‘तिमी त कति सोझी रहिछौ । कहाँ जान लागेको, केही प्रोगाम छ ?’

‘मलाई उत्तर दिनै मन लागेन । चुपचाप बसेँ ।  मुग्लिन पुग्नु अगाडि फेरि चालकले सोधे, ‘बहिनी रिसायौ कि क्या हो ?’

‘छैन, म यात्रामा खासै बोल्न मन नपराउने मान्छे हुँ ।’

अलिकति अगाडि गाडी रोकियो । अरूसँगै म पनि बाथरूमबाट फर्किदै थिएँ ।

‘बहिनी चना–अण्डा खाउ, यतिबेलासम्म खाना खा’को छैन । भोक लाग्छ,’ चालकले चनाअण्डा दिँदै भने ।

‘खान मन छैन’ भन्दै गाडीमा बसेँ । उनले त्यो चना अण्डा गाडीमै ल्याएर दिए । भोक अलिअलि थियो, चना अण्डाको प्लेट समाएँ । तर, खाँदै गर्दा परपरी भुटेको चना नमिठो लाग्यो । खानै सकिनँ, फालिदिएँ ।

चालकले यो सब हेरिरहेका थिए । भोको पेटमा जे खाए पनि मीठो लाग्छ भन्छन् मान्छेहरु । तर, भोक लागेर पनि मनलाई जबरजस्ती मनाउन खोज्दा गाह्रो हुँदोरहेछ । भोक र मन दुवै सन्तुलित छ भने मात्रै घाँटीबाट निलिँदोरहेछ खानेकुरा ।

टाउको भारी भएको थियो । साइडको क्याफेमा लस्सी बनिरहेको देखेँ । टाउको हल्का होला कि भनेर लस्सी मगाएर खाँदै थिएँ । चालक दाइसहित अगाडि सिटमा हामीसँगै बस्ने आन्टी र उहाँको छोरी आए । उनीहरूले पनि लस्सी लिए । चालकले आफुले लस्सी खाएको पैसा र मैले खाएको पैसा तिरे । उनले पैसा तिरेको देखेर आन्टीले मेरो मुखमा पुलुक्क हेरिन् । र फरक्क फिरेर गइन् । मलाई असहज महसुस भयो । कतिबेला पोखरा पग्नु जस्तो भयो । माइक्रो नै चेन्ज गरौं कि जस्तो पनि लाग्यो । तर, तीन चार घण्टा त हो भनेर चित्त बुझाएँ ।

गाडीमार्फत् पोखरा यात्रा पहिलोपटक थियो मेरो । गाडी बाहिरका दृष्यहरू सुन्दर थिए । संसारको सबैभन्दा खुसी व्यक्ति नै मै हुँ जस्तो लागिरहेको थियो । नयाँ ऊर्जा र जोसले प्रफुल्लित थिएँ । म आफू भएर बाँच्न पाइरहेकी थिएँ ।

अलि अगाडि पुगेपछि फेरि गाडी रोकियो । बाटो बन्दै गरेको कारण जाम भएको रहेछ । बाटो खुल्न आधा घण्टा लाग्ने भएपछि गाडीबाट ओर्लिएँ । साँझको चिसो मौसम । गाडीको लहर । यात्रुहरूको भिड।मलाइ रमाइलो लागीरहेको थियो। चालकले फेरि बोलाए,  ‘बहिनीलाई यो आइसक्रिम चैं पक्कै मनपर्छ, भेनेल्ला फ्लेवर ।’

अचम्म लाग्यो, मेरो फेवरेट फ्लेवर यसलाई कसरी थाहा भयो ! तर, पनि मन पर्दैन भनेर खान मानिनँ ।

‘मन नपरे पनि खाउ । बिहानदेखि खाना खा’को छैन । धेरै जिद्दी नगर है ! मलाई यस्तो जिद्दी गरेको मन पर्दैन ।’

अरे वा, गाली पो गरे ! छक्क परेँ । मान्छे अजिव लाग्यो । रिस पनि उठ्यो । अनि अलिकति माया पनि लाग्यो । यसरी गाली गर्दै खुवाउने मेरो हजुरआमा र बुवा बाहेक कोही पनि छैन । यो अपरिचित मान्छेले मलाई किन यसो गरिरहेछ भनेर कौतुहल भएँ ।

उसले आइसक्रिम बोकेर मलाई हेरिरहेथ्यो ।

‘खासै मन त पर्दैनथ्यो । ल्याइदिनु भयो, खाइदिन्छु ।  तपाईंको घर चै कता ?,’ मैले वास्तै नगरे जसरी वास्ता गरेँ ।

‘मेरो घर लमजुङ हो । अरूको गाडी चलाएरै पोखरामा घर बनाएँ । अहिले मेरो दुईवटा गाडी छ । एउटाको पन्ध्र लाख लोन तिर्न बाँकी छ ।’
मैले घर मात्रै सोधेको थिएँ । उनले आफ्नो हैसियत पनि बताउन भ्याए । मलाई उसको मुखबाट ‘लमजुङ’ बाहेक अरु जवाफ सुन्नै थिएन, सुनिदिएँ ।

‘अनि उमेर कति भयो ?’

‘यही बैशाख सोह्र गते तेतीस वर्ष पुग्छु ।’

‘गाडी चलाउन थालेको कति भयो ?’

‘पन्ध्र वर्ष भयो ।’

‘भनेपछि अठार वर्षको उमेरदेखि गाडी चलाउनु भएको ?’

‘हो । पहिला धेरै खर्च गर्थें । आजकाल खर्च गर्न डर लाग्छ ।’

यहाँ पनि उसले एउटा प्रश्नको तीनटा उत्तर दिए । मलाई प्रायः एक प्रश्नको एकै उत्तर दिएको मनपर्छ । एउटा प्रश्नको धेरैवटा उत्तर दिनेहरु खासै मन पर्दैन । अनि मैले जिस्किँदै भनेँ, ‘त्यही खर्च गर्ने डरले होला, कहिले चनाअण्डा, कहिले मिक्स जुस अनि कहिले आइसक्रिम बोक्दै युवतीहरुको पछिपछि लाग्नु हुँदो रहेछ ।’

‘त्यस्तो हैन नि बहिनी । मेरो विवाह भइसकेको छ । छोरी पनि छिन् । तपाईं आफ्नै बहिनी जस्तो लागेर पो । बाटो खुल्यो जस्तो छ । जाऔं बहिनी ।’

मलाई बस्न एकदमै असजिलो भइरहेको थियो । यात्रा लामो लागिरहेको थियो । साँझको सात बज्दा पनि पोखरा पुगेका थिएनौं । मैले चालकतिर हेरेर सोधेँ, ‘दाइ अझै कति समय लाग्छ ?’

‘ए बहिनी । घुम्न हिँड्या मान्छे त्यो पनि पोखरा । पोखरा त मान्छे डेटिङमा जान्छन् । तपाईंको यति बेलासम्म कसैको फोन आएको छैन । आज त ढिलो हुन्छ । मेरै घरमा बस्नुपर्छ ।’

मैले सुनेनसुनै गरे। तर चालकको कुरा सुनेर झ्याल छेउको दिदीले फेरि मेरो मुखमा हेर्नुभयो।मलाइ असहज महसुस भयो। नराम्रो लाग्यो। ती दिदीले गलत नजरले हेर्नुहोला भन्ने चिन्ता लाग्यो । कति ठाउँमा हामी गलत नहुँदानहँुदै पनि अरूको नजरमा गलत भइन्छ कि भन्ने डर हुने रहेछ । जीवनमा डर पनि कतिधेरै कुराको ! एउटा डरलाई जित्यो, अर्को डर सुरू हुने ! नयाँ नयाँ डरहरू थपिँदै जाने । डरैडरले जीवन जिउन असजिलो बनाउने ।

पन्ध्र मिनेटपछि हामी पोखराको बुद्ध चोक पुग्यौं । चालकले गाडी रोकेर भने, ‘मेरो छोरी तपाईको ठुलो फ्यान हो । तपाईले माइ फेवरेट भनेर ‘भेनेल्ला फ्लेवर‘को आइसक्रिमको फोटो फेसबुक पेजको स्टोरीमा राख्नु भएको थियो रे ! आज उनको जन्मदिन हो ।’

चालकले थपे, ‘मेरी बुढी र छोरी तपाईंलाई उ त्यहा कुरेर बसिरहेको छन् । तपाईंको लागि घरमा खाना पनि पाकिसकेको छ । सक्नुहुन्छ भने आजको रात मेरी छोरीसँग बसिदिनुस् न ।’

यात्राको बीचमा उसले कहिले छोरी र श्रीमतीलाई खबर ग¥यो, केही थाहा थिएन।कताकता डर पनि लाग्यो।छोरी र स्रिमती लिन आएको देखेर विश्वस्त भए। म उनीहरुको घर गएँ । खाना खाएर राति सुत्ने बेला ‘बर्थ डे गर्ल’ मसँगै सुत्न जिद्दी गरिन् । निदाउनु अगाडि वेडमा पल्टिएको थियौ।फुच्चिले विस्तारै छोउ कि नछोउ गरेर मेरो पेटमा आफ्नो हात ल्याइन।सात कक्षामा पढिरहेकी नानीले प्रश्न गरिन्, ‘दिदी हजुर भोली नै जाने हो ?’

‘हो,’ भैले भनेँ ।

‘दिदी एउटा कुरा भन्छु भन्छु, माइण्ड नगर्नु ल ?’

मैले मायालु पारामा ‘के कुरा नानु’ भनेँ ।

‘तपाईं यहाँबाट गएपछि मलाइ नबिर्सिनुस् है ?’

मैले हुन्छ त भनेँ, तर  नमज्जा लाग्यो । यात्रामा भेटिएकाहरुलाई सम्झिरहने भन्ने नै हुँदैन । कति मान्छे भेटिन्छन्, कति मान्छे छुटिन्छन् । बिर्सने मन नहुँदानहँुदै पनि सम्झनाबाट यादहरू परपर पुगिदिन्छन् । साइनो भएकाहरूसँग माया हुन्छ जस्तो लाग्थ्यो । साइनो जोडिनै नपाइ माया लाग्ने रहेछ । कतिबेला माया लाग्यो भन्ने महसुस नै नभइ माया लाग्ने रहेछ । ‘हामी छिट्टै मुस्ताङ घुम्न जानुपर्छ है नानु । म फेरि आउँछु ।’

भोलिपल्ट कुस्मा जाउँ जस्तो लाग्यो । ‘द क्लिफ नेपाल’ को राजु दाइलाई टेक्स्ट गरेँ, ‘दाइ म पोखरा आएको छु । के गरौं ?’

रेस्पोन्स आएन । मैले कल गरेँ । फोन उठ्ने बित्तिकै भन्नुभयो, ‘सरी बहिनी, म त सुतिरहेको थिएँ । बिहानै मेसेज गर्नु भएको रहेछ । मैले थाहा पाइनँ । तपाईं पोखरा आउनु भएछ । म त तपाईं आउनु हुन्न होला जस्तो लागेर काठमाडौं फर्किएँ । आउँछु भन्नु भएको भए म बस्थेँ नि ।’

‘ठिकै छ दाइ । त्यसो भए म के गरौं त ?’

‘केही फरक पर्दैन बहिनी । जाँदा हुन्छ नि, जानुस् न । म त्यहाँ कल गर्दिउँ त ?’

‘हुन्छ दाइ ।’

एकैछिनमा ट्याक्सिवाला दाइले कल गर्नु भयो । बुद्ध चोकमा ट्याक्सी आइपुग्यो । अलि पर पुगेपछि मेरो छेउमा बस्नु भएको एकजना अंकलले सोध्नुभयो, ‘सानु चैं कुस्मा जान लाग्नु भएको ?’

‘बोली मिठो लाग्यो । चिन्दै नचिनेको मान्छे फेरि आत्मीय लाग्यो । र भनेँ, ‘हो बुवा, हजुर चैं कहाँबाट आउनु भयो ?’

‘म छोरीको घरबाट आएको, नाती केटोलाई भेटेर । मेरा एक भाइ छोरा, दुइटी छोरी । म शिक्षक हुँ । प्रिन्सिपल पनि भएँ । तर चैं के भने नि छोरी एक पटक मरौला जस्तो विरामी भएर हस्पिटल गएको थिएँ । यसपछि लाग्यो, मान्छे मान्छे बचाउने मान्छे चैं डाक्टर पो रहेछ । यसपछि छोरोलाई डाक्टर पढाएँ । अहिले पोखराको हस्पिटलमा काम गर्दैछ । दुखिया छ जिन्दगी । एउटी छोरी नर्स छिन् । कान्छी चैं बाहिर गई । नजा भनेको मानिन । खै के छ कुन्नी विदेशमा ।’

‘कहाँबाट आउनुभएको’ भन्ने प्रश्नमा चालकले झैं बुवाले पनि सारंशमा आफ्नो आत्मकथा नै सुनाए । उनी बोलिरहे, म सुनिरहेँ । पर्वतको लवज चाखलाग्दो थियो । भाषै सुन्नलाई मात्र म लठ्ठ भएँ । उनी बोल्दै गए, म सुन्दै गएँ । उनले कुरा रोकेर एक्कासी सोधे, ‘छोरीको पर्वतमा को छ ?’

‘मलाई उनले छोरी, नानु भनेको एकदमै मनप¥यो । बोली नै त रहेछ सबथोक ! अनि बोलीले नै त बनाउने रहेछ आ्त्मीय सम्बन्धहरू । मैले मुसुक्क हाँसेर जवाफ दिएँ, ‘म स्विंग गर्न आएकी बुबा, कुस्मा जान लागेकी ।’

आश्चर्य मान्दै सोधे, ’काठमाडौंबाट स्विग गर्न मात्रै आउनु भएको ?’

‘हो नि बुवा, मलाई यसपटक एक्लै हिँड्न मन लाग्यो ।’

‘हैन होला, नानुले कुरा लुकाउनु भयो । कोही नभइ यति टाढा देखी त यहा कोही आउदैन।’

‘हिँड्नुस् न बुवा बरू, मसँग साथी हुन्छ ।’

‘मेरा बाबा । मेरो सानु, कसरी गर्छौ तिमीले स्विंग। म पनि एउटा साथिसँग गएको थिएँ । हकानिएर मरिएला कि भनेर गर्न सकिनँ बाबा मैले । मेरी छोरी, मेरी नानु कसरी गर्छौ तिमीले। म छोरो मान्छे भएर गर्न सकिनँ । मेरो साथीले म पैसा तिर्दिन्छु भन्दा मैले आठ आठ हजार तिरेर मलाई गर्नु छैन भनेँ ।’

म मुर्छा परेर हाँस्न थालेँ । मलाइ आफु गर्न सक्छु भन्नेमा पुरै विस्वास थियो । पहिला पनि एक पटक भोटेकोशीमा हानिसकेकी थिएँ ।

म क्लिफ नेपाल पुगेँ । एक जना सरले म बस्ने कोठासम्म पुर्याउँदै भने, ‘हामीसँग स्काइ साइक्लिङ, स्काइ क्याफे, ब्रेभ विङ बन्जी, स्विङ, जिप लाइन, हर्स राइडिङ, क्रेजी ब्रिज अरू थुप्रै चिजहरू छन् । तपाई सुरूमा के गर्न चाहनु हुन्छ म्याम ?’

‘म स्काइ साइकलिङ र स्विङ गर्छु, अरू भोलि गर्छु ।’

साइक्लिङ सजिलै गरेँ । थोरै थोरै डर लागेको थियो । तर, डर नलागेको जस्तो गरेँ । त्यसपछि सरले भने, ‘म्याम अब स्विङतिर जाउँ ।’
म खुसी हुँदै स्विङ गर्न गएँ । सरले नपत्याए जसरी सोधे, ‘सक्नुहुन्छ म्याम ?’
‘पहिला बन्जी त हानेँ । जाबो यो स्विङ सक्दिनँ होला त !’
‘म्याम त कडा हुनुहुँदो रहेछ ।’
‘हो त, बच्चैबेलादेखि ।’
झोलुंगे पुलमा हिँड्दै गर्दा परपरका दृश्यहरू हेर्दै सरलाई सोधेँ, ’हजुरलाई डर लाग्छ कि लाग्दैन ?’
‘डर कसलाई लाग्दैन होला र म्याम !’
‘लास्ट डरपोक पो हुनुहुँदो रहेछ सर त !’

सर हाँसे । हामी हाँस्दै स्विङ गर्ने कोठामा पुग्यौँ । एक्कासी मुटु सिरिंग भयो । मलाई कसैले फाँसीमा झुन्डाइरहेको छ जस्तो महसुस भयो । म अताल्लिएँ । एक जनाले भने, ‘म पनि कार्की हो । कार्कीहरू यसरी डराउनु हुन्न ।’

‘म डरपोक कार्कीमा पर्छु नि त दाइ ।’

मलाइ सेफ्टी बेल्ट लगाउने अर्को एक जनाले भने, ‘यो ठाउ नै यस्तै हो, यहाँ जसलाई पनि डर लाग्छ । डर लागीलागी स्विङ गर्ने हो नि । डर नै भएन भने के मजा ।’

‘जति मोटिभेट गरे पनि म आज गर्दिनँ है दाइ । मलाई सेल्फ मोटिभेसन पुगेकै छैन ।’

एक जना दाइले नपत्याए जसरी सोधे, ‘सेल्फ मोटीभेसन कसरी गर्नु हुन्छ ? सुनौं त हामी ।

‘दुनियाँले गर्या छन् । केही भाको छैन, मलाइ चै के डर  हुन्छ र भनेर नि दाइ ।’

उनले खुसी हुँदै भने, ‘हो, त्यही हो नि सोच्ने ! ल आउनुस् त यता ।’

‘नाइँ दाइ, मलाई सेल्फ मोटिभेसन पुगेन ।’

सेल्फ मोटिभेसन त यहाँ जति बसेनी पुग्दैन । बरू तल झरेर आएपछि झन् बढ्छ । यता आउनुस् ।’

‘नाइँ, म आज सक्दिनँ के दाइ ।’

‘यो नसकि नसकि गर्ने काम हो, ल आउनुस ।’

‘दाइ जिद्दी नगर्नु न ।’

‘जिद्दी तपाईं गरिरहनु भएको छ ।’

दाइ रिसाए झैं लाग्यो । उनलाई खुसी बनाउन भए पनि गर्नुपर्यो जस्तो लाग्यो । आफु डराइ डराइ अरूलाई खुसी बनाउने कुरामा मैले आफुलाई कन्भिन्स गर्न सकिनँ । बरू दाइलाई खुसी बनाउन एउटा झुट बोलेँ, ‘दाइ अघि भर्खर एउटा साथीले फोन गरेको थ्यो । डोरी चुँडिन सक्छ रे नि त !’

‘ग्यारेन्टी दिन्छु, यो चुँडिदैन । ल बस्नुस त । साँझ परिसक्यो, अहिले फेरि हावा चल्छ ।’

मलाई स्विङ नगर्न अर्को निहँु थपियो । ‘हावा चल्यो भने के हुन्छ दाइ ?,’ मैले मायालु पारामा आफ्नो जिज्ञासा राखेँ ।

‘डोरी हल्लिन्छ नि !’

‘डोरी हल्लियो भने चैं के हुन्छ नि !’

‘तपाईंलाई झन डर लाग्छ, आउनुस् न ।’

‘नाइँ, म आज गर्दिनँ दाइ । डोरी हल्लिन्छ भन्नु भएको हैन ?’

एउटा भाइले क्यामेरा तेस्र्याउँदै भन्यो, ’केही भन्न चाहनुहुन्छ ?’

‘मलाइ अहिले केही पनि बोल्नु छैन भाइ ।’

मैले सबैलाई दिक्क पारिरहेकी थिएँ । सबैले मलाई लिएर आउने सरको अनुहारमा हेरे । सरले छोड्दिनु भन्ने संकेत दिए । मैले सरलाई बिस्तारै हेरेँर सोधेँ, ‘सर म के गरौं ?’

सरले ‘सक्नुहुन्न भने नगर्नुस् त’ भने । ठुलो युद्ध जिते जस्तो भयो । सरको माया लाग्यो । अरू सबै मेरा शत्रुहरू हुन् जस्तो लाग्यो । नौलो ठाउँमा आफ्नो भन्नु यही एउटा सर हो भन्ने लाग्यो । आमाको छेउमा पुगे जसरी सर नजिकै गएर सोधेँ, ‘सरको नाम चै के हो ?’

‘ईस्वर । तपाईंलाई यो नाम मन पर्दैन होला ।’

नाम पनि मन पर्ने र नपर्ने हुन्न नि सर । मान्छे कति ज्ञानी हुनुहँुदो रहेछ, इस्वर जस्तै । म क्या आत्तिएकी थिएँ ।’

हामी कुरा गर्दै रिसेप्सन पुग्यौं । रिसेप्सनको बहिनीले स्विङ कस्तो भयो भनेर सोध्नुभयो । मैले बोल्नु अगाडि सरले भन्नुभयो भयो, ‘आज हावा चलेर गरिएन नि !’

म खुसी हुँदै रूमतिर लागेँ । रूममा बसिरहँदा आफुलाई काँतर रहेछु भन्ने लाग्यो । खानेबेला फोन आयो, ‘आज खादिनँ’ भनेँ । मनमा छटपटाहट सुरू भयो । एक पटक बन्जी हानिसकेको मान्छेले पनि नसक्नु लाजमर्दो कुरा हो जस्तो लाग्यो । मैले आफुले आफुलाई खुब घृणा गरेँ । बेडरूम नै झोलुंगे पुल जसरी हल्लिए जस्तो हुन थाल्यो । ईस्वर सरलाई कल गर्न मोबाइल झिकेँ, रातिको १ः३३ भएको रहेछ । निन्द्रा डिस्टर्ब होला भनेर गरिनँ ।

‘जीवनमा कति काम गर्नु छ, जाबो खोलामा हाम्फालेर के क्रान्ति गर्नु हौ’ भनेर आफुलाई मोटिभेट गर्दै थिएँ । निदाएँछु ।  बिहानै ईस्वर सरको कल आयो, ‘खाजा रेडी भयो हजुर, स्काइ क्याफे जाने हैन ?’

स्काइ क्याफे सकेर सरले भन्नुभयो, ‘ब्रेभ वीङमा स्वीङको अनुभव गर्न पाइन्छ । अब यही मात्र गर्दा हुन्छ ।’

सानातिना कुराहरू सब सकेर म बेडरूममा रेस्ट गर्न पुगेँ । स्वीङ गर्न नस्कने मान्छे किन बस्नु भनेर ब्याग बोकेर काठमाडौं फर्किन तयार भएँ । ईस्वर सरले मलाई खाना खाएर जान अनुरोध गरे ।  तर, म मानिनँ । झोलुंगे पुल क्रस गर्दै गर्दा सरलाई सोधेँ, ’सर हजुरलाई मैले स्वीङ गरे हुन्थ्यो जस्तो लागेको छ कि नगरे पनि हुन्छ जस्तो भा’को छ ?’

‘तपाईंलाई मन लाग्दैन भने मलाई केही फरक पर्दैन इष्टु जी । किन यति धेरै सोच्नुभा’को ।’

‘हैन सर, एक पटक त गर्नैपर्छ । यति टाढा आएर नगर्नु भनेको अवसर गुमाउनु हो । म एक पटक गर्छु ।’

झोलुंगे पुलको बीचमा पुगेका थियौं । हामी स्विङ रूमभित्र छिर्यौ । सबैले मलाई हेरे । एकजनाले सोधे, ‘आज मोटिभेट गरेर आउनु भयो ?’ मैले हाँस्दै जवाफ दिएँ, ‘आज त सरक्क झर्ने हो  ।’

म रेडी भएँ । भाइले क्यामेरा ल्याए । बोल्नु पर्ने कुरा पनि बोलेँ । बिस्तारै स्वीङको डोरीमा झुण्डिएँ । सबैको अनुहार पालैपालो हेरेँ र मुसुक्क हाँसेँ । त्यहाँ सबै पराइ मान्छेहरू थिए । सबै मैले स्विङ गरेको हेर्न आतुर थिए । ‘कार्की रक्स’ भन्नेहरू पनि मलाई आफ्ना लागेनन् । एक्लो महसुस भएको बेला पराइ मान्छेहरूको भिडमा अलिकति कम पराइ मान्छेलाई आँखाले खोज्दो रहेछ । ईस्वर सरको अनुहार मलाई त्यस्तै लाग्यो । मैले ईस्वर सरलाई भनेँ, ‘सर डर लाग्यो ।’

‘डर लाग्छ, तर केही हुन्न । डर लाग्नु नर्मल हो ।’

‘सात सेकेण्डको डर त हो नि है सर ?’

सरले टाउको हल्लाएर हो भन्ने संकेत गरे । म हाँस्दै डोरी छोड्दिनुस् भेनेर चिच्याएँ । अनि म खसेँ । केही सेकेण्डपछि होस आए जस्तो भयो । जिउँदै रहेछु जस्तो लाग्यो । केही सेकेण्डको डरले यो अनुभव गर्न नपाएको भए पछुतो हुने रहेछ जस्तो लाग्यो । कुनै पनि कुरा सफल या विफल हुन त्यतिबेलाको मानसिक अवस्था कस्तो छ भन्ने कुराले निकै महत्वपूर्ण भूमिका खेल्ने रहेछ ।

०००

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *