२०७८: अर्थतन्त्रमा इतिहासकै निरस वर्ष – Nepal Press
वर्ष समीक्षा

२०७८: अर्थतन्त्रमा इतिहासकै निरस वर्ष

खर्च अभावले १४ सय सडक आयोजना नै खारेज

काठमाडौं । वर्ष २०७८ नेपाली अर्थतन्त्रका लागि इतिहासकै सबैभन्दा निरस रह्यो । बढ्दो व्यापारघाटाले मुलुकको अर्थस्थित अहिले पनि संकटग्रस्त छ ।

केही समयअघि कोरोना महामारीका कारण पिल्सिएका नागरिकलाई अहिले देशको अर्थतन्त्रको भयावह स्थितिले थप आतंकित बनाएको छ । यतिसम्म कि, अहिले सरकारलाई कसरी पेट्रोलियम पदार्थको खपत घटाउने भन्ने सबैभन्दा ठूलो चिन्ताको विषय बन्न पुगेको छ । खर्च जोगाउनकै सरकारले दुई दिन सरकारी बिदा दिने तयारीसमेत गरेको छ । यसले अर्थतन्त्रको निरसस्थितिलाई प्रस्ट्याउँछ ।

खर्च अभावले १४ सय सडक आयोजना नै खारेज

यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेका १४ सयभन्दा बढी सडक आयोजना बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत यो सरकारले खारेज गरेको छ ।

नयाँ सरकार बनेपछि अघिल्लो सरकारले ल्याएको बजेटमा संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक ल्याएका थिए । प्रतिस्थापन विधेयकबाट नै १४ सय १० वटा सडक आयोजना बजेट नभएको भन्दै खारेज गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री ओलीले सडक पूर्वाधार कार्यक्रमतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमा बन्ने १४ सय १० वटा सडक शिलान्यास गरेका थिए । सडक नजोडिएका र सुधार गर्नुपर्ने सडक पनि सो आयोजनामा परेका थिए । तर अहिलेको सरकारले बजेट नभएको भन्दै आयोजना नै खारेज गरिदिएको छ ।

अर्थमन्त्री शर्माले ल्याएको बजेटमा आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्वतयारी नभएको निहुँ पारेर सडक योजना खारेज गरिएको थियो ।

कालो धनलाई वैध बनाउने नीति !

जनार्दन शर्मा अर्थमन्त्री भएपछि सिमेन्ट, स्टील उद्योग, पर्यटन र जलविद्युत्मा गरिएको लगानीको स्रोत नखोजिने व्यवस्था गरेका थिए । उक्त निर्णयको चौतर्फी विरोध भयो, भइरहेको छ । अर्थमन्त्रीको सो निर्णयको निजी क्षेत्रलेसमेत विरोध गरेको थियो । लगानी गर्दा स्रोत नखोजिने कुराले अवैध धनलाई वैध बनाउन बाटो खुल्ने धेरैको बुझाइ थियो ।
११ अर्ब बजेट कटौती, पहिलोपटक मुलुक बजेटविहीन

पूर्व अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटलाई नयाँ अर्थमन्त्री जनार्दन शर्माले प्रतिधिसभामा प्रतिस्थापन विधेयकबाट आकार घटाएका थिए । शर्माले ११ अर्बले बजेटको आकार घटाउँदै १६ खर्ब ३२ अर्बको नयाँ बजेट ल्याएका थिए ।

प्रतिस्थापन विधेयक संसदबाट पास नहुँदा नेपालको इतिहासमा नै पहिलोपटक एक हप्ता सरकार बजेटविहीन भएको थियो ।

त्यस्तै निरन्तर सेयर मार्केट ओरालो लाग्यो, लागिरहेको छ । ३२ सय अंक पुगेको सेयर घटेर २४१५ अंकमा झरेको छ ।

निलम्बित गर्भरनर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा ठूला सेयर कारोबारीहरुले मात्रै कर्जा लिएको भनेर ४ करोड र १२ करोडको सीमा तोकेका थिए । सेयर कर्जामा केही व्यक्तिको मात्रै कर्जा लिने प्रचलनलाई तोड्न ४–१२ सीमा लगाइएको थियो । २० अर्बसम्मको सेयर कारोबार हुने गरेकोमा अहिले २–३ अर्बको मात्रै सेयर कारोबार हुने गरेको छ ।

विवादमा गर्भनरको निलम्बन

अर्थमन्त्री जनार्दन शर्माले सरकारलाई सहयोग नगरेको आरोप लगाएर गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेका थिए । गोप्य सूचना चुवाएको भन्दै अर्थमन्त्रीले अधिकारीलाई निलम्बन गरेको दाबी गरेका छन् । तर अहिले स्वायत्त निकाय नेपाल राष्ट्र बैंकमा अर्थमन्त्रालय हात हालेको भन्दै सबैतिर विरोध भइरहेको छ ।
अर्थमन्त्रीले देशको अर्थतन्त्र खराब भएको बेला कुनै चासो नदिएको भन्दै निलम्बित गभर्नर अधिकारीले व्यापारघाटा कम गर्न वस्तु आयातमा कडाइ गरेका थिए ।

उद्योगमा विद्युत् अभाव, मूल्यवृद्धि अत्यधिक

केही सयमअघि कुलमान घिसिङले पत्रकार सम्मेलन नै गरेर नेपालमा विद्युत् समस्या खासै नभएको बताएका थिए । तर यस्तो स्थिति आयो कि, विद्युत् अभावका कारण १२ घण्टा मात्रै उद्योग चलाउनुपर्ने भयो ।

३ देखि ८ रुपैयाँ भारुमा खरिद भइरहेको विद्युत्को मूल्य बढेर प्रतियुनिट २० रुपैयाँ भारु पुगेपछि समस्या भएको थियो ।

त्यस्तै गत वर्ष सबै बस्तुको मूल्यमा नयाँ रेकर्ड नै कायम भएको छ । सुन, पेट्रोलियम पदार्थ, निर्माण समग्री र खाद्य वस्तुको मूल्य आकाशिएको छ । रुस र युक्रेनको युद्ध देखाएर विश्व बजारमा वस्तुको मूल्य वृद्धि हुनासाथ यहाँका उत्पादक र व्यापारीले स्वतः मूल्यवृद्धि गर्ने गरेका छन् ।

गत वर्ष पेट्रोलियम पदार्थको मूल्यमा नयाँ इतिहास बनेको छ । हाल पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ । यसभन्दा अघि बसैभन्दा धेरै मूल्य वृद्धि २०७० सालमा भएको थियो । सो समयमा पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुगेको थियो ।

निर्माण समाग्रीहरु स्टीट र सिमेन्टको मूल्य गतवर्ष आकाशिएको छ । ८० रुपैयाँ प्रतिकेजी रहेको स्टीलको मूल्य वृद्धि भएर १३५ रुपैयाँभन्दा माथि पुगेको छ भने सिमेन्टको मूल्य पनि प्रतिबोरा ५० रुपैयाँसम्म वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार घ्यू र तेलको मूल्यवृद्धि २६ प्रतिशतसम्म भएको छ । तरकारीको मूल्य १३.९६ प्रतिशत, दुग्धजन्य उत्पादनको मूल्य ११.३० प्रतिशत, अण्डाको मूल्य १० प्रतिशत र दालको मूल्यवृद्धि १०.३० प्रतिशतसम्म भएको छ ।

गत वर्ष सुनको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । सुन अहिले प्रतितोल १ लाख ५ हजार सम्म पुगेको छ । यसभन्दा अघि २०७७ साउनमा १ लाख ३ हजार रुपैयाँ पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *