चुनावमा सहभागिताबारे विवादका बीच प्रभावशाली नेताले छाडे विप्लवको साथ, माओवादीमा प्रवेश – Nepal Press

चुनावमा सहभागिताबारे विवादका बीच प्रभावशाली नेताले छाडे विप्लवको साथ, माओवादीमा प्रवेश

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दर्जनौ नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । बिहीबार खुमलटारमा आयोजित एक कार्यक्रममा एक कार्यक्रमका बीच विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, संविधान सभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका नेता, पूर्व जनमुक्ति सेना नेपालका बटालियन, कम्पनी कमाण्डर तथा प्लाटुन कमाण्डर लगायत गरेर दर्जनौ नेता तथा कार्यकर्ताले विप्लवको साथ छोडेका हुन् ।

पार्टी प्रवेश गर्नेमा केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’, मुक्ति, रामप्रसाद तिमिल्सेना ‘राप्ती’, पूर्व जिल्ला इन्चार्ज तथा ब्यूरो सदस्य पुकार, घाइते अपांग योद्धा संघका अध्यक्ष पर्वत, पूर्व ब्यूरो सदस्य तथा संविधानसभा सदस्य आवश्यकता, पूर्व ब्यूरो सदस्य क्षितिज, पूर्व बटालियन कमाण्डर बिहानी, पूर्व कम्पनी कमाण्डर करण, सोपान, रविन, मोहित, वकिल, जनक सिंह, पूर्व ब्यूरो सदस्य दोभान रहेका छन् ।

त्यसैगरी दलित मोर्चाका पूर्व अध्यक्ष कृष्ण विक, शिक्षक संगठनका रणबहादुर भण्डारी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य दीपक भण्डारी, पूर्व कम्पनी भिसी तुफान, संगम, राजकुमार, जिल्ला सदस्य भक्त वयक, पूर्व प्लाटुन कमाण्डर विष्णु तिमिल्सिना, सर्वजित रावल, ममता बोहरासहित कैलालीबाट १३ जना जिल्ला कमिटी सदस्य इश्वरी चन्द, गंगा सिंह, जानकी तिमिल्सिना, राजबहादुर बुढा, धादिङका पूर्व जिल्ला सदस्य बुद्ध गुरुङ, रसुवा पूर्व जिल्ला सदस्य चेरोङ तामाङ, विशेष फोर्स सदस्य देवा लामा, नेकपा माओवादी केन्द्र समाजवादीका पोलिटब्युरो सदस्य ज्ञानु बम र केन्द्रीय सदस्य हरी नेपाली रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सुदूरपरिश्चममा माओवादीको कोर टिम एक ठाउँमा आइपुगेको बताए । आफूले पनि विगतमा केही गल्ती गरेको स्वीकार्दै महाधिवेशनको दस्तावेजमार्फत त्यसलाई आत्मबोध गर्दै सुधारको बाटोमा अघि बढेको प्रचण्डले बताए । जनयुद्धमा सबै एक ढिक्का भएर लडेको भन्दै उपलब्धीको रक्षाका लागि अब फेरि एक ठाउँ भएर पुन: भिड्ने दिन आएको प्रचण्डको भनाइ छ ।

माओवादीबाट अलग्गिएर गएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’तिर लक्षित गर्दै प्रचण्डले भने, ‘पार्टी विभाजन हुनु सही थिएन । पार्टी फुटाएर प्रतिक्रियावादीलाई फाइदा पुर्‍याउने मात्र काम भयो । तपाईंहरू जाँदा मलाई त्यत्रो चित्त दुखेको थिएन । तर, जो नेतृत्व गरेर जाने थिए तिनीहरूसँग मेरो रिजर्भेसन थियो । उनीहरू क्रान्तिको चरित्रका थिएनन् ।’ प्रचण्ड हुने सपना बोकेर जानेलाई अहिले पार्टीमा फर्किन लाज भएको उनको भनाइ थियो ।

कार्यक्रममा नवप्रवेशी विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ ले क्रान्तिमा विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्धकै उपलब्धि खोस्ने शक्तिलाई लाभ पुग्ने आशंका उत्पन्न भएको बताए ।


प्रतिक्रिया

2 thoughts on “चुनावमा सहभागिताबारे विवादका बीच प्रभावशाली नेताले छाडे विप्लवको साथ, माओवादीमा प्रवेश

  1. याे सकिन लगेकाे पार्टीमा किन प्रवेश गरेका हाेलान। यसले महाअधिवेशनमा म अब सुध्रिन्छु भनेकाे फेरि छाेरी र ज्वाईलाई केन्द्रीय सदस्यमा मनाेनित गर्याे, पार्टीले सय ठाउँमा काँग्रेसलाई छाेडेर भए पनि चितवनमा छाेरीलाई उठाउँन लागिपरेकाे छ, भाइलाइ विज्ञकाे काेटामा , राष्ट्रिय सभाकाे सदस्य मनाेनित गरे । भनेपछि मजाले सुध्रिएछ । अब पनि याे चकटेकाे कुरा पत्याउनु ?

    1. डाकाका घरमा चोर पसेछन , केही नापिदैन । जय नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर