‘गठबन्धनका कारण महिलालाई नेतृत्वमा आउन झन् कठिन’ – Nepal Press
स्थानीय तह चुनाव

‘गठबन्धनका कारण महिलालाई नेतृत्वमा आउन झन् कठिन’

काठमाडौं । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । सबै स्थानीय तहमा राजनीतिक दलले उठाउने उम्मेदवारबारे चर्चा भइरहेको छ । र खासगरी प्रमुख वा अध्यक्ष पदमा पुरुषहरुकै नाम बढी चर्चामा छ । पाँचवर्ष उपप्रमुख भएका महिलाहरुले प्रमुखमा दाबी गरे पनि दलभित्र पुरुषकै चर्चा छ । अझ महिला जनप्रतिनिधिले गठबन्धनका कारण प्रमुख पदमा आउन कठिन हुने बताइरहेका छन् ।

प्रदेश नम्बर १ का १३७ स्थानीय तहमध्ये अघिल्लो निर्वाचनको समयमा एक स्थानीय तहबाहेक सबैतिर महिला उपप्रमुख भएका छन् । प्रमुख र उपप्रमुखमध्ये एक महिला अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था भए पनि तालमेल र गठबन्धनका नाममा दलहरुले कानुनसमेत छल्न दुई दलका फरक–फरक उम्मेदवारलाई उठाएर दुवै पदमा पुरुष नै आउने वातावरण बनाएका छन् ।

सत्ता साझेदार दलहरुले प्रदेशमा गठबन्धन गरेपछि कतै महिला नेतृत्वलाई पछि पारिने त होइन आशंका हुन थालेको छ । प्रदेशमा गठबन्धनका नाममा दलहरुले दुई दलका फरक–फरक उम्मेदवारलाई उठाएर दुवै पदमा पुरुष नै आउने वातावरण बनाएका कारण पनि महिला नेतृत्वलाई पछाडि धकेल्न मद्दत पुगेको महिला नेतृहरुले बताउन थालेका छन् ।

यसपटकको निर्वाचनमा पनि सम्भावित उम्मेदवारका नामको सूचीमा महिलाको नाम निकै कम सुनिने गरेको छ । त्यसमा मुख्य पदका लागि झन् महिलाको नाम र चर्चाको विषय नै बन्न सकेको देखिँदैन । क्रियाशील रहेका दलका केही महिना पहिला भएका अधिवेशनबाट नेतृत्व छनोट गर्दा कुनै पनि दलबाट पालिका प्रमुखमा महिलालाई जिम्मेवारी दिइएको छैन ।

महिलालाई नेतृत्व दिन हिच्किचाएका दलहरूले स्थानीय तहको नेतृत्वमा महिला ल्याउने सम्भावना कम देखिनु स्वभाविक रहेको एमाले नेतृ जसमाया गजमेरले बताइन् । ‘गत निर्वाचनमा जोजो निवाचित भएर आउनु भयो उहाँहरुको कुसलता र अनुभवका आधारमा पनि अबको निर्वाचनमा महिला नेतृत्वलाई स्थानीयतहको नेतृत्व दिन पर्छ’, उनले भनिन् ‘यसका लागि हरेक राजनीतिकदलहरुले सोच्नु पर्छ ।’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महेन्द्रा कुमारी सुब्बाले कतिपय स्थानमा गठबन्धनका कारण आफ्नो पार्टीको अस्तित्व रहने भएका कारण नेतृत्वमा महिला जानै पर्छ भन्ने नरहेको बताइन् । उनले भनिन् ‘कतिपय स्थानमा अहिलेको गठबन्धनका कारण पार्टीको अस्तित्व रहन्छ भने नेतृत्व खोज्नु मूर्खता हो ।’

यस्तै नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्या चम्पा कार्कीले पनि गठबन्धनका कारण महिला नेतृत्वलाई पछि पार्ने खतरा बढेको बताइन् । उनले भनिन् ‘राजनीतिकदलहरुले महिला नेतृत्वका लागि इमान्दारिता नदेखाएको खण्डमा महिला नेतृत्व पछिपर्ने आशंका छ ।’

यसपटकको निर्वाचनमा वडामा समेत एकाधबाहेक नेतृत्वमा महिला उम्मेदवारको चर्चा कम छ । महिलालाई उपमा चुप लगाउने प्रवृत्तिका विरुद्ध एकताबद्ध भएर जाने नेकपा (माओवादी केन्द्र) प्रदेश एक सदस्य करुण बस्नेतले बताइन् ।

अघिल्लो पाँचवर्षे कार्यकालले अबको समय महिलाले नेतृत्व गर्न सक्ने आँट महिलामा आएको नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य निर्मला श्रेष्ठले बताइन् । ‘गठबन्धनका कारण नेतृत्वमा महिलालाई पछाडि पार्ने भन्ने नहुने र हरेक दलहरुले इमान्दारिता नदेखाउँदा त्यस्तो हुनसक्ने आशंका पनि छ’, उनले भनिन् ‘हामीले जे गरिरहेका छौँ, त्यो नै नेतृत्व पाउनका लागि काफी रहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर