अर्घाखाँचीमा एमालेविरुद्ध सबै दल एक, तर एमाले झन् ‘कन्फिडेन्ट’ ! – Nepal Press
स्थानीय चुनाव

अर्घाखाँचीमा एमालेविरुद्ध सबै दल एक, तर एमाले झन् ‘कन्फिडेन्ट’ !

रुपन्देही । सत्ता साझेदार पाँच दलबीच आगामी स्थानीयत तहमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने बहस चलिरहँदा अर्घाखाँचीमा भने क्रियाशील सत्तारुढ दलले पहिलोपटक तीनै तहका निर्वाचनमा गठबन्धनबाटै लड्ने सम्झौता गरिसकेका छन् ।

तीनै तहका निर्वाचनबाट एमालेलाई जिल्लामा ‘क्लिन स्विप’ पार्ने भन्दै पाँच दलीय गठबन्धनले नीतिगत घोषणा मात्र गरेको छैन सिट बाँडफाँडमा समेत हस्ताक्षर गरिसकेको बताइएको छ ।

यहीं सुइको पाएर केही सातायता जिल्लाका अधिकांश कार्यक्रममा सहभागी एमाले केन्द्रीय सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले एमाले एक्लै गठबन्धनसँग लड्ने बताइरहेका छन् ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले लगातार निर्वाचन जित्दै आएको यो जिल्लामा अहिले एक निर्वाचन क्षेत्र रहेको छ । कांग्रेस सचेतक पुष्पा भुसाल, मानबहादुर विश्वकर्मा, रेवती भुसाल, डाक्टर रामबहादुर विसीलगायतका प्रभावशाली नेताहरु भए पनि रायमाझी एमालेमा लागेपछि गठबन्धनविना निर्वाचन जित्न नसकिने निष्कर्षमा उनीहरु पुगेका हुन् ।

माओवादी युद्धका प्रभावशाली नेता मानिएका रायमाझी एमालेमै रहेपछि अहिले उनी एमालेमै बलियो नेता मानिएका छन् । एमालेमा केपी ओलीको पक्षमा बोल्ने मात्रै होइन, माओवादी नेताहरुको खरो आलोचक बनेका छन् अहिले रायमाझी ।

माओवादीबाट अर्घाखाँचीमा २०६४, २०७० र २०७४ मा चुनाव जितेर उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय संहालेका रायमाझीलाई पार्टी छोडेर एमालेमा लागेकाले जसरी पनि हराउने पक्षमा लागेको छ माओवादी केन्द्र ।

एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले पनि एमाले र रायमाझीलाई हराउन जस्तोसुकै त्याग गर्न सकिनेगरी कांग्रेसलाई साथ दिने बताइसकेको छ । गठबन्धनविना आफ्नो अस्तित्व बचाउन नसकिने निचोडमा जिल्लाको तेस्रो शक्ति राष्ट्रिय जनमोर्चा पनि गठबन्धनमै सामेल भएको छ । जसपा पनि गठबन्धनमा सामेल भइसकेको छ ।

गत सोमबार गठबन्धनका ५ दलले जिल्ला सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरी वडादेखि केन्द्रसम्मका सबै निर्वाचनमा एक भएर जाने घोषणा गरिसकेका छन् ।

गठबन्धनको ठूलो दल नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठले लोकतन्त्र, संविधानभन्दा माथि गएर जनतामाथि कुठराघात गरेकोले जिल्लामा नेकपा एमालेलाई शून्य तहमा पुराउने तरिकाले साझा गठबन्धन बनेको बताए ।

‘एमालेलाई एक्लै हराउन नसक्ने सबैको निष्कर्षसहित यो गठबन्धन बनेको हो’, उनले भने, ‘प्रतिगमनलाई गठबन्धनले परास्त गरी जनताको सरकार बनेको मनन गरी आगामी तीनै तहका निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरिएको हो ।’

राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसीले मुलुक र देशप्रति आफूहरु प्रतिबद्ध रहेको र जनतामाथि हुने जुनसुकै किसिमका कुठराघातविरुद आन्दोलनमा आफूहरु प्रतिबद्ध रहेको बताउँदै आसन्न निर्वाचनमा मिलेर निर्वाचनमा जाने निर्णय भएको बताए ।

एकीकृत समाजवादीका अध्यक्ष रामबहादुर चौहानले गठबन्धनमा आसन्न निर्वाचनसम्म क्रियाशील रहने र जिल्लामा एमाले शून्य बनाउने दाबी गरे ।

नेकपा माओवादी केन्द्रकी नेतृ छमकुमारी खनालले अलोकतान्त्रिक, गैरसंवैधानिक गतिविधिविरुद विगत लामो समयदेखि आन्दोलन गरेकोले अब आउने सामाजिक राजनीतिक क्षेत्रका जुनसुकै संस्थामा गठबन्धन क्रियाशील रही आसन्न स्थानीय, संघीय, प्रदेशका सबै निर्वाचनसम्म जाने सहमति भएको बताइन् । जनता समाजवादी पार्टीका अध्यक्ष जिन्दग खड्काले सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाए ।

भागवण्डा मिलाउन सकस

तीन गाउँपालिका र तीन नगरपालिकासहित ६१ वडामा नै एमाले उम्मेदवारलाई हराउँदै संघ र प्रदेशको चुनावसम्म एक भएर जाने सत्तासाझेदार दलले समझदारी गरे पनि भागबण्डा मिलाउन भने चुनौती देखिएको छ । तीन पालिका प्रमुखमा माओवादी तथा कांग्रेसको दाबीले मिलाउन कठिन भएको गठबन्धनमा सहभागी एक दलका नेताले बताए ।

२०७४ को चुनावको मत परिणामअनुसार ६ स्थानीय तहमध्ये कांग्रेसले चार ठाउँमा एक्लै जित्नसक्ने दाबी गर्दै केही कांग्रेस नेता कार्यकर्ता भने गठबन्धन गरेर कांग्रेसलाई घाटा पुग्ने भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाइरहेका छन् ।

पहिलेभन्दा अहिले कांग्रेसको संगठन थप मजबुत भएकाले छत्रदेव र पाणिनिमा कांग्रेसले सहजै जित्ने, सन्धिखर्क र शितगंगा नगरपालिकामा एमालेसितको प्रतिस्पर्धामा झिनो मतान्तरमा प्रमुख–उपप्रमुख पद जित्न सकिने कांग्रेस वृत्तमा आंकलन छ । भूमिकास्थानमा बलियो संगठन भए पनि राजमोले एक्लै चुनाव लड्दा केही वडा जिते पनि पालिका प्रमुख–उपप्रमुख जित्नसक्नेमा ढुक्क छैन ।

गठबन्धनपछि कांग्रेसको मतबाट पालिकामा आफ्नो प्रतिनिधित्व हुने भन्दै अन्य चार दल उत्साहित छन् । ६ पालिकाका प्रमुख–उपप्रमुख गरी १२ पद र जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख गरी १४ पदमा आफ्नो उपस्थिति हुने भन्दै साना दल खुसी छन् ।

‘पालिकास्तरमा चैत ११ देखि १६ सम्म गठबन्धनका नेता पुग्छौं र एकताको सन्देश दिन्छौं,’ नेकपा एसका जिल्ला अध्यक्ष रामबहादुर चौहानले भने, ‘पालिका र वडा तहको सदस्यसम्म गठबन्धन हुन्छ । चैत ९ मा गठबन्धनको बैठक बसेर कुन पार्टीले कुन पालिकाको कुन पद लिने छलफल गरेर टुंग्याउँछौं ।’ सबै पालिकामा पाँच दलको प्रतिनिधित्व हुने गरी पद बाँडफाँड गरिने उनले बताए ।

अहिले कांग्रेसको दुई नगरपालिकामा प्रमुख, एक नगरमा उपप्रमुख र दुई गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष छन् । दुई नगरमा माओवादीका उपप्रमुख छन् । जिल्लाका ६१ वडामध्ये एमालेका २६, कांग्रेसका २४, माओवादीका ७ र राजमोका ४ वटा वडाध्यक्ष छन् ।

एमालेबाट निर्वाचित मालारानी गाउँपालिका–३ का वडाध्यक्ष जीवन चौहानको निधन भएपछि उपनिर्वाचनमा कांग्रेसका शोभाखर खनालले जितेका थिए । कोरोनाका कारण एमालेबाट निर्वाचित सन्धिखर्क नगरपालिका–८ का वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको निधन भयो । माओवादीबाट निर्वाचित मालारानी गाउँपालिका–६ का वडाध्यक्ष नारायण अर्याल र शितगंगा नगरपालिका–९ का वडाध्यक्ष भीम केसी अहिले एमालेमा छन् ।

गठबन्धनले माओवादी केन्द्रसहित साना दललाई भने फाइदा हुने बताइएको छ । २०७४ को स्थानीय तहमा कांग्रेस–माओवादी गठबन्धन भएको थियो । मालारानी गाउँपालिकामा भने एमालेले गठबन्धनलाई पराजित गरेको थियो । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीसहितका नेता त्यतिबेला माओवादीमै थिए । नेकपा विभाजनपछि रायमाझी र चन्द्रबहादुर खड्कासहितका प्रभावशाली जिल्ला नेता एमालेतिरै छन् ।

माओवादीबाट निर्वाचित भूमिकास्थान नगर प्रमुख रेशम थापा, मालारानी गाउँपालिका–६ का वडाध्यक्ष नारायण अर्याल र शितगंगा नगरपालिका–९ का वडाध्यक्ष भीम केसी अहिले एमालेमा छन् । पछिल्लो समय पार्टी प्रवेश कार्यक्रम लिएर रायमाझी गाउँ डुलेका छन् ।

ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेको दाबी एमालेको छ । विभाजन भएर नेकपा एसतिर खासै कार्यकर्ता नलागेकाले एमाले विगतमा भन्दा थप बलियो भएको एमाले जिल्ला अध्यक्ष पीताम्बर भुसालले बताए । ‘गठबन्धन भए पनि एमाले उम्मेदवारले सानदार रूपमा स्थानीय तहमा जित्छन्,’ उनले भने, ‘कांग्रेसले हार्ने डरले अरु दलको सहारा खोज्यो । जति दल भए पनि एमाले एक्लै भिड्न तयार छ ।’ चुनावमा एमालेलाई ‘क्लिन स्विप’ पार्छु भन्नु गठबन्धनका नेताको हतोत्साहित मानसिकता भएको उनको टिप्पणी छ ।

गत स्थानीय तहको निर्वाचनमा मालारानी गाउँपालिकामा गठबन्धनका पदम क्षत्रीलाई एमालेका बालकृष्ण आचार्यले ९ सय ९९ मतान्तरले पराजित गर्दै पालिका अध्यक्षमा विजयी भएका थिए । यहाँ माओवादीबाट निर्वाचित वडाध्यक्षसहित माओवादीका कार्यकर्ता एमालेतिर लागेकाले मालारानीमा गठबन्धनलाई जित्न कठिन छ । यहाँ एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो छ ।

छत्रदेवमा कांग्रेसका लेखनाथ पोखरेल अध्यक्ष र उपाध्यक्षमा तुल्सीदेवी श्रेष्ठले जितेका थिए । पोखरेलले एमाले उम्मेदवार ऋषिराम अधिकारीलाई १ हजार १ सय २ मतान्तरले पराजित गरेका थिए । पाणिनिमा कांग्रेसका अच्युत गौतम र उपाध्यक्षमा एमालेबाट लक्ष्मी गौतमले जितेका थिए ।

अहिले उपाध्यक्ष कांग्रेसमा प्रवेश गरेकी छन् । भागबन्डामा छत्रदेव र पाणिनिमध्ये एउटामा अध्यक्ष माग्नुपर्ने माओवादी वृत्तमा चर्चा छ । कांग्रेस सभापति श्रेष्ठले छत्रदेव र पाणिनि कांग्रेसले नछोड्ने बताए ।

गत निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट सन्धिखर्क नगरप्रमुखमा कांग्रेसका कमलप्रसाद भुसाल र उपप्रमुखमा माओवादीका ठाकुर विकले जितेका थिए । विक जिल्लामा माओवादीका शीर्ष नेतामा पर्छन् । उनी माओवादीको जिल्ला संयोजक र केन्द्रीय सदस्य हुन् ।

सदरमुकामको नगरपालिकामा प्रमुख पदमा माओवादीको दाबी छ । विकलाई नगर प्रमुखका रूपमा हेर्न थालिएको छ । गठबन्धनबाट शितगंगामा कांग्रेसका सूर्यप्रसाद अधिकारीले प्रमुख र माओवादीका टीका रेश्मीले उपप्रमुख जितेका थिए । यहाँ पनि माओवादीको प्रमुखमा दाबी छ । गठबन्धनबाट भूमिकास्थान नगर प्रमुख बनेका रेशम थापा अहिले एमालेमा छन् । भुमिकास्थानमा राजमोको जनाधार भएकाले प्रमुख पद आफूलाई दिनुपर्ने उसको दाबी छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज चेतनारायण आचार्यले सत्तारुढ दलहरु एमालेसँग अत्तालिएर गठबन्धन गरेपनि एमालेले सजिलै परास्त गर्ने दाबी गरेका छन् । ‘५ दल होइन, अरु खोजेर जति दल ल्याए पनि हामी एक्लै लड्न तयार छौं, कसको जनाधार के कति छ त्यो सबैलाई प्रष्ट छ’, आचार्यले भने’, ‘गठबन्धनलाई भाग नपुगेर चुनावअघि नै भाँडभैलो भएको खबर आउनेछ, कतिपय सूचना हामीले पाएका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर