कांग्रेस अधिवेशन: मधेसका चार जिल्लामा आज मतदान, कहाँ कस्तो छ प्रतिस्पर्धा ? – Nepal Press

कांग्रेस अधिवेशन: मधेसका चार जिल्लामा आज मतदान, कहाँ कस्तो छ प्रतिस्पर्धा ?

जनकपुरधाम । मधेस प्रदेशका चार जिल्लामा आज नेपाली कांग्रेसको नेतृत्व चयन गर्न मतदान हुँदैछ । नेतृत्व चयनमा सहमति नजुटेपछि धनुषा, सिरहा, सर्लाही र रौतहटमा मतदान हुन लागेको हो ।

धनुषामा त्रिपक्षीय प्रतिस्र्धा हुने भएको छ । यस जिल्लामा संस्थापन पक्षबाट सभापतिमा सन्तोष यादव, विमलेन्द्र निधि पक्षबाट योगेन्द्र पञ्जियार र डा.शेखर कोइराला पक्षबाट दिनेश प्रसैला यादव प्रतिस्पर्धामा उत्रेका हुन् । तीनै जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

उनीहरु तीनै जना प्यानल बनाएरै चुनावी मैदानमा उत्रेपछि प्रचारप्रसारमै ठूलो रकम खर्चेका छन् । स्थानीय नेताहरुका अनुसार निवर्तमान उपसभापति समेत रहेका सन्तोष सभापतिमा मजबुत देखिन्छन् । धनुषा निधिको गृहजिल्ला हो । त्यसैले उनले समर्थन गरेका उम्मेदवार पजियारको स्थिति पनि ठिकै छ ।

अर्का उम्मेदवार दिनेश संविधानसभा सदस्य हुन् । उनले पनि आफ्ना पक्षमा माहोल बनाएका छन् । उनको पक्ष पनि मजबुत देखिएकाले पहिलो चरणमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याएर विजयी हुने सम्भावना न्यून छ ।

सिरहामा पूर्वसभापति रामचन्द्र यादव र रामसुन्दर चौधरीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यादव संस्थापन पक्ष र चौधरी संस्थापन इतर पक्षका उम्मेदवार हुन् ।

चौधरी पनि संस्थापन पक्षमै थिए । तर कांग्रेस पूर्वकोषाध्यक्ष सितादेवी यादव चौधरीलाई सभापतिमा अगाडि सारेपछि अहिले संस्थापन पक्षमा विद्रोहको स्थिति बनेको छ । चौधरीको पक्षमा नेता प्रदिप गिरी, पदमनारायण चौधरी, अमीयकुमार यादव खुलेका छन् ।

उम्मेदवार यादव र चौधरी पक्षबीच चरम विवाद रहेकाले अधिवेशनको उद्घाटन अलग–अलग स्थानमा गरिएको थियो । यादव पक्षले गोलबजार र चौधरी पक्षले सिरहा सदरमुकाममा जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम गरेका थिए । तर पछि भएको सहमतिअनुसार आज बिहान ८ बजेदेखि गोलबजारमा मतदान हुनेछ ।

कांग्रेस सिरहाका नेता एवं प्रदेश सांसद नरेश यादवले सदस्यता वितरणमा रामचन्द्र यादवले धाँधली गरेकाले कडा प्रतिस्पर्धा हुने बताए ।

यता सर्लाही र रौतहटमा दुई–दुई उम्मेदवार मात्र उम्मेदवार रहेकाले पहिलो चरणमै परिणाम टुंगो लाग्नेछ ।
सर्लाही सभापतिका लागि संस्थापन पक्षबाट सुरेन्द्र सिंह र संस्थापनइतर पक्षबाट लक्ष्मण राय यादव चुनावी मैदानमा छन् । रौतहट सभापतिका लागि संस्थापन पक्षबाट सुनिल कुमार यादव (जितेन्द्र) र संस्थापन इतर पक्षबाट हृदयनारायण यादव प्रतिस्पर्धामा उत्रेका छन् । सर्लाही र रौतहटमा पनि संस्थापन पक्ष नै मजबुत रहेको नेताहरु बताउँछन् ।

पर्सा सभापतिमा जनार्दन सिंह क्षेत्री र महोत्तरी सभापतिमा नागेश्वर यादव निर्वाचित भइसकेका छन् । दुवैजना संस्थापन पक्षकै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर