एमसीसी प्रकरणः देश दुर्घटनाबाट जोगियो कि दुर्घटनातिर मोडियो ? – Nepal Press

एमसीसी प्रकरणः देश दुर्घटनाबाट जोगियो कि दुर्घटनातिर मोडियो ?

व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकै खुशी देखिए । एमसीसी पारित भएकोमा खुशी देखाउन सोमबार पत्रकार सम्मेलन नै गरेर दाहालले भने, ‘देश दुर्घटनाबाट जोगियो’ । दिनभर बानेश्वर चोकमा आफ्ना भ्रातृसंगठनहरुलाई ढुङ्गा हान्न लगाएर ‘नो एमसीसी’ भन्न लगाउने दाहाल एमसीसी पारित गर्दा खुशी किन भएँ ? भन्ने कुरा पत्रकार सम्मेलनमा ओकलेनन् ।

एकातिर कार्यकर्ताहरुलाई एमसीसीको विरोध गर्न लगाउने अर्कोतिर संसदमा त्यही कुरा पारित गराएर खुशी व्यक्त गर्ने प्रचण्डको बोलीलाई कसरी बुझ्ने ? एमसीसी मध्यरातमा पारित भएकै कारण मुलुक ‘देश दुर्घटनाबाट जोगियो’ भन्ने कमरेड दाहाल एमसीसी पारित नहुँदा देश कसरी ‘दुर्घटनाबाट हुनबाट जोगियो’ ? एमसीसी पारित नहुँदा मुलुक युक्रेन बन्दै थियो कि प्लायलेस्टाइन, भन्नु पर्दैन ?

पूर्वप्रधानमन्त्री, तपाइँकै भाषामा महान् गौरवशाली पार्टी हाँक्ने अध्यक्ष जस्तो व्यक्तिले यस्ता हावादारी गफ दिएर जनतालाई उल्लु बनाउन मिल्ला ? तीन दिनअघिसम्म ‘एमसीसी मुर्दावाद’ भन्दै कलेजका विद्यार्थीहरुलाई बवबरमहल–बानेश्वर सडक खण्डमा उतारेको होइन ? त्यसबेला मुलुक कुन संसारमा थियो । छिमेकी भारतले पेल्दै थियो कि चीनले ? कमरेड प्रचण्ड गणतन्त्र स्थापना हुन अघि तपाईँको नेतृत्वमा जनयुद्ध भइरहँदा ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ भनेर कोरिएका भित्ते लेखनले अझै पनि गिज्याइरहको छ भन्ने महसुस हुँदैन ।

पत्रकार सम्मेलन गरेरै ‘देश दुर्घटनाबाट जोगियो’ भनिरहँदा किन र के कारणले भनेर जवाफ दिनु पर्दैन ? गोर्खाली नारायणकाजीलाई विपक्षमा उभ्याएर आफू पक्षमा उभिन अलिकति शरम मान्नु पर्ने थियो होला नि कमरेड प्रचण्ड ! सायद ऊ बेला ५० लाख टाउकोको मूल्य तोक्ने तात्कालीन अनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग कुम जोडर सत्ताको रसस्वाद गर्दा आनन्द लागिरहेको होला ।

२०५२ सालतिर फर्कँदा सायद साम्यवाद र तानाशाहको तानावानाविरुद्ध वर्गसंघर्षको मोर्चामा उभिने प्रचण्ड र अहिले टाउकोको मूल्य तोक्नेसँग घाँटी जोडेर हिँड्ने पुष्पकमल दाहालको तन एउटै भएपनि मन फरक भयो कि भएन ? जनताले चाहेको जनयुद्ध र जनसंघर्षपछिको उपलब्धी अनि अमेरिकन साम्राज्यवाद विरुद्धको लडाइँ भनेको एमसीसी सहर्ष स्वीकार थियो ? कि २६ वर्ष अघि यहाँले चाल्नु भएको जनयुद्ध पाखण्ड थियो ? त्यसो होइन भने तपाईका माओवादी कार्यकर्ताहरु सडकमा एमसीसी विरोध गरिरहँदा तपाईँसमेत संलग्न सरकारले अश्रुग्याँस, लाठी बजार्नु पर्ने कारण के थियो त ? त्यही हो तपाईँले भन्नु भएको ‘देश दुर्घटनाबाट जोगियो’ । होइन भने कमरेड प्रचण्ड एमसीसीको ५० अर्बले विकासको गति लिन्छ वा मुलुकको आमूल परिवर्तन हुन्छ भन्नु साँच्चै नै तपाईले भने जस्तो ‘देश दुर्घटनाबाट जोगियो’ होइन ‘अब देश दुर्घटनतर्फ अगाडि बढ्यो’ ।

राष्ट्र, राष्ट्रियतालाई तिलाञ्जलि दिएर अमेरिकी साम्राज्यवादको अघि घुँडा टेक्ने पुष्पकमल दाहाल र नेपालमा राजतन्त्र अन्त्य गर्न हिँड्ने प्रचण्डको विचारमा के फरक आयो र ? आफ्नो स्वार्थपूर्ति गर्नका लागि हरियो रुखमा भोट हाल्न सक्ने तपाईँ, करिब दुईतिहाईको ऐतिहासिक कम्युनिष्ट सरकारलाई कमाउननिष्ट बनाउने तपाईँ अनि तपाईकै टाउकाको मूल्य तोक्ने शेरबहादुरसँग अंकमाल गर्ने तपाईमा फरक के–के छ, छुट्याउन आम नागरिक मात्र होइन तपाईकै जनयुद्धमा होमिएका कार्यकर्ताहरुलाई कठिन भएको छ ।

१० वर्षे जनयुद्ध अनि करीव १५ वर्षको लोकतान्त्रिक गणतन्त्रबाट आमनेपाली जनताले के पाए ? कमरेड प्रचण्डलाई सत्ताको स्वाद निकै मिठो लाग्न थालिसकेकाले होला– आफ्नैलाई पनि पराई ठान्छन् । बुहारीको रिसले छोरी कुट्ने उखान जस्तै जसरी हुन्छ ओलीलाई सिध्याउनु पर्दछ भन्ने सोच प्रचण्डमा पलाएको हो कि भन्न आंशका पनि पैदा भइरहेको छ । ओलीले समर्थन गरे त्यसको विपक्षमा अनि ओलीले विरोध गरे त्यसको समर्थनमा प्रचण्ड उभिने हो भने नेपालको कम्युनिष्टहरुले आफूलाई कसरी कम्युनिष्ट भएको स्वीकार गर्न स्कलान त ?

पुनः कमरेड उर्फ प्रचण्डलाई एउटै प्रश्न– एमसीसी पारित नभएको भए देश कस्तो दुर्घटनामा जाँदै थियो ?


प्रतिक्रिया

2 thoughts on “एमसीसी प्रकरणः देश दुर्घटनाबाट जोगियो कि दुर्घटनातिर मोडियो ?

    1. नेतालाई प्रश्न गर्न चाहि नछाडौ । तर यिनले कहिल्यै उत्तर दिदैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *