बुटवलको विरासत जोगाउन एमालेलाई चुनौती, मेयरका लागि १० जनाभन्दा बढी आकांक्षी – Nepal Press
स्थानीय चुनाव

बुटवलको विरासत जोगाउन एमालेलाई चुनौती, मेयरका लागि १० जनाभन्दा बढी आकांक्षी

रुपन्देही । लुम्बिनी प्रदेश मुकाम बुटवललाई नेकपा एमालेले आफ्नो किल्लाका रुपमा दाबी गर्ने गरेको छ । यहाँ २०७४ सालको चुनाव जितेको एमालेलाई अब वैशाखमा हुने चुनावमा विगतको विरासत जोगाउन कठिन हुने देखिएको छ । यससँगै चुनावमा एमालेले कस्तो उम्मेदवार अघि सार्छ भन्ने पनि चासोको विषय छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको गृहनगर तथा निर्वाचन क्षेत्र भएकाले पनि धेरै चासोमा पर्ने गरेको छ । यस क्षेत्रको राजनीतिक केन्द्रका रुपमा रहेकाले एमालेले मात्रै होइन नेपाली कांग्रेसले पनि यसलाई प्रतिष्ठाको केन्द्र बनाएको छ ।

करिब २ लाख जनसंख्या रहेको बुटवलको उपमहागरपालिकामा वैशाख ३० गतेका लागि घोषणा गरिएको निर्वाचनमा उम्मेदवारीका लागि स्थानीय नेताहरुले लबिङ थालिसकेका छन् ।

नेता माधवकुमार नेपाल पार्टीबाट अलग भएपछि बुटवलमा एमालेभित्र गुटगत राजनीति कम छ । तर युवा नेता राजु गुरुङ, बालकृष्ण चापागाईँ, हिराध्वज शाह, सरिता श्रीसलगायतका केही नेताहरु नेकपा एसमा लागेकाले एमालेको मत काटिने र आफ्नो जित सहज हुने आंकलन कांग्रेस नेताहरुको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारहरूलाई पराजित गरी एमालेबाट मेयरमा शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य निर्वाचित भएका थिए ।

यसपटक पनि कांग्रेस–माओवादीसहितका सत्तापक्षीय दलको गठबन्धन हुने अवस्था भएकाले एमालेलाई विगतको विरासत जोगाउने गरी लोकप्रिय उम्मेदवार छनोट गर्नुपर्ने चुनौती छ ।

मेयर सुवेदीले गत निर्वाचनमा २३ हजार २४९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेलराज पाण्डेलाई पराजित गरेका थिए । पाण्डेको मत २० हजार ८५१ थियो । मेयरमा २ हजार ३९८ मतको अन्तर थियो ।

तर उपप्रमुखमा आचार्य २५ हजार ३०१ मत ल्याएर विजयी भएकी थिइन् भने माओवादी केन्द्रका जगतबहादुर पोखरेलले १४ हजार ७९२ मत मात्र ल्याएका थिए । पोखरेल नेकपा विभाजनपछि एमालेमा रहेका छन् । एमालेको प्रदेश कमिटी सदस्य रहेका पोखरेल व्यवसायिक क्षेत्रमा लागेका छन् । १९ वटा वडा रहेको बुटवलका १६ वडामा एमालेले वडाध्यक्षमा विजयी भएको थियो । वडा नं १३, वडा नं १८ र १९ मा मात्रै कांग्रेसले वडाध्यक्ष जितेको थियो ।

बुटवल देशकै पुरानो नगरपालिका मध्येको हो । बुटवल २०१६ सालमा नगरपालिका बनेको थियो । बुटवलबाट एमाले उपाध्यक्ष पौडेलले २०६४, २०७० र २०७४ सालको निर्वाचनमा लगातार भारी मतका साथ निर्वाचित भएर ‘ह्याट्रिक’ गरेकाले एमालेले आफ्नो बलियो आधार क्षेत्र मानेको हो ।

पौडेलले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका नेता तथा हाल जसपा नेता डा. बाबुराम भट्टराई भारी मतका साथ पराजित गरेपछि बुटवल साँच्चै एमालेको किल्ला बनेको एमाले नेताहरुको दाबी छ ।

मेयरका लागि १० जनाभन्दा बढीको आकांक्षा

अघिल्लो निर्वाचनमा अन्तिमसम्म मेयरको दावी गरिरहेका, अहिलेका मेयर तथा उपमेयर र केही नयाँ अनुहार एमालेबाट आफ्नो दाबेदारी गरिरहेका छन् ।

बुटवलमा अहिलेका मेयर शिवराज सुवेदी पुनः दोहारिन चाहेको उनीनिकट नेताहरुले बताइसकेका छन् । एमालेका केन्द्रीय सदस्य तथा निर्वतमान जिल्ला अध्यक्ष सुवेदीले अहिले आफूले अगाडि सारेका योजनाहरू पूरा गर्न नेतृत्वमा दोहोरिन चाहेको उनीनिकट नेताहरूको तर्क छ ।

एमाले नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली नजिक मानिने उनलाई अघिल्लोपटक धेरैले उम्मेदारी पाउनमै शंका गरेका थिए । उपमहानगरपालिकामा केन्द्रीय सदस्यलाई उम्मेदार बनाउने नीति बनाएमा उनी दोहोरिनसक्ने आंकलन गरिएको छ ।

अघिल्लोपटकको रेसमा अन्तिमसम्म लडेका युवा नेता गोपाल राना र बाबुराम भट्टराईले अहिले आफूमाथि अन्याय नहुने बताइरहेका छन् ।

मेयरको आकांक्षीमा अहिलेका उपमेयर गोमादेवी आचार्य, एमाले रूपन्देहीका नवनिर्वाचित अध्यक्ष तेजेन्द्र केसी, एमाले केन्द्रीय सदस्य सावित्रा अर्याल, प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. इश्वर गौतम, जिफन्ट उपाध्यक्ष कमल गौतम, नेता सूर्यबहादुर भट्टराईले आफ्नो दाबेदारी पेस गरिरहेका छन् ।

यसअघि पनि मेयर उम्मेदवारको चर्चामा रहेर अन्तिम समयमा टिकट वितरण गर्दा सुवेदीले पाएपछि पछाडि हट्नुपरेकाले गोपाल रानाले आफ्नो दाबेदारी बलियो बनाएका छन् । एमाले नेता विष्णु पौडेलसँग निकट मानिने निवर्तमान जिल्ला उपसचिव, २ कार्यकाल युवा इन्चार्ज, उद्योग व्यवसाय विभागको २ कार्यकाल अनुभव बटुेलका राना आन्दोलनको अग्रमोर्चामा खटिने नेतामा पर्छन् । यसपटक आफू स्वतः बुटवलको मेयरको उम्मेदवार रहेको राना बताउँछन् । उनी पार्टीको जनसंगठनमा बलियो रहेको, युवा तथा जनजातिका मत तानेर जित्न सजिलो हुने उनी निकट नेताहरुको दावी छ ।

अर्का आकांक्षी बाबुराम भट्टराईले अब बुटवलको नेतृत्वका लागि पार्टीले आफूलाई अगाडि सार्नेमा विश्वस्त रहेका छन् । भट्टराई स्वास्थ्य क्षेत्रको पृष्ठभूमिका रहेपनि व्यापारिक क्षेत्रमा इमान्दार नेताको छवि बनाएका छन् । एमाले जिल्ला कमिटीहुँदै अहिले प्रदेश सदस्य रहेका उनले लुम्बिनी अस्पतालको अध्यक्ष रहँदा राम्रो काम गरेर पहिचान बनाएको र बजार क्षेत्रमा राम्रो प्रभाव रहेको उनी निकट नेताहरुको तर्क छ ।

नेपाल औषधि व्यवसायी संघको निवर्तमान केन्द्रीय अध्यक्ष, एमाले केन्द्रीय स्वास्थ्य विभागको पूर्वसदस्य हुन् । बुटवललाई नमूना शहर र एमालेको संगठनलाई थप सुदृढ बनाउने भट्टराई बताउँछन् । एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पार्टीले आफूलाई उपमहानगरको मेयरमा अगाडि सारे नेतृत्व लिन तयार रहेको बताउँछन् ।

अघिल्लोपटक जिल्ला अध्यक्षले नै बुटवलको मेयर पाएको तर्क गर्दै उनी निकटका नेताहरु केसीलाई अगाडि सार्नुपर्ने तर्क गरिरहेका छन् । अन्य नेताहरुबीच कसलाई अगाडि सार्ने भन्ने विषयमा टकराव बढे सबै क्षेत्रको सन्तुलन मिलाउन उनलाई अगाडि सार्ने आंकलन गरिएको छ ।

एमाले रूपन्देहीका जिल्ला सदस्य तथा युवा एवम् खेलकुद इन्चार्ज देवराज पोखरेलले एमालेबाट जितेका मेयर–उपमेयर कुनै पनि नेतालाई दोहोर्याएर नतिजा आफ्नो पक्षमा पार्न सजह नहुने बताउँछन् । ‘अहिले एमालेलाई कमजोर बनाउन सबै एकजुट भएको बेला नेताहरुले सुक्ष्म अध्ययन नगरी उम्मेदारीको चर्चा चलाउनु राम्रो होइन, दोहोरिएर उम्मेदारी दिँदा मत बढ्दैन’, उनले भने ।

मेयरसँगै उपमेयरको पनि दावेदारी उत्तिकै चर्चामा छ । अहिलेको उपमेयरले अघिल्लो पटक राम्रो मतान्तरले जितेकाले पनि त्यो प्रभाव कायम राख्न सन्तुलन मिलाएर उम्मदवारी दिइने संभावना छ ।

उपमेयरमा अघिल्लोपटक नै दाबेदारी पेश गरेकी सावित्रा अर्याल पहिलो सूचीमा छन् । तर सन्तुलन मिलाउँदा मेयरमा जनजातिले नपाए उपमेयरमा जनजाति उम्मेदवार महिला बनाउनुपर्ने आवाज उठेको छ । उपमेयरमा विद्युत् प्राधिकरणमा कर्मचारी युनियनमा रहेकी कल्पना थापा, नेतृ ज्ञानु केसीलगायतको चर्चा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर