एमसीसीमा सत्ताघटक दलकै मत तीनतिर, के होला आजको संसदमा ? – Nepal Press

एमसीसीमा सत्ताघटक दलकै मत तीनतिर, के होला आजको संसदमा ?

प्रमुख प्रतिपक्षी एमालेले विरोध जारी राख्ने

कैलाली । बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल गर्ने–नगर्ने विषयमा साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । संसद सचिवालयको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख नभए पनि नेपाली कांग्रेसले भने कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत एजेन्डा तय गर्ने रणनीति तयार गरेको छ ।

अमेरिकाले सम्झौतामा परिमार्जन हुन नसक्ने र फागुन १६ गतेसम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि कांग्रेसले आजकै बैठकमा टेबल गर्ने तयारी गरेको हो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले एमसीसी टेबल हुने समझदारी भएको भन्दै कार्यव्यवस्था परामर्श समितिमा सहमति गर्ने दाबी गरेका छन् ।
‘एमसीसी टेबल हुने समझदारी भएको छ’ उनले नेपाल प्रेसलाई भने, ‘सम्भावित कार्यसूचीमा छैन तर, हामी कार्यव्यवस्था परामर्श समितिमा राख्छौँ । त्यही सहमति हुन्छ ।’

प्रमुख सत्तारुढ नेपाली कांग्रेसको हिजो बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता संसदमा टेबल गर्ने र अनुमोदनको पक्षमा उभिने निर्णय गरेको थियो ।

सहमतिमा हुन्छ, नत्र हुँदैन- नेकपा एस

एमसीसी आजको बैठकमा टेबल गर्ने–नगर्ने भन्ने विषयमा सत्ता गठबन्धन भित्रै साझा धारणा बनिसकेको छैन । नेपाली कांग्रेसले एमसीसी टेबल गर्ने अन्तिम तयारी गरिरहेको बेला माओवादी र एकीकृत समाजवादी दलले भने अहिलेसम्म कांग्रेसलाई साथ दिइसकेको छैनन् ।

दुवै दलले अहिलेकै अवस्थमा एमसीसी पारित गर्न सकिने अवस्था नरहेको बताउँदै आइरहेका छन् । आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि कांग्रेसको प्रस्तावमा सहमति जनाउने वा विरोध गर्ने भन्नेबारे निर्णय भइसकेको छैन । बैठकबाटै टेबल गर्ने वा नगर्ने सहमति हुने एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए । ‘साढे ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक रहेको छ’ उनले भने ‘त्यहाँ सहमति भएका टेबल हुन्छ नभए टेबल हुँदैन ।’

सहमति गर्ने नगर्ने भन्ने विषयमा पनि अहिले सम्म केही सहमति नभएको उनले जनाकारी दिए ।

टेबल हुँदैन– माओवादी

यता माओवादी केन्द्रले एमसीसी टेबल हुन नसक्ने दाबी गरेको छ । ‘संसद् खुलेकै छैन कसरी एमसीसी टेबल हुन्छ ?’ माओवादी नेता लिलामणि पोख्रेलले भने, ‘बलजफ्ती एमसीसी टेबल गर्न हुँदैन ।’

उनले काँग्रेसले एमसीसी टेबल गर्ने प्रस्ताव ल्याए त्यस प्रस्ताव माथि छलफल हुनै नसक्ने बताए ।

‘त्यो विषयमा अहिले छलफल नै गर्न आवश्यक छैन’, उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा अहिले त्योमाथि छलफल नै अघि बढ्दैन ।’

माओवादीले एमसीसीबारे धारणा बनाउन दलको बैठक पनि बोलाएको छ । पोख्रेलले उक्त बैठकमा पनि यही निर्णय हुने विश्वास व्यक्त गरे ।

एमालेले विरोध जारी राख्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठक चल्न नलिने जनाएको छ । एमसीसी टेबल भए पनि नभए पनि बैठकमा विरोध जारी रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

‘अहिलेको अवस्थामा सदन चल्न सक्दैन’ उनले भने ‘हामीले हाम्रो विरोधलाई निरन्तरता दिन्छौँ ।’

कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमाले जाने वा नजाने भन्ने विषयमा पनि परामर्श भइरहेको उनले जानकारी दिए ।

‘साढे ११ बजे बन्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा हामी उपस्थिति हुने वा नहुने भन्ने विषयमा पनि छलफल चलिरहेको छ’ उनले भने ‘यस विषयमा पनि हामी केही समय पछि आधिकारिक धारणा सार्वजनिक गर्छाै ।’

अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका कार्य व्यवस्था परामर्श समितिको बैठकमा जाने नजाने भन्ने यकिन हुने उनले जानकारी दिए ।

जसपामा विवाद

एमसीसीबारे जसपा अध्यक्ष उपेन्द्र यादव माओवादी र एकीकृत समाजवादीसँग नजिक छन् भने संघीय अध्यक्ष बाबुराम भट्टराई कांग्रेससँग एकमत छन् । यो विषयले पार्टी विवाद चर्किएको छ । भट्टराई यथास्थितिमै एमसीसी अनुमोदनको पक्षमा छन् ।

भट्टराईले एमसीसीको विरोध गर्नेहरू गठबन्धनकै समर्थकसँग मिलेर सरकारमा बस्न नमिल्ने बताउँदै आइरहेका छन् । एमसीसीको समर्थक र विरोधी एकै गठबन्धनमा बस्नै नमिल्ने उनको तर्क छ ।

‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन–सरकारमा बस्न मिल्दैन’, भट्टराईले ट्वीटरमा भनेका छन्, ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुँदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर