गठबन्धन बैठकमा रामचन्द्रले भने- निकास दिन नसके हामीमाथि नै प्रश्न उठ्छ – Nepal Press

गठबन्धन बैठकमा रामचन्द्रले भने- निकास दिन नसके हामीमाथि नै प्रश्न उठ्छ

काठमाडौं । सत्तारुढ गठबन्धन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यका सबै संयन्त्र असफल बनाउन प्रयत्न भइरहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ ५ दलीय गठबन्धनको शीर्ष बैठकमा गठबन्धनका संयोजक पौडेलले संसद, सरकार र अदालतमा जारी गतिरोध अन्त्य गर्न नसक्ने हो भने गठबन्धनकै औचित्यमाथि प्रश्न उठ्ने बताएका हुन् ।

‘आज देशमा संसद चलेको छैन । अदालतमा पनि गतिरोध कायमै छ । सरकारले एउटा कानून संशोधन गरेर संसदबाट पास गराउन सकेको छैन । यस्तो अवस्थामा यो राज्यव्यवस्था नै असफल हुने खतरा मैले देखेको छु’, बैठकमा पौडेलले भने ।

उनले मुलुकलाई निकास दिन नसक्ने हो भने गठबन्धनकै औचित्यमाथि प्रश्न उठ्नेसमेत बताए । ‘राज्यको कुनै पनि निकायले ठीकठाक काम गर्न नसकेपछि यो व्यवस्थालाई नै असफल बनाउन खोज्नेहरु क्रियाशील भइरहेको देखिन्छ । यसबारे गठबन्धनले गम्भीर समिक्षा गरेर निकास नखोज्ने हो भने त गठबन्धनमाथि नै प्रश्न उठ्छ नि’, बैठकमा पौडेलले भने ।

उनले संविधान र व्यवस्था अनुकुल हुनेगरी मुलुकलाई निकास दिनुपर्ने बताए । निर्वाचनबारे गठबन्धनभित्र फरक–फरक धारणा व्यक्त भइरहेका बेला पौडेलको यस्तो भनाइ आएको हो ।

शनिबारको गठबन्धन बैठकमा वैशाखमै स्थानीय निर्वाचन गर्नेबारे छलफल भएका थियो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा वैशाखमै स्थानीय निर्वाचन गर्न सकरात्मक भएपछि शीर्ष नेताहरु निर्णय लिनैपर्ने दबाबमा रहेका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी स्थानीय निर्वाचन सार्ने वा तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने पक्षमा रहँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर