कर्णाली सरकारमा बढ्दो किचलो, सरकारबाट बाहिरिने मुडमा माओवादी – Nepal Press

कर्णाली सरकारमा बढ्दो किचलो, सरकारबाट बाहिरिने मुडमा माओवादी

सुर्खेत । सरकारमा सहभागी दलबीच कुरा नमिल्दा कर्णाली प्रदेशमा मन्त्रिमण्डल विस्तार अलमलमा परेको छ । नेकपा माओवादी केन्द्रले सरकार विस्तारका लागि ठूलो दलको हैसियतमा आफूले पहल गर्ने निर्णय गरेको चार दिन भइसक्दा दलहरुबीच कुरा नमिल्दा कुनै प्रगति भएको छैन ।

सत्ताघटक दलबीच कुरा नमिल्दा माओवादी केन्द्र सरकारबाट बाहिरिने सम्भावना पनि बढ्दै गएको छ । दुई दलबीचको सहमतिअनुसार नै कर्णालीमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बनेका छन् । तर मुख्यमन्त्री भएको तीन महिना पुग्नै लाग्दा पनि कर्णाली सरकारले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री जीवनबहादुर शाही र पूर्वमुख्यमन्त्री एवम् माओवादी नेता महेन्द्रबहादुर शाहीबीच तीन महिनामा एकपटक मात्रै भेट भएको छ ।

मुख्यमन्त्री शाही, एकीकृत समाजवादीका उपमहासचिव एवम पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, नेकपा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबीच बिहीबार राति पहिलोपटक भेट भएको हो ।

मुख्यमन्त्री शाहीले कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको समयमा नेकपा माओवादीले चार मन्त्रालयमा दाबी छोडेको छैन । चार मन्त्रालयमा माओवादले दाबी गरे पनि सहमति नभएका कारण मन्त्रालयको भागवण्डा गरिदिन शीर्ष नेताहरुलाई पत्राचार पनि गरिसकेको बुझिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्टलाई सपथ खुवाउनुपूर्व कांग्रेस र माओवादीबीच लिखित सहमति पनि भएको थियो । ‘शीर्ष तीन नेताले निर्देशन दिएबमोजिम मन्त्रिमण्डल विस्तार गर्ने लिखित सहमति अनुसार नै विन्दमानले सपथ खाएका हुन्’ माओवादी स्रोत भन्छ, ‘तर अहिले जसरी सत्तारुढ दललाई पेलेर जाने योजना बनाइरहेका छन् । यो माओवादीलाई मान्य हुँदैन ।’

शाहीले मुख्यमन्त्री पद सबैको साझा भएको भन्दै थप दुई मन्त्रालय पाउनुपर्ने माग गर्दै आइरहेका छन् भने सबैभन्दा ठूलो, कार्यकारीी भूमिका मुख्यमन्त्रीको हुने भन्दै माओवादी केन्द्रले थप एक मन्त्रालय काँग्रेसले लिनुपर्ने माग गर्दै आइरहेको छ ।

त्यस्तै राजनीतिक नियुक्तिमा पनि काँग्रेसले सत्तारुढ दलसँग कुनै सल्लाह नगरेको माओवादीको भनाइ छ । ‘यस्तै हो भने हामी सरकारबाट बाहिरिने सम्भावना बढदै गएको छ’ माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले नेपालप्रेससँग भने, ‘बरु हामी सरकारलाई बाहिरै बसेर भएपनि सहयोग गर्छौं ।’ उनले एक सिट जितेको काँग्रेसले सबैभन्दा ठूलो दल माओवादीलाई पेल्न खोजेको शंका भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर