राष्ट्रियसभा चुनावः सुदूरपश्चिममा लोसपाको ४८ मतभार कता ? – Nepal Press

राष्ट्रियसभा चुनावः सुदूरपश्चिममा लोसपाको ४८ मतभार कता ?

कैलाली । सुदूरपश्चिमसहित सातै प्रदेशमा आगामी १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

एमाले एक्लै निर्वाचनमा होमिएको छ भने अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । एमालेले महिलातर्फ कैलाली कि सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको छ ।

गठबन्धनका तर्फबाट भने सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका एक–एक जना उम्मेदवार हुने भएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहले उम्मेदवारी दर्ता गरेकी छन् ।

यहाँ ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।

प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टीका एक र लोकतान्त्रिक समाजवादी पार्टीको एक जना प्रदेशसभा सदस्य छन् ।

मतभार अनुसार प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा बलियो छ । यहाँ एकीकृत समाजवादीको मतभार ६७२ छ । त्यस्तै माओवादी केन्द्रको ६२४, नेपाली काँग्रेसको ५७६ र एमालेको ५२८ मतभार छ । राजपा र लोसपाको ४८–४८ मतभार छ ।

प्रदेशसभा सदस्यमा तेस्रो स्थानमा रहेको काँग्रेस स्थानीय तहमा भने पहिलो स्थानमा छ । १७५ मतदातामध्ये सुदूरपश्चिममा काँग्रेसका ७४ मतदाता रहेका छन् भने एमालेका ७१ जना छन् । त्यस्तै माओवादीका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन् ।

स्थानीय तहको काँग्रेसको सबैभन्दा धेरै मतभार छ । काँग्रेसको मतभार १ हजार ३ सय ३२ छ भने एमालेको १ हजार २ सय ७८ छ । माओवादीको ३ सय ६ रहेको छ भने एकीकृत समाजवादीको मतभार २ सय ३४ छ ।

स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा काँग्रेस सबैभन्दा बलियो छ । काँग्रेसमा प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा १ हजार ९ सय ८ हुन आउँछ । त्यस्तै एमालेको १ हजार ८ सय ४ छ भने माओवादीको ९ सय २७ र एकीकृत समाजवादीको ९ सय ६ कुल मतभार छ ।

लोसपाको ४८ मतभार कता ?

सुदूरपश्चिम प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका एकजना मात्रै सांसद छन् । जुन पार्टीले राष्ट्रिय सभामा उम्मेदवार उठाएको छैन । लोसपाका सांसद कृष्ण चौधरीले राष्ट्रियसभा निर्वाचनमा कता मतदान गर्लान् त ? उनी अहिलेसम्म कसलाई मतदान गर्ने भन्नेबारे यकिन भइनसकेको बताउँछन् ।

‘अझै केही दिन बाँकी छ । अहिलेसम्म कता मतदान गर्ने भन्ने केही योजना छैन’ उनले भने ‘१२ गते नै थाहा होला ।’

यसअघि मधेस प्रदेशमा एमाले र लोसपाबिच गठबन्धन भइसकेको छ । तर, सुदूरपश्चिम प्रदेशमा भने अझैसम्म लोसपासँग कसले गठबन्धन गर्ने भन्नेबारे छलफल सुरु भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर