श्रम सम्झौतापछि पहिलोपटक ९९ नेपाली कामदार आज इजरायल उड्दै – Nepal Press

श्रम सम्झौतापछि पहिलोपटक ९९ नेपाली कामदार आज इजरायल उड्दै

काठमाडौं । रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायलतर्फ उड्दैछन् । वैदेशिक रोजगार विभागका अनुसार आज राती ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना इजरायलतर्फ जान लागेका हुन् ।

विभागका निर्देशक डम्बरबहादुर सुनुवारले पहिलो उडानस्वरुप आज उडान हुन लागेको बताए । जनवरीको २९ र फेब्रुअरी १ तारिकका दिन दुई उडान हुने उनले जानकारी दिए । १२५ जनालाई उडाउने तयारी भएपनि २६ जनामा कोरोनाभाइरस संक्रमण भएपछि संख्या घटेको उनले जनाए ।

दोस्रो चरणमा १६२ जना इजरायल उड्ने भएका छन् । माघ १५ र १८ गते कामदार इजरायल उड्ने तय भएको विभागका निर्देशक सुनुवारले जानकारी दिए ।
नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो ।

सम्झौताको २५ हप्तामा नेपाली कामदारलाई इजरायल उड्ने टुंगो लागेको हो । इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा हालसम्म ९९४ कामदारसँग सम्झौता भइसकेको छ । विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको थियो । त्यसमा इजरायलले ११ सय ७५ जना छनोट गरेको जनाइएको छ ।

इजरायल प्रस्थान गर्ने श्रमिकको अवधी पाँचवर्षको हुनेछ । तर, वर्षेनी भिसालाई नवीकरण गर्नुपर्ने हुन्छ । नेपालबाट जाने श्रमिक १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर