रुपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप – Nepal Press

रुपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

रुपन्देही । कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा केन्द्र बनेको रुपन्देहीमा अहिले खोप लगाउने संख्या बढेको छ ।

रुपन्देहीमा लक्ष्यभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । दक्षिणी तराईका पालिकाभन्दा उत्तरी क्षेत्रका पालिकामा लक्ष्यभन्दा बढी खोप लगाइएको हो ।

जिल्लामा १८ वर्ष माथिका कुल जनसंख्या ७ लाख १४ हजार मध्ये ६ लाख ३२ हजारले पहिलो मात्रा र ४ लाख ९१ हजारले दोश्रोमात्र खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म रुपन्देहीमा ८८ प्रतिशतले कोरोनाको पहिलो खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पुस मसान्तसम्म रुपन्देही जिल्लामा ८८ प्रतिशतले पहिलो चरणको खोप लगाएका छन् । यो लक्ष्यभन्दा धेरै हो ।

सरकारले पुस मसान्तसम्म ६० प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेको थियो हामी ८८ प्रतिशतभन्दा माथि पुगेका छौं, उनले भने ।

अधिकृत शर्माले अब बाँकी १४ प्रतिशतलाई प्रत्येक पालिकामा हप्तामा २ दिन खोप अभियान सञ्चालन गर्ने वैदेशिक रोजगारीमा जानेलाई पनि खोप लगाउने व्यवस्था मिलाएको बताए ।

माघ १५ सम्म रुपन्देहीमा १८ बर्षमाथिका सबैले पुर्ण मात्रा खोप लगाइसक्ने लक्ष्य अनुसार तीब्र रुपमा खोप अभियान सञ्चालन भैरहेको बताउँदै उनले रुपन्देहीमा बसाईसराई गरी आएका नयाँ बासिन्दा र अध्ययन, रोजगारीलगायतका विभिन्न अवसरका लागि अस्थायी रुपमा बस्ने बासिन्दाको कारण लक्षितभन्दा बढीले खोप लगाएको अधिकृत शर्माले जानकारी दिए ।

रुपन्देहीमा १२ बर्षदेखि १७ बर्षसम्मका बालबालिका १ लाख २२ हजार रहेको र अहिलेसम्म २१ सय ४४ बालबालिकालाई फाइजर र २१ हजार बालबालिकालाई मोर्डना खोप लगाइसकेको छ ।

अहिले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण समुदायस्तरमा फैलिएको र यो विगतका भेरियन्टभन्दा बढी संक्रामक भएकोले खोप लगाएका भन्दा नलगाएका व्यक्तिलाई बढी प्रभावित बनाउने भएकोले खोपलाई विशेष महत्वका साथ खोप अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले बताए ।

माघ २ गतेदेखि बुस्टर डोजको खोप लगाउने कार्यक्रम भएपनि रुपन्देहीमा केही दिनपछि मात्र प्राथमिकताका आधारमा अगाडि उनले जानकारी दिए ।

रुपन्देहीमा पहिलो चरणमा ३० हजारलाई बुस्टर डोजको खोप लगाइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर