शाखा अधिकृतको नतिजा सार्वजनिक गरेर मात्र विज्ञापन खोल्न लोक सेवा आयोगको ध्यानाकर्षण – Nepal Press

शाखा अधिकृतको नतिजा सार्वजनिक गरेर मात्र विज्ञापन खोल्न लोक सेवा आयोगको ध्यानाकर्षण

काठमाडौं । राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतको पदपूर्ती सम्बन्धी कार्यतालिका २०७६ र २०७७ को विज्ञापनले पूर्णता नपाएसम्म नयाँ विज्ञापनको प्रकृया अगाडि नबढाउन लोक सेवा आयोगलाई पीडित विद्यार्थीले माग गरेका छन् । आयोगले दुइ वर्ष अघि गरेको विज्ञापनको अन्तरवार्ता लिएर पनि अहिलेसम्म सिफारिश नगरेकोप्रति उक्त समस्याबाट प्रभाविक विद्यार्थीले आइतबार लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउदैँ यस्तो माग गरेका हुन् ।

लोक सेवा आयोगले दुइ वर्ष अघि २०७६ मंसिर २५ गते प्रकाशन गरेको शाखा अधिकृतको विज्ञापनबमोजिम परिक्षार्थीले लिखित परीक्षा उत्तीर्ण भई अन्तर्वार्ता समेत दिएको तीन महिना पुरा भएर ४ महिना लागिसकेको छ । यस अघिको नतिजा सार्वजनिक नगरेर विद्यार्थीको ज्येष्ठता र वृत्ति विकासमा प्रतिकुल असर पर्नुका साथै परीक्षार्थीलाई मानसिक तथा आर्थिक रुपमा समेत गम्भिर असर पुग्ने पीडित विद्यार्थीका तर्फबाट आयोगका अध्यक्ष ध्याकर्षण पत्र बुझाउदैँ केदार खतिवडाले बताए ।

अहिलेकै अवस्थामा विज्ञापन प्रकाशित गरिए पदपूर्तीका लागि प्रकाशित विज्ञापनमाथि विश्वसनीयता गर्न सकिने अवस्था नहुने र जिम्मेवार निकायले एउटा जिम्मेवारी पुरा नगर्दै सोही कार्य पटक–पटक गर्नु विवेकसम्मत, विधिसम्मत र उपयुक्त नहुने खतिवडाको तर्क छ । २०७६ र २०७७ सालमा प्रकाशित विज्ञापनबमोजिम बढुवा तर्फको पदपुर्ति भइसकेको भए पनि खुला तथा समावेशी समूहको २०७६ सालको अन्तिम नतिजा प्रकाशन अहिलेसम्म भएको छैन् ।

२०७७ सालको दोस्रो चरणको परीक्षा नै हुन नसकेको अवस्थामा २०७८ सालको विज्ञापन प्रकाशन गर्दा लोक सेवा आयोगले बढुवाका उम्मेदवारलाई मात्र हित हुनेगरी कार्य गरेको देखिने जनाइएको छ । यसले लोक सेवा आयोगको प्रचलित समानताको सिद्धान्त विपरीत हुन जाने पनि पीडित परिक्षार्थीको भनाई छ ।

लोक सेवा आयोगको विगतदेखिको परम्परा अनुसार नयाँ विज्ञापन हुनुभन्दा अगाडि नै अन्तिम योग्यताक्रम प्रकाशन गर्ने अभ्यास रहेको छ। आयोगको वार्षिक कार्यतालिकाबमोजिम यहि मंसिर अन्तिम बुधबार शाखा अधिकृत अप्राविधिक तर्फको विज्ञापन गर्ने कार्यतालिका छ । यसअघि २०७७ सालमा प्रकाशित विज्ञापनको दोस्रो चरणको परीक्षा पनि बाँकी रहेको छ । एउटा परिक्षाको नतिजा नआउदैँ पटक–पटक त्यसै पदका लागि परीक्षा लिँदा उम्मेदवारमाथि पर्ने आर्थिक क्षति तथा मानसिक तनावप्रति आयोगले सजक हनुपर्ने पीडित विद्यार्थीको माग छ ।

लोक सेवा आयोगको गत भदौ २८ गतेको सूचनाबमोजिम शाखा अधिकृत अप्राविधिक पदको योग्यताक्रम प्रकाशन तथा सिफारिस स्थगित भइसकेको छ । उक्त सूचना प्रकाशन भए पनि लोक सेवा आयोगले अहिलेसम्म नतिजा प्रकाशन नगरेको र समस्या समाधानका लागि कुनै पहल नगरेको पीडित परिक्षार्थीको गुनासो छ ।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको केही पदसंख्या सम्मको हकमा परेको विवादलाई आधार बनाएर सोही सेवाका बाँकी पद तथा अन्य सेवा तथा समूहमा हुने सिफारिस समेतलाई लामो समय स्थगित राख्नु लोक सेवा आयोगको गरिमा र उम्मेदवारको हितको दृष्टिले समेत विवेकशील कदम नभएको पीडित विद्यार्थीको ठहर छ । लोक सेवा आयोगको काम माग पदसंख्याका आधारमा उम्मेदवार सिफारिस गर्नु मात्र रहेको तर के कति उम्मेदवारलाई नियुक्ति दिइ पदस्थापन गर्ने वा नगर्ने भन्‍ने विषय जिम्मेवार मन्त्रालयको दायित्व भित्र पर्ने भएकाले यस सम्बन्धमा कुनै अन्यौलता भएमा जिम्मेवार निकायसँग समन्वय गरी यथाशीघ्र निकास निकाल्न पनि पत्रमार्फत ध्यानाकर्षण गरिएको छ ।


प्रतिक्रिया

One thought on “शाखा अधिकृतको नतिजा सार्वजनिक गरेर मात्र विज्ञापन खोल्न लोक सेवा आयोगको ध्यानाकर्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर