राप्रपाले परिवर्तनको गतिलाई रोक्ने चेष्टा नगरोस् : माधव नेपाल (भिडिओ) – Nepal Press

राप्रपाले परिवर्तनको गतिलाई रोक्ने चेष्टा नगरोस् : माधव नेपाल (भिडिओ)

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको गतिलाई रोक्ने चेष्टा नगर्न राप्रपासँग आग्रह गरेका छन् ।

राप्रपाको महाधिवेशन उद्घाटनमा बोल्दै अध्यक्ष नेपालले राप्रपाले राष्ट्रियताको एजेण्डालाई अगाडि बढाउनुपर्ने तर परिवर्तनलाई रोक्ने चेष्टा गर्न नहुने बताए । ‘राप्रपाले उठाएको राष्ट्रियताको एजेण्डालाई उठाइराखोस् तर परिवर्तनको गतिलाई रोक्ने काम नगरोस् । इतिहास बदल्ने चेष्टा नगरौं, अघि बढिसकेको इतिहास अब पछाडि जान सक्दैन’, नेपालले भने ।

उनले राजनीतिक परवर्तनको मूल कारण आन्तरिक हुने भन्दै सबै परिवर्तनमा विदेशी शक्तिलाई दोष दिन नहुने बताए । ‘परिवर्तनको मूल कारण आन्तरिक हुन्छ । परिवर्तनको मूल कारणलाई बाह्य ठानिनु हुँदैन । विदेशीहरूले हस्तक्षेप कति गरे, कति गरेनन् या अहिले कति गरे सबै थाहा छ । यसमा हामी सतर्क हुनैपर्छ । सतर्क भएनौ भने विदेशीको जालमा पर्छौं’, नेपालले भने ।

उनले नेपालमा देशभक्त, लोकतान्त्रिक र परिवर्तनकारी गरेर ३ खालको राजनीतिक चरित्र रहेको बताए । एकीकृत समाजवादीले ती तिनवटै विचारलाई अगाडि बढाउने उनले बताए ।

यथास्थितिमा रहने वा पछाडि फर्कने कुरा राष्ट्रहितमा नहुने भन्दै नेपालले परिवर्तनको पक्षमा सबै उभिनुपर्ने बताए । राजनीतिक दलहरूले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई सबैभन्दा बढी महत्व दिनुपर्ने भन्दै नेपालले गफ दिने नेता र पार्टी अब काम नलाग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर