गृहमन्त्रीको आडमा कार्यकर्ता कुटिएको भन्दै रुपन्देहीमा पुन: चुनाव गर्न पौडेल पक्षको माग – Nepal Press

गृहमन्त्रीको आडमा कार्यकर्ता कुटिएको भन्दै रुपन्देहीमा पुन: चुनाव गर्न पौडेल पक्षको माग

रुपन्देही । नेपाली कांग्रेसको शुक्रबार सम्पन्न अधिवेशनको मतगणनामा देउवा समूहका कार्यकर्ताबाट पौडेल समूहका कार्यकर्ता कुटिएपछि बाँकी निर्वाचनको कार्यक्रममा सुरक्षाको चिन्ता हुन थालेको छ ।

रुपन्देही का १० वटा प्रदेश सभाका निर्वाचन क्षेत्रमध्ये ९ क्षेत्रको मतगणना सकिएर नतिजा आइसकेको अवस्थामा कुटपिट भएको थियो । क्षेत्र नम्बर ३ को (क) मा  कार्यकर्ताबीच कुटाकुट भएपछि बाँकी निर्वाचन कार्यक्रममा सुरक्षा अन्योल भएको नेताहरूले बताएका छन् ।

गृहमन्त्री बालकृष्ण खाणकै भाइ जिल्ला सचिव रामकृष्ण खाणको योजना र निर्देशनमा कुटपिट भएको पौडेल समूहको आरोप छ । अन्य निर्वाचनमा निष्पक्षता र सुरक्षाको गम्भीर प्रश्न उठेको उनीहरूले टिप्पणी गरेका छन् ।

कुटपिटबाट घाइते भएका नेता शैलेस पन्त लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत छन् । शनिबार पन्तसहित ५ जना सामान्य घाइते भए । प्रदेशसभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिएपछि सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गरेर मतगणनास्थलमा धावा बोलेको उम्मेदार श्रेष्ठ बताउँछन् ।

संस्थापन पक्ष हार्ने निश्चित भएपछि गृहमन्त्रीको आडमा उनका भाइको निर्देशनमा तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङ्ग (सेते) का समूहबाट आक्रमण भएको दाबी उनको छ ।

पौडेल पक्षले फेरि चुनावको माग गरेको छ । तर, संस्थापन पक्षका नेताहरू भने आरोप स्वीकार्न तयार छैनन् । कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले दोषी देखिएका कार्यकर्तालाई अनुशासनको कारबाही हुने बताए । उनले घोषणा भएका चुनावी कार्यक्रम नरोकिने तर भएका गल्ती कुन पक्षबाट भए समीक्षा गरेर योजना बनाउने बताए ।

शनिबार कुटपिटपछि रोकिएको पुनः मतगणना गरिएको छ । सो क्षेत्रमा देउवा समूह विजयी भएको निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर