केनको ह्याट्रिकमा इङ्ल्यान्ड विजयी, पोल्यान्डको छैठौं जित – Nepal Press

केनको ह्याट्रिकमा इङ्ल्यान्ड विजयी, पोल्यान्डको छैठौं जित

काठमाडौं । कप्तान ह्यारी केनको ह्याट्रिकप्रेरित इङ्ल्यान्डले सन् २०२२ मा कतारमा हुने फिफा विश्व कप अन्तर्गत युरोपेली छनोटमा शानदार जित निकालेको छ । वेम्वली स्टेडियममा शुक्रबार राति भएको खेलमा केनको ह्याट्रिकसँगै थ्री लायन्सले अल्वानियामाथि ५-० गोलको फराकिलो जित निकालेको हो ।

इङ्ल्यान्डको जितमा कप्तान केनले १८, ३३ र ४५औं मिनेटपछि थपिएको १ मिनेटमा एक गोल गर्दै ह्याट्रिक पूरा गरे । ह्यारी म्याग्युएरले नवौं तथा जोर्डन हेन्डरसनले २८औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै इङ्ल्यान्डले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ । समूह आईको अर्को खेलमा पोल्यान्डले १० खेलाडीमा सीमित बनेको एन्डोरालाई ४-१ ले पराजित गरेको छ ।

पोल्यान्डको जितमा कप्तान रोबर्ट लेवान्डोस्कीले दुई तथा कामिल जोविएक र अर्काडिअस मिलिकले १/१ गोल गरे । एन्डोराका मार्क भालेसले १ गोल फर्काए ।

एन्डोराका रिकार्ड फर्नान्डेज पहिलो मिनेटमानै सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । जितपछि इंग्ल्यान्ड समूह ‘आई’ मा ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा छ । पराजित अल्वानिया १५ अंक सहित तेस्रो स्थानमा छ ।

यता, जितपछि पोल्याण्ड ९ खेलबाट २० अंक सहित दोस्रो स्थानमा छ । समान खेलबाट एन्डोरा ५ अंक जोडेर पाँचौ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर