विश्व कप छनोटमा अर्जेन्टिना अझै अपराजित, उरुग्वेविरुद्ध डी मारियाको निर्णायक गोल – Nepal Press

विश्व कप छनोटमा अर्जेन्टिना अझै अपराजित, उरुग्वेविरुद्ध डी मारियाको निर्णायक गोल

काठमाडौं । एन्जल डी मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले कतार विश्व कपको दक्षिण अमेरिका छनोटमा उरुग्वेलाई पराजित गरेको छ।

शनिबार बिहान उरुग्वेको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलको नतिजामा पराजित गर्दै  छनोटमा आठौं जित हासिल गरेको हो ।

अर्जेन्टिनाको जितमा कप्तानसमेत रहेका एन्जेल डी मारियाले खेलको सातौं मिनेटमा निर्णायक गोल गरे । नियमित कप्तान लियोनल मेस्सी भने खेलको ७६औं मिनेटमा मात्रै मैदान प्रवेश गरेका थिए ।

जितसँगै अर्जेन्टिनाले १२ खेलबाट ८ जित र ४ बराबरसहित २८ अंक जोड्दै दोस्रो स्थानमा छ । अर्जेन्टिना जारी छनोटमा अपराजित छ ।

दक्षिण अमेरिकी छनोटबाट ६ खेल अघिनै ब्राजिल विश्वकपमा छनोट भएको छ । अर्जेन्टिनाले समेत तेस्रो स्थानको इक्वेडरभन्दा ८ अंकले अग्रता बनाएको छ ।

पराजित उरुग्वे भने १३ खेलबाट ४ जित, ४ बराबर र ५ हारका साथ १६ अंक बनाएर तालिकाको छैठौं स्थानमा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *