कालापानी-लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने – Nepal Press

कालापानी-लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने

काठमाडौं । राष्ट्रिय जनगणना– २०७८ मा कालापानी लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने भएको छ ।

तथ्याङ विभागले बुधबार पत्रकार सम्मलेन गरेर लिपुलेक कालापानी क्षेत्रमा जनगणना हुने बताएको हो । विभागले अनुमानसहितको नतिजा प्रकाशित गर्ने पनि जनाएको छ । उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

तथ्यांक विभागका महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रुपमा आवत् जावत् गर्न दिएमा भौतिक रुपमा उपस्थित भएर जनगणना गरिने र त्यसरी आवत् जावत् गर्न नदिएमा अन्य स्रोतहरुको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने बताए ।

उनले भने,‘भारतीय सरकारबाट सहज आवत् जावत् दिने र जनगणना गराउने अवस्था रह्यो भने हामी फिजिकली गएर त्यहाँ जनगणना गर्छौ । कारणवश गर्न नसकेको अवस्था रह्यो भने त्यत्तिकै छोड्ने हुँदैन । कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको इन्फरमेशन हामीले अरु स्रोतहरुबाट र त्यहाँसँग सम्बन्धित अरु व्यक्तिहरुबाट या नजिक हाम्रो एक्सेस भएको ठाउँबाट लिदाखेरी लगभग ७०० देखि ८०० सम्मको हाराहारीमा जनसंख्या त्यहाँ रहेको छ भन्ने प्रारम्भिक कुरा हामीले प्राप्त गरेका छौँ । अहिले प्रविधिको विकास साह्रै राम्रो भएको छ । स्याटेलाइटहरु प्रयोग गरिकन ति क्षेत्रहरुमा कति घर छ भन्ने त सजिलैसँग काउन्ट गर्न सक्छौँ । एउटा घरमा एभरेज परिवार कति बस्दो रहेछ भन्ने ति विवरणहरु लिनपनि हामीलाई गाह्रो हुँदैन । यसरी त्यहाँको केही अनुमानहरु हामी निकाल्न सक्छौँ । त्यो अनुमान सहितको रिपोर्ट हामी प्रकाशन गर्नेछौँ ।’

राष्ट्रिय जनगणना भोलिदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण जनगणना केही समय ढिला भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर