संयन्त्र गठनले कांग्रेसमा किचलो, प्रचण्डले पार्टीभित्र खेलेको आरोप – Nepal Press

संयन्त्र गठनले कांग्रेसमा किचलो, प्रचण्डले पार्टीभित्र खेलेको आरोप

काठमाडौं । सत्तारुढ गठबन्धनले बनाएको समन्वय समितिले सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र विवाद बढाएको छ ।
सोमबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठबन्धन समन्वय समिति गठन गरेको थियो । समितिमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र थप एकजना, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र थप एकजना तथा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य छन् ।

समन्वय समितिले सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच राजनीतिक संवाद गर्ने , राष्ट्रिय महत्वका विषयमा साझा धारणा निर्माण गर्ने तथा राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनको तयारी गर्ने कार्यभार पाएको छ । समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले सरकारको काममा समितिले कुनै हस्तक्षेप नगर्ने र दलहरुबीच समन्वयमात्रै गर्ने बताएका छन् ।

यद्यपि संयन्त्रको औचित्यमाथि नै कांग्रेसभित्र प्रश्न उठेको छ । बरिष्ठ नेता पौडेलनिकट पूर्वमहामन्त्री प्रकाशमान सिंहले नै समन्वय समितिले सरकारलाई कन्ट्रोल गर्नसक्ने खतरा औंल्याएका छन् । समिति गठनप्रति असन्तुष्टी जनाउँदै सिंहले सरकारले गर्नुपर्ने काम संयन्त्र बनाएर गर्न खोज्नु गलत भएको बताए ।

‘हाम्रै पार्टीको नेतृत्वमा सरकार छ । राज्यसत्ता त सरकारले नै सञ्चालन गर्नुपर्‍यो नि । समन्वय समिति भनेर जे बनाइएको छ त्यो आवश्यक छ जस्तो लाग्दैन । नाम जे दिएपनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजम जस्तो देखियो । डेमोक्रेटिक स्पिरिटबाट हेर्ने हो भने आवश्यकतै नभई समन्वय समिति बनाएको देखियो’, सिंहले सावर्जनिक मञ्चबाटै भनेका छन् ।

संयन्त्रको औचित्यमाथि नै कांग्रेसभित्र प्रश्न उठेको छ । बरिष्ठ नेता पौडेलनिकट पूर्वमहामन्त्री प्रकाशमान सिंहले नै समन्वय समितिले सरकारलाई कन्ट्रोल गर्नसक्ने खतरा औंल्याएका छन् । समिति गठनप्रति असन्तुष्टी जनाउँदै सिंहले सरकारले गर्नुपर्ने काम संयन्त्र बनाएर गर्न खोज्नु गलत भएको बताए ।

सिंहमात्रै होइन गठबन्धनको संयन्त्र निर्माणबारे कांग्रेसका पदाधिकारीपनि रुष्ट छन् । सभापति देउवाले पार्टीका उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सह महामन्त्रीद्वय डा.प्रकाशशरण महत र सुनीलबहादुर थापामध्ये कसैलाई पनि समन्वय समितिमा राखेका छैनन् ।

‘कांग्रेसको पदाधिकारीको प्रतिनिधित्व समेत नहुने समन्वय समिति गठन हुनु दुःखद छ । यस्तो समितिले काम गर्नपनि सक्दैन किनकी त्यसमा सबैको अपनत्व छैन’, कांग्रेसका एक पदाधिकारीले भने । ती पदाधिकारीले पार्टीको आइतबार बस्ने केन्द्रीय समिति बैठकमा समितिको औचित्यबारे कुरा उठाउने बताए ।

गठबन्धनमा नसमेटिएको मात्रै होइन गठबन्धनबारे पार्टीभित्र छलफल नभएकोमा पनि कांग्रेस नेताहरु असन्तुष्ट छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलनिकटकै नेताहरु समेत असन्तुष्ट भएपछि कांग्रेसवृत्तमा संयन्त्रबारे सकरात्मक चर्चा छैन ।

‘न पर्याप्त छलफल गरियो न संयन्त्रको कार्यक्षेत्र तोकिएको छ । हचुवाको भरमा समन्वय समिति बनाउनेहरुले नै भोली सबै जवाफदेहिता लिनुपर्छ’, एक कांग्रेस नेताले भने । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस कमजोर बनाउन संयन्त्र गठनको पहल लिएको ती नेताको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर