छठको स्वागतमा पशुपति क्षेत्र गुलजार (तस्वीरहरु) – Nepal Press

छठको स्वागतमा पशुपति क्षेत्र गुलजार (तस्वीरहरु)

काठमाडौं । तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु भएको छ । तराईमा जिल्लामा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी जिल्लामासमेत मनाउन थालिएको छ।

छठ पर्वका लागि पशुपतिस्थित गौरीघाट दुलहीझै सिँगारिएको छ । अस्ताउदोँ र उदाउदोँ सुर्यलाई अर्घ दिएर छठ पर्व मनाइन्छ । व्रतालुले पवित्र स्नान, वर्त, पानीसमेत नपिउने, लामो समयसम्म पानीमा उभिरहने, प्रार्थना प्रसाद र अर्घ्य दिने गर्नाले यस पर्वलाई कठोर पर्वका रुपमा लिइन्छ । व्रतालुले बुधबार साँझ अस्ताउँदो सूर्य र बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्रै व्रत तोड्ने परम्परा रहेको छ ।

नेपालको तराईका जिल्लामा प्राचिनकालदेखि नै छठलाई मुख्य पर्वका रूपमा मनाइँदै आएको छ भने भारतको बिहारमा पनी यो पर्व मनाइन्छ । पछिल्ला वर्षमा राजधानी काठमाडौँसहित धेरै ठाउँमा पहाडीया समुदायले पनि छठ पर्व मनाउन थालेका छन् ।

कोरोनाका कारण गत वर्ष छठ मनाउने अधिकांश श्रद्धालु भक्तजनले घरबाटै अर्घ्य दिएका थिए । काठमाडौंको रानीपोखरी र कमलपोखरीमा भने यस वर्ष छठ पर्व नमनाइने भएको छ । निर्माण कार्यले पूर्णता नपाएकाले कमलपोखरीमा छठ पर्व यसवर्ष मनाइने छैन । तर, गहनापोखरी, नागपोखरी, बागमती नदी किनारामा भने छठी माताको पूजा गरिने भएको छ ।

व्रतालुहरूले पर्व सुरु हुन एक दिनअघि नै उसिनिएको धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तुहरू नखाने चलन छ । यो विधिलाई ‘अरबा–अरबाइन’ भनिन्छ ।

आइतबार ‘अरबा–अरबाइन’ गरेका व्रतालुले सोमबार अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ र पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्दछ । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ ।

हेर्नुस केही तस्विर

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर