प्रधानन्यायाधीश प्रकरणमा माओवादी नबोल्ने, गठबन्धनको सदस्यमा नारायणकाजी थप (भिडिओ) – Nepal Press

प्रधानन्यायाधीश प्रकरणमा माओवादी नबोल्ने, गठबन्धनको सदस्यमा नारायणकाजी थप (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्तारुढ पाँच दलीय गठबन्धनमा पार्टीको तर्फबाट नारायणकाजी श्रेष्ठलाई थप गरेको छ । यसअघि अध्यक्ष प्रचण्डको मात्र नाम दिइएको थियो ।

मंगलकबार बसेको स्थायी कमिटी बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको पनि प्रवक्ता कृष्णवहादुर महराले बताए । बैठकले अदालतमा भइरहेको गतिबिधिबारे भने कुनै निर्णय लिएन ।

माओवादी केन्द्र न्यायालय भित्रको विवाद न्यायालय आफैँले टुंग्याउनुपर्ने पक्षमा रहेको प्रवक्ता महराको भनाई छ । महराले भने – ‘न्यायालयभित्र जुन अहिले धेरै तिव्र विवाद उठिराखेको छ, न्यायालय एउटा स्वतन्त्र संस्था हो । त्यस विषयमा अहिले हामी केही बोल्दैनौँ । न्यायालय आफैले टुंग्याओस् भन्नेमा छौँ ।’

यसैबीच माओवादीको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुष ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यस अघि नै गरिसकेको थियो ।

त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरुको सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरेर टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर