जनकपुरका वडाध्यक्ष आन्दोलित, मेयरकै घर अगाडि फोहोर थुपारियो (भिडिओसहित) – Nepal Press

जनकपुरका वडाध्यक्ष आन्दोलित, मेयरकै घर अगाडि फोहोर थुपारियो (भिडिओसहित)

फोहोर व्यवस्थापनमा मेयरले चासो नदिएको आरोप

जनकपुरधाम । नेपालीहरुको ठूलोमध्येको चाड तिहारको पूर्वसन्ध्यामा पनि फोहोर नउठेपछि जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरु आन्दोलित बनेका छन् ।

पटक–पटक फोहोर व्यवस्थापन गर्न ध्यानकर्षण गराए पनि चासो नदेखाएको भन्दै वडाध्यक्षहरुले आज बिहान आन्दोलनस्वरुप मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका हुन् ।

वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आफैं ट्याक्टर चलाएर फोहोर थुपार्न मेयर साहको घरमा पुगेका थिए ।

उनको साथमा वडाध्यक्षहरु दिपेन्द्र साह, सुदर्शन सिंह र शत्रुधन साह पनि थिए । जनकपुरधाम उपमहानगरको कार्यालयमा फोहोर फाल्न पुगेका उनीहरुलाई प्रहरीले रोकेपछि मेयर साहको घर अगाडि थुपारेका हुन् ।

उपमहानगरपालिका कार्यालयमा फोहोर थुपार्न नदिएपछि वडाध्यक्षहरु सडकमै ट्याक्टर तेर्साएर धर्ना बसेका थिए ।

सडकमा धर्ना बसेका वडाध्यक्ष दिपेन्द्र साहले तिहारका बेला पनि फोहोर नउठाएपछि मेयरविरुद्ध आन्दोलन गर्नुपरेको सुनाए । उनले भने, ‘वडाबासीले फोन गरेर हैरान पारेका छन् । फोनले सुत्न पाएको छैन । बाध्य भएर आफैं आन्दोलन गर्न सडकमा आउनुपर्यो ।’

अर्का वडाध्यक्ष शत्रुधन साहले मेयरको बदमासीका कारण जनकपुरधाम कुरुप बनेको गुनासो गरे । उनले भने, ‘जनकपुरधाम एउटा धार्मिक केन्द्र हो । तर यहाँ आउनेहरु फोहोर देखेर तर्सिन्छन् । अहिले दीपावली र छठ नजिकै आइसक्यो । तर पनि मेयरले फोहोर उठान चासो देखाएका छैन ।’

निर्वाचित भएको ४ वर्ष बित्दा पनि मेयर साहले डम्पिङ साइट बनाउन नसकेको वडाध्यक्ष जानकीराम साहले गुनासो गरे । उनका अनुसार डम्पिङ साइट निर्माणका लागि आएको ४८ करोड रुपैयाँ फ्रिज भएको छ ।

वडाध्यक्ष साहले फोहोर उठाउन चासो नदेखाए मेयर साहलाई कालोमोसो दल्ने चेतावनी दिएका छन् । उनले भने, ‘सुरक्षा निकाय, प्रशासन र जनप्रतिनिधिको संयुक्त बैठक हुनुपर्छ । त्यस बैठकमा मेयर साहले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान गर्ने प्रतिवद्धता जनाउनुपर्छ, होइन भने हामी आन्दोलन जारी राख्छौं ।’

यसअघि पनि पटक–पटक फोहोर व्यवस्थापनको विषयमा आन्दोलन भएको छ । केही दिनअघि मात्र स्थानीय युवाहरुले पनि मेयर साहको घर अगाडि फोहोर थुपारेका थिए । तर मेयरले फोहोर व्यवस्थापन गर्नेतर्फ कुनै चासो देखाएका छैनन् ।
अहिले मेयर साह काठमाडौंमा र प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुमार खड्का पनि विदामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर