आज मध्यरातदेखि संसद अधिवेशन अन्त्य – Nepal Press

आज मध्यरातदेखि संसद अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदको नवौँ अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य हुँदै छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य गरेकी हुन् ।

गत २३ भदौबाट नवौँ अधिवेशन सुरु भएको थियो । तर, सुरुकै बैठकबाट प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको नाराबारी सहेर आएको प्रतिनिधिसभाले अन्तिम बैठक बिहीबार (हिजो) पनि नाराबाजी खेपेको थियो ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरू रोष्ट्रमअगाडि उभेर नाराबाजी गरिरहे । तर, उनीहरूको नाराबाजीलाई बेवास्ता गर्दै सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।

सोही क्रममा आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र उठाउने विधेयकजस्ता महत्वपूर्ण विधेयक पारित गरेको संघीय संसदका दुवै सदनले निरन्तरत एमाले सांसदको अवरोध खेप्यो । तर, पारित र स्वीकृत भएका विधेयक, प्रस्तावहरूमाथि घनिभूत रूपमा छलफल गराउन भने प्रतिनिधिसभा चुकेको छ ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालबाहेकका सांसदहरू छलफलमा सहभागी भएनन् । प्रतिपक्षी सांसद नाराबाजीमै रहे पनि सरकार समर्थित सांसदहरू हतारमै विधेकय पारित गराउन लागि परे ।

अन्ततः ४८ दिनमै संघीय संसदको दुवै सदनको अधिवेशन शुक्रबार मध्यराति १२ बजेबाट अन्त्य हुने जानकारी संसद सचिवालयले सांसदहरूलाई जानकारी गराएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर