कोरोनासँग जोगिएर कसरी मनाउने दसैँ ? विज्ञ् भन्छन्- आत्तिनुपर्ने अवस्था छैन – Nepal Press

कोरोनासँग जोगिएर कसरी मनाउने दसैँ ? विज्ञ् भन्छन्- आत्तिनुपर्ने अवस्था छैन

काठमाडौं । ‘जो जहाँ छ त्यही बसेर दसैँ मनाउनुस्, फोनबाटै भएपनि आर्शिवाद थापौँ, बाचिए अर्को साल दसैं मनाउन सकिन्छ’ गतवर्ष स्वास्थ्य मन्त्रालयले सर्वसाधरणको लागि गरेको अनुरोध हो यो ।

यस वर्ष पनि कोरोना महामारीको जोखिम समाप्त भइसकेको छैन । अहिले दैनिक १ हजारको संख्यामा नयाँ संक्रमित थपिने गरेका छन् भने दर्जन हाराहारीमा मृतक थपिने गरेका छन् ।

चाडबाडको समयमा किनमेल गर्नेदेखि गाउँमा दशैँ मनाउन घर जानेहरुको लर्कोले कतै कोरोना भाइरसको ‘तेस्रो लहर’ फैलन सहयोग त पुग्ने होइन ? भन्ने चिन्ता थपिएको छ । बजारबाट पनि कोरोना संक्रमण फैलनसक्ने र दसंै मनाउन गाउँ जानेहरुबाट गाउँगाउँमा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिरहेका छन् ।

गत साल पनि जोखिमकै बीचमा दसैं मनाइएको थियो । गाउँमा भएका वृद्धवृद्धामा संक्रमण फैलन सक्ने भन्दै मन्त्रालयको आग्रहलाई स्वीकारेर जहाँ छ त्यही दसैं मनाउनुपरेको थियो । दसैं मनाउन घर पुगेकाहरुले पनि वृद्धवृद्धा भएका घरमा सामाजिक दुरी कायम गर्दै मास्क लगाएरै टिका लगाएका थिए । त्यतिमात्रै होइन आफन्तको घरमा समेत टिका र आशीर्वाद थाप्न जाने क्रम घटेको थियो । आफू अरुको घरमा पनि टिका थाप्न नजाने अरु पनि टिका थाप्न नआउन सार्वजनिक रुपमा आग्रह गरेका थिए । बढी भीडभाड हुने क्षेत्रहरु सार्वजनिक पीङ, शक्तिपीठहरुमा पनि सर्वसाधरणलाई रोक लगाइएको थियो ।

गाउँमा दसैं मनाउन जानेहरुको चहलपहल शुरु भइसकेको छ ।  यसपटक पनि दसैं अघि कोरोना संक्रमणको ‘तेस्रो लहर’ आउनसक्ने मन्त्रालयले बताएको छ ।

तर यस वर्ष ज्येष्ठ नागरिक देखि युवाहरुले समेत कोरोना भाइरसविरुद्धको खोप पाइसकेकाले पनि गतवर्ष भन्दा केही सुरक्षित महसुस गरिएको छ । त्यसो भन्दैमा कोरोना महामारीको जोखिम भने कायमै रहेकाले सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

महामारीकैबीच कोरोनासँग जोगिएर दसैं कसरी मनाउने त ? के पोहोर जस्तै घरभित्र मात्रै दसैं सीमित राख्ने हो त ? यस विषयमा हामीले जनस्वास्थ्य विज्ञहरुसँग कुराकानी गरेका छौ ।

सर्तकता अपनाएर दसैं मनाउँदा आत्तिहाल्नुपर्ने अवस्था नभएको शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक तथा भाइरोलोजिस्ट डा. शेर बहादुर पुन बताउँछन् । उनी भन्छन्,‘अहिले जोखिम हुने भनेको खोप नलगाएका र कोरोना संक्रमण नभएकालाई जोखिम नै रहेकाले उनीहरु उच्च जोखिममा छन् ।’

ट्रपिकल तथा सरूवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक तथा भाइरोलोजिस्ट डा. शेर बहादुर पुन यसो भन्छन् ः

कोरोनाको जोखिम अहिले पनि छ त्यसकारण सर्तकता अपनाऔं । हुन त अहिले धेरै मानिसहरुले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । लगाउने क्रम जारी छ । भेरियन्ट पनि फेरिएको छैन, त्यही भेरियन्ट छ ।

डेल्टा भेरियन्टले नै निरन्तरता पाइरहेको छ । त्यो भनेको धेरै मानिसहरु संक्रमित पनि भइसकेको अवस्था हुन सक्छ । अहिले पनि संक्रमित हुन बाँकी भएका वा खोप लगाउन बाँकी रहेकाहरुको तथ्थाङ हेर्दापनि थाहा हुन्छ ।

हामी दसैं मनाउँदै छौं । दसैंलाई सबैजना जमघट हुने रमाइलो गर्ने पर्वको रुपमा लिइन्छ । कोरोना भाइरस पनि जहाँ धेरै भीडभाड छ त्यो ठाउँमा फैलन सक्ने सम्भावना बढी हुन्छ । गएको वर्ष भन्दा यसवर्ष अवस्था फरक भएतापनि हामीले सतर्कता अपनाउन पर्ने हुन्छ । सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने हुन्छ । अब गाउँसम्म गाडीबाट जानुपर्ने हुन्छ । आफन्तबीच भेटघाट, छलफल,कुराकानी हुन्छ । त्यस्तो बेलामा स्वास्थ्य सतर्कताको पनि ख्याल चै राख्नुपर्छ । कतिपय व्यक्ति लक्षणबिनै संक्रमित भएका हुनसक्छन् । त्यस्ता व्यक्तिबाट पनि कोरोना सर्नसक्र्छ । त्यसैले ख्याल गर्नुपर्छ ।

मास्क नियमित लगाउने , साबुन पानीले हात धोइरहने , स्यानिटाइजर प्रयोग गर्ने लगायतका कामलाई दसैंमा बिर्सनु हुँदैन । घरभित्र हुँदा होस वा बाहिर हरेकपल स्वास्थ्यबारे सजगता हुनुपर्छ । दसैंको रमाइलोमा भुलेर रोग निम्त्याउनु राम्रो हुँन्दैन । त्यसैले यो दसैं पनि सतर्कतासाथ मनाउनुपर्छ ।

कतिपयले खोप लगाउनुभएको छैन । खोप नलगाएका व्यक्तिले अझ बढी सचेत हुनुपर्छ । अहिलेसम्म संक्रमण नभएपनि उहाँहरु उच्च जोखिममा हुनुहुन्छ । त्यस्ता व्यक्तिहरुलाई जतिसक्दो चाडो खोप लगाउन मेरो सुझाव छ । रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु वेश हो । त्यसलाई विशेष ध्यान दिनुपर्यो हामीले ।

टीका लगाउने बेलामा पनि आत्तिने भन्दा होसियार हुने गर्नुपर्छ । सकेसम्म खुल्ला स्थानमा टीका लगाउने स्थान बनाउनुपर्छ । घरको छत, आँगन वा बगैंचा पनि त्यसका लागि उपयुक्त हुनसक्छ । एउटै कोठामा धेरैजना गुम्सिएर टीका लगाउनु हुँदैन । टीका लगाउने र लाइदिने दुवैले बारम्बार हात धुने, स्यानिटाइजर प्रयोग गर्नेजस्ता काम गर्नुपर्छ । दसैं रमाइलो पर्व हो, रमाउनैपर्छ । तर स्वास्थ्य रमाइलोभन्दा महत्वपूर्ण हो । स्वास्थ्य सर्तकर्ता अनुपाउनुमै हाम्रो बुद्धिमता हुनेछ । घरमा हुनुहुने ज्येष्ठ नागरिक, बालबालिका र अस्वस्थ व्यक्तिलाई अझ बढी हेरचार माया दिनुपर्ने । कोरोनाका कारण गतवर्ष देखि नै हाम्रो जीवनशैली परिवर्तन भएको छ । यो परिवर्तनलाई आत्मसात गरेर यसवर्षको दसैं स्वस्थ र उत्साहका साथ मनाउनुपर्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर