मन्त्रीहरूलाई माधव नेपालको निर्देशन- रक्सी खाने बानी त्याग्नुस्, महिलासँग नाम नजोडियोस् (भिडिओ) – Nepal Press

मन्त्रीहरूलाई माधव नेपालको निर्देशन- रक्सी खाने बानी त्याग्नुस्, महिलासँग नाम नजोडियोस् (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई इमान्दारिता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् ।

पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर नेता नेपालले इमान्दारिता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताए । नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि सचेत गराए ।

नेपालले कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न सुझाव दिए ।

अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनैपनि काम हुनु नहुनेमा जोड दिदएका छन् ।
मन्त्रीहरूको सल्लाहकार, पीएलगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेरमात्रै गर्नुपर्ने नेपालको निर्देशन छ ।

नेपालले भने,‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरू तपाईंहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलुका-बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरू सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस् । सीधा कुरा, रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरू तपाईंहरूबाट नहोस् । यस कुरामा म जोड दिन चाहान्छु ।’

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरूमाथि अगाडी नै सामूहिकरूपमा बसेर, छलफल गरेर साझा राय बनाएरमात्रै प्रस्तुत हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर