रक्षा मामिलाका विशेषज्ञ मिनेन्द्र, रक्षामन्त्रालयकै नेतृत्वमा – Nepal Press

रक्षा मामिलाका विशेषज्ञ मिनेन्द्र, रक्षामन्त्रालयकै नेतृत्वमा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीको जिम्मेवारी पाएका छन् । कांग्रेस प्रमुख प्रतिपक्षमा रहँदा छायाँ ‘अर्थमन्त्री’ रहेका रिजाल अन्ततः सुरक्षासँग सम्बन्धित रक्षामन्त्रालयको नेतृत्वमा पुगेका छन् ।

यद्यपि रक्षा क्षेत्र रिजालका लागि नौलो होइन । माओवादी सेनाका लडाकु समायोजन समितिको सदस्यका रूपमा ६ वर्षसम्म योगदान गरेका रिजालको रक्षा क्षेत्रकै अध्येता पनि हुन् । उनले अमेरिकाको हवाईस्थित एसिया प्यासिफिक सुरक्षा अध्ययन प्रतिष्ठानबाट सिनियर एक्जेक्युटिभ कोर्स पूरा गरेका छन् । त्यस्तै अमेरिकाकै वासिङ्टन डीसीस्थित नेशनल डिफेन्स युनिभर्सिटीबाट पनि सिनियर एक्जेक्युटिभ कोर्स पूरा गरेका छन् ।

माधवकुमार नेपाल नेतृत्वको तत्कालीन सरकारमा संस्कृतिमन्त्री रहेका रिजाल सुशील कोइराला नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री रहेका थिए । रिजालले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।

तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीको संयोजकत्वमा गठित राष्ट्रिय सुरक्षा नीति निर्माण समितिको सदस्यका रूपमा भूमिका निर्वाह गरेका रिजालकै संयोजकत्वमा २०६६ सालमा राष्ट्रिय सुरक्षा नीतिको अवधारणा पत्र निर्माण गरिएको थियो ।

राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजका तर्फबाट राष्ट्रिय सुरक्षा नीतिको अवधारणा पत्र बनाएर तत्कालीन सरकारलाई बुझाइएको थियो ।

नेपाली कांग्रेसभित्र प्रष्टवक्ताको रूपमा चिनिने रिजाल गत संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर