किन जाँदैछन् कांग्रेस नेताहरू भारत ? – Nepal Press

किन जाँदैछन् कांग्रेस नेताहरू भारत ?

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जाने भएका छन् । नेपालमा कांग्रेस नेतृत्वमा सरकार बनेपछि कांग्रेस नेताहरूले औपचारिकरूपमा पहिलो भारत भ्रमण गर्न लागेका हुन् ।

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य अजय चौरसिया र पूर्व अर्थ राज्यमन्त्री एवं युवा नेता उदयशमशेर राणा चार दिने भ्रमणमा जान लागेका हुन् ।

कांग्रेसले भ्रमणलाई ‘अन्तर पार्टी’ भनेको छ । ‘यो दुई पार्टीबीचको आपसी सम्बन्ध सुदृढ बनाउने र अनुभव आदानप्रदान गर्ने भ्रमण हो । यसलाई पार्टी टू पार्टी भिजिट भन्दा हुन्छ’, भ्रमण जाँदै गरेका नेता उदयशमशेर राणाले भने ।

उनले भ्रमणका दौरान भारतीय विदेश मन्त्री, भारतीय जनता पार्टीका शीर्ष नेताहरु र भारतमा रहेका नेपाली समुदायका अगुवाहरूसँग अन्तरक्रिया हुने जानकारी दिए । भ्रमणका दौरान तीनैजना नेताहरू दिल्ली, बनारस र लखनउमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

‘दुई देशको लोकतान्त्रिक पार्टीका बीच आपसी सम्बन्ध सुधारमा यस्ता भ्रमणहरु भइरहन्छ । हामीले बोलाएर विजय चौथाइवाले आउनुभएको थियो । अहिले हामी जाँदैछौ । यो पार्टीगत भ्रमण हो यसमा सरकार जोडिएको छैन’, राणाले नेपाल प्रेससँग भने ।

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले डेढ महिनाअघि नेपाल भ्रमणमा आएका थिए । सोही भ्रमणका दौरान उनले कांग्रेसका नेताहरूलाई भारत भ्रमणको निम्तो दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर