सेयर बजार घटेकोमा महासंघको चासो, नीतिगत अस्थिरताले उतारचढाव आएको ठहर – Nepal Press

सेयर बजार घटेकोमा महासंघको चासो, नीतिगत अस्थिरताले उतारचढाव आएको ठहर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सेयर बजार घटेकोप्रति चासो देखाएको छ । नीतिगत अस्थिरताका कारण पुँजीबजारमा उतारचढाव आएको महासंघको ठहर छ ।

पुँजी बजारसम्बन्धी नीति नियम बनाउँदा सरोकारवासँग पनि छलफल र विमर्श गर्न महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको छ । बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयाँ लगानीका साधन एवं उपकरण बढाउन पनि महासंघले सम्बन्धित निकायसमक्ष माग गरेको छ ।

कोरोना महामारी र लकडाउनको असहज परिस्थितिले अर्थतन्त्रमा नकारात्मक असर परेपनि सेयर बजार भने सकारात्मक थियो ।

लकडाउनको अवधिमा गतिशील रही पुँजीबजारको इतिहासमा सर्वाधिक राजस्वसमेत प्रदान गर्न सफल रह्यो भने आम लगानीकर्ताको पुँजी बजारप्रतिको विश्वास बढ्नु अर्थतन्त्रका लागि सकारात्मक पक्ष रहेको भन्दै महासंघले अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने बजारको स्वच्छ, स्वस्थ र प्रतिस्पर्धी विस्तार एवं विकासका लागि नीतिगत स्थायित्व र प्रष्टता आवश्यक रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *