सनराइज सम्मेलन केन्द्रका संयोग- ओलीकै सपना शिलान्यास, उद्घाटन र पहिलो कार्यक्रम (तस्बिरहरु) – Nepal Press

सनराइज सम्मेलन केन्द्रका संयोग- ओलीकै सपना शिलान्यास, उद्घाटन र पहिलो कार्यक्रम (तस्बिरहरु)

ललितपुर । एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो प्रधानमन्त्रीत्वकालमा बुद्धपूर्णिमाको दिन लुम्बिनीमा थिए । सार्वजनिक कार्यक्रममा उनले सम्बोधन गर्ने बेला ठूलो हावाहुरी र पानी परेर टेन्टहरु उडाएपछि उनले तत्कालै घोषणा गरे- अब लुम्बिनी र काठमाडौंमा ५-५ हजार मान्छे अट्ने सभाहल बनाउछौं ।

ओलीको त्यो कार्यकाल घोषणामा मात्र सिमित भयो । त्यो घोषणा गरेको दुई महिना नबित्दै उनलाई प्रधानमन्त्रीबाट हटाइयो । ओली दोस्रो पटक प्रधानमन्त्री भएर आएपछि सभाहल निर्माणको लागि हुटहुटी थाले । उनले आफ्नो टिमसँग उपयुक्त ठाउँ खोज्न आग्रह गरे ।

यसक्रममा बुटवलमा ५ हजार क्षमताको गौतमबुद्ध सभाहलको लागि विष्णु पौडेल लगायतका नेताहरुको पहलमा जग्गा भेटियो । काठमाडौं उपत्यकामा धेरै प्रयासपछि भक्तपुरको बोडेमा ५ हजार क्षमताको र लतिलपुरको गोदावरीमा ३ हजार क्षमताको हल बन्ने जग्गा भेटियो ।

बोडेमा जग्गा प्राप्तिको किचलो देखिएपछि ओलीले तत्कालै गोदावरीमा सभाहल बनाउने प्रक्रिया थाल्न निर्देशन दिए । सरकारी जग्गा भएकाले जग्गा प्राप्ति लगायका कानूनी प्रक्रिया तत्कालै क्याबिनेटबाट टुंगो लगाउने फास्ट ट्र्याक अपनाइएको तत्कालीन प्रधानमन्त्री ओलीका विकास मामिला विज्ञ इन्जिनियर गजेन्द्र थपलियाले बताए ।

ओलीले २०७५ वैशाखभित्र सम्पन्न गर्ने गरी सभाहल बनाउन निर्देशन दिएपछि सरकारका सबै संयन्त्र सक्रिय भए । ५ महिनाभित्र ३ हजार मान्छे अट्ने सभाहल बनाउने भनेर टेण्डर आह्वान भएकोमा त्यसबीचमा कोभिड महामारी शुरु भएकाले योजना अनुसार काम हुन नसकेको थपलियाले बताए ।

तत्कालीन प्रधानमन्त्री अ‍ोलीले २०७६ पुसमा शिलान्यास गरेको सो सभाहलको उद्घाटन २०७८ वैशाख ३१मा ओलीले नै गरे । खासमा सो सभाहल सगरमाथा संवादका लागि चाँडो बनाउने दबाब थियो । सरकारले जलवायु परिवर्तनको विषयमा गर्न लागेको सो अन्तर्राष्ट्रिय सम्मेलन कोभिडका कारण हुन सकेन ।

संयोग नै मान्नुपर्छ गोदवारीस्थित सनराइज सभाहलको शिलान्यास,उद्घाटन र पहिलो औपचारिक कार्यक्रम तीनवटै शुभारम्भ गर्ने अवसर ओलीलाई नै जुर्यो । एमालेको पहिलो विधान महाधिवेशनको सोही सभाहलमा आज ओलीले उद्घाटन गर्दैछन् ।

ओलीले २०७५ वैशाख १७ मा शिलान्यास गरेको लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय सभाहल पनि निर्माण सम्पन्न भइसकेको र उद्घाटनको लागि तयार रहेको थपलियाले बताए । सो सभाहल उद्घाटनको तयारी भइरहेका बेला सर्वोच्च अदालतको परमादेशबाट ओली सरकार ढलेको थियो ।

नेकपा एमालेले गोदवारीको सनराइज हललाई आफ्नो पौरख र गौरवका रुपमा चित्रण गरेको छ । सोही क्षेत्रबाट निर्वाचित एमालेका सांसद नवराज सिलवालले पुर्वाधार विकासमा एमालेले देखेका सपना पूरा गर्छ भन्ने उदाहरण सनराइज हल भएको बताए ।

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले सनराइज सम्मेलन केन्द्रको शिलान्यास,उद्घाटन र पहिलो विधान महाधिवेशन केपी ओलीबाटै भएको भन्दै यसलाई एमालेको उल्लेखनीय सफलता भनेका छन् ।

सबै तस्बिर: उमेश कार्की/नेपाल प्रेस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर