अर्थमन्त्रालयको प्रष्टोक्ति- स्यानिटरी प्याडमा कर थपिएको छैन – Nepal Press

अर्थमन्त्रालयको प्रष्टोक्ति- स्यानिटरी प्याडमा कर थपिएको छैन

काठमाडाैं । सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ ।

आयातीत प्याडमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएको भन्दै सरकारको आलोचना भइरहेको छ । राजस्व सचिव कृष्णहरि पुष्करका अनुसार जुनसुकै पदार्थका स्यानिटरी टाबेल (प्याड) र टेम्पोन, केटाकेटीका लागि आवश्यक पर्ने न्याप्किन र पुछ्ने रुमाल (न्याप्किन लाइनर) तथा यस्तै सामानमा कुनै पनि कर वृद्धि गरिएको छैन ।

सचिव पुष्करले देशभित्र स्यानिटरी प्याडको उत्पादनलाई विशेष प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिए ।

गत भदौ २५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक विधेयक, २०७८ र आर्थिक अध्यादेश, २०७८ मा समेत ती सामग्रीमा कर थप नभएको अर्थ मन्त्रालयको प्रष्टोक्ति छ ।

सरकारले मूल्यबृद्धि गरेको भन्दै हिजो काठमाडौंमा केहि युवायुवतीले सांकेतिक विरोध प्रदर्शन गरेका थिए । माइतीघरमा भएको प्रदर्शनमा प्रदर्शनकारीले ‘रातो कर, खारेज गर’, ‘सरकार महिनावारीमा कर कहिलेसम्म रु’ भन्दै अर्थमन्त्रीसँग जवाफ खोजेका थिए ।

रासस

याे पनि पढ्नुहाेस्
स्यानिटरी प्याडको मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सडकमै सुते युवती (तस्बिरहरू)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर