२८ बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न – Nepal Press

२८ बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

लन्डन । २८ बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लन्डनमा सम्पन्न भएको छ । ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ।

‘स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताको लागि अमूल्य निधि भएको र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा हामी विश्वस्त छौं’ घोषणापत्रमा भनिएको छ।

सम्मेलनले संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिहरुको सीप, अनुभव एवं सम्पर्क संजाल नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई आह्वान पनि गरेको छ।

समापन समारोहमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष बद्री केसी, महासचिव हेम राज शर्मा, दक्षिण कोरियाका देवी बस्नेत लगायतका वक्ताले सम्मेलन कोभिड महामारीका बेला जनचेतना जगाउन उपयोगी भएको बताए। पत्रकार भगीरथ योगी तथा दिनेश ज्ञवालीले अंग्रेजी तथा नेपाली भाषामा घोषणापत्र पढेर सुनाएका थिए।

सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएका थिए भने ५० भन्दा बढी कार्यशाला सन्चालन गरिएका थिए। एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा। सञ्जीव सापकोटाले सम्मेलन नेपाल बाहिर आयोजना गरिएको स्वास्थ्य सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए । उनले महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहेको जानकारी दिए ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरुपमा उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको शुरुदेखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैरआवासीय नेपाली संघ तथा संसारभर छरिएका नेपाली चिकित्साकर्मीहरुलाई धन्यवाद दिए। उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाए।

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा। मन कुमारी राई, वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकेल ग्रीफिन, वायल कलेज अफ नर्सिङ्गकी उपाध्यक्ष ट्रेसी बडिंग, शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्रयु लि, एनआरएनए एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगर लगायतले शुभकामना दिएका थिए।

सम्मेलनको वैज्ञानिक समितिका अध्यक्ष प्रा। पदम सिम्खडा तथा डा। बोधराज सुबेदीले सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गरेका थिए। सम्मेलनले​ एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन अष्ट्रेलियामा गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *